जोडिनुहोस
बुधबार, साउन १, २०८२
बुधबार, साउन १, २०८२
  • होमपेज
  • बिमा प्राधिकरणका कर्मचारीको तलब अन्य नियामकको बराबर बनाउने प्रस्ताव

बिमा प्राधिकरणका कर्मचारीको तलब अन्य नियामकको बराबर बनाउने प्रस्ताव

नेपाल बिमा प्राधिकरणका कर्मचारीको तलब तथा सेवा सुविधा बढाउने प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । बिमा प्राधिकरणबाट लामो समयदेखि कर्मचारीको सेवा सुविधा समायोजन नभएको भन्दै उक्त प्रस्ताव अर्थ मन्त्रालय पुगेको हो । मन्त्रालय स्रोतका अनुसार प्राधिकरणका कर्मचारीको सेवा सुविधा औसत ९० प्रतिशतसम्म बढ्नेगरीको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ ।

‘बिमा प्राधिकरणबाट आफ्नो कर्मचारीको सेवा सुविधा अन्य संस्थान सरह पुरर्‍याउने भन्दै औसत ९० प्रतिशतसम्म वृद्धिको प्रस्ताव अर्थ मन्त्रालय आइपुगेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘प्राधिकरणबाट लामो समयदेखि सेवा सुविधा समायोजन नभएको भन्दै उक्त प्रस्ताव हालैमात्र मन्त्रालय आइपुगेको हो ।’

अहिले नेपाल राष्ट्र बैंकका कर्मचारीको वार्षिक सेवा सुविधा प्रतिकर्मचारी औसत २९ लाख रुपैयाँ बराबर, नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीको औसत वार्षिक २२ लाख रुपैयाँ र राष्ट्रिय जीवन बिमा कम्पनीको वार्षिक औसत सेवा सुविधा १७ लाख रुपैयाँ बराबरको छ ।

तर, बिमा प्राधिकरणको कर्मचारीको वार्षिक औसत तलब तथा सेवा सुविधा भने १२ लाख रुपैयाँ हाराहारी मात्र छ । अर्थ स्रोतका अनुसार प्राधिकरणले यो तलब तथा सेवा सुविधा औसत २२ लाख माथि पुराउने प्रस्ताव गरेको छ ।

खासगरी, बैंक तथा वित्तीय संस्था र सरकारी संस्थाहरुको सेवा सुविधा तुलनात्मक रुपमा राम्रो हुने गर्दछ । यसकारण पनि अन्यको तुलनामा यस क्षेत्रमा जागिर खानका लागि मानिसहरु बढी आकर्षित हुने गर्दछन् । यसरी बैंक तथा वित्तीय संस्था र अन्य सरकारी संस्थानको सेवा सुविधाभन्दा कम रहेको प्राधिकरणबाट पनि बढाउने प्रस्ताव अर्थ मन्त्रालय पुगेको हो ।

आर्थिक वर्ष २०८०/८१ को बिमा प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार २०८१ असार मसान्तमा प्राधिकरणमा प्रशासनतर्फ ९२, कानूनतर्फ ७ र प्राविधिकतर्फ ३ गरी कुल १०२ जना कर्मचारीहरू कार्यरत रहेका थिए । सो समयसम्म कार्यरत कुल मानव संसाधनमध्ये श्रेणीगत रुपमा हेर्दा निर्देशक ३, उपनिर्देशक २४ र सहायक निर्देशक ४५, सहायक प्रथम २२ र श्रेणीविहीन कार्यालय सहयोगीतर्फ ८ जना रहेका थिए ।

आर्थिक वर्षको अन्त्यमा कार्यरत कर्मचारीहरूमध्ये अधिकृत स्तरका कर्मचारीसँग सहायक र कार्यालय सहयोगी कर्मचारीको अनुपात २.४ः१ कायम रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार २०८१ असार मसान्तसम्ममा विभिन्न समूह अन्तर्गत ३४ जना करारमा कार्यरत रहेका थिए ।

आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणमा अधिकृत स्तरमा ४ जना सेवाबाट अनिवार्य अवकाश भई सेवाबाट अलग भएका थिए जसमध्ये एक जना कार्यकारी निर्देशक, एक जना निर्देशक, एक जना उपनिर्देशक र एक जना सहायक निर्देशक थिए ।
आर्थिक वर्ष २०८०/८१ को असार मासान्तसम्ममा प्राधिकरणमा अधिकृत स्तर, सहायक स्तर र श्रेणीविहिन गरी कूल १२२ जनाको दरबन्दीमा कूल १०२ जना कर्मचारीहरु कार्यारत रहेकोमा बाँकी १६ जनाको पदपुर्तीको लागि प्रक्रिया अगाडि बढाइएको कुरा वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०८०/८१ को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको कूल सम्पत्ति, संचित कोष र खुद बचत रकम क्रमशः १० अर्ब १५ करोड ७५ लाख ७४ हजार ५ सय ९५ मात्र,१० अर्ब १ करोड ४० लाख १ हजार ५ सय १ मात्र र१ अर्ब ३२ करोड ७९ लाख १८ हजार ६ सय ४३ रुपैयाँ रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका