जोडिनुहोस
बुधबार, साउन १, २०८२
बुधबार, साउन १, २०८२
  • होमपेज
  • बैंकरले पोख्न थाले असारे पीडा

बैंकरले पोख्न थाले असारे पीडा

असार महिनाको सुरुवातसँगै देशभर रोपाइँको चटारो छ । किसानको मानो खाएर मुरी उब्जाउने यो समय खेतमा हल गोरु, धानको बिरुवा रोपाइँले उनीहरुमा मुस्कान छाउँछ । तर, यति बेला बैंकवित्तका शाखा प्रबन्धक, कर्जा अधिकृतदेखि लेखापालसम्मका अनुहारमा भने थकान, तनाव र निरन्तरको दवाव देखिन्छ ।

यसरी किसानका लागि उब्जनीको मौसम सुरु हुँदा बैंकरका लागि भने कर्जा उठाउन, प्रोभिजनिङ, क्लासिफिकेसन, रिपोर्टिङ, अनि ‘ब्यालेन्स मिलान’ मै व्यस्त छन् ।

सामाजिक सञ्जालमै पोख्न थाले पीडा
आर्थिक वर्षको अन्तिम महिना भएकाले असार बैंक तथा वित्तीय संस्थाहरूका लागि सबैभन्दा व्यस्त समय हो । अझ बैंकहरुमा खराब कर्जा बढिरहेको बेला कर्जा असुलीमा उनीहरुलाई चटारो छ । एक बैंकका कर्मचारीले सामाजिक संजालमा बैंकरको असार पीडा पोखेको भिडियो अहिले टिकटकमा भाइरल भएको छ ।

उनले यसरी पीडा पोखेका छन् । उनको श्रीमतीले कस्तो लागि रहेको छ असारे महिना भनेर सोधेकी छन् ।

उनले गीतको शैलीमा उत्तर दिएका छन् ।
बिहानै जान्छु आठै बजे फर्किन्छु घर राती
आफैले लोन देको मान्छे निस्किएसी घाती
पहिला–पहिला अफिस आउँदा बन्थ्यो कति राम्रो
लाने दिएसी थाहा भयो मान्छे रहिछ चाम्रो
फोन पनि उठाउँदैन, हुन्छ किस्ता लेट
फागुन गयो, चैत गयो, गयो वैशाख, जेठ
अचेल झन् घरमै जाँदा पनि हुन्न भेट
तिर पैसा यसरी चल्दैन भन्छन् पैसा रुखमा फल्दैन
कपालु कोरेर कसरी जाउँ घर एनपीएल छोडेर ।

उनले पोष्ट गरेको कमेन्टमा त्यस्तै साझा प्रतिक्रियाहरु आएका छन् । एक बैंकरले कमेन्ट गरेका छन् है हामी बैंकरहरुको पीडा यस्तै हो, साह्रै चित्त बुझ्यो ।

अर्का लघुवित्तकर्मीले लेखेका छन्, हामी लघुवित्त कर्मचारीको हालत पनि उस्तै हो । अर्का सहकारीकर्मीले लेखेका छन् हामी सहकारीको हालत पनि सेम हो ।

बैंकहरुले नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशअनुसार असार मसान्तसम्म सम्पूर्ण कर्जा वर्गीकरण, नाफा–नोक्सानीको विवरण, कर्जा नोक्सानी व्यवस्थाको हिसाब–किताब तयार पार्नुपर्ने हुन्छ।

बैंकका कर्मचारी भन्छन्, ‘सामान्य महिनामा ८ घण्टा काम हुन्छ, तर असारमा १२ घण्टा बढी अफिसमा बसेर पनि घर जाँदा मेल चेक गर्न बाँकी हुन्छ ।’

असार महिनामा बैंकरका लागि केवल आर्थिक हिसाब–किताब मात्र होइन, मानसिक हिसाब–किताब पनि गाह्रो हुन्छ। किनभने, जुन ऋणीले माघमा ’छिट्टै तिर्छु’ भनेका थिए, असारसम्म आइपुग्दा मोबाइल अफ गरेर हराउँछन्।

माइक्रोफाइनान्स, कृषि कर्जा वा साना व्यवसाय ऋण लिएका ग्राहकहरूका लागि असार उत्पादनको महिना हो—कमाइको होइन। वर्षाले बाली लगाउने बेला, घरमा कामदार छैन, व्यापार सुस्ताएको छ—यी सबै कारणहरू दिंदै ऋणीहरू कर्जाको किस्ता फिर्ता गर्न आनाकानी गर्छन्।

एक बैंकका कर्मचारी भन्छन्, ‘असार लागेपछि फोन गर्दा ऋणीहरू उठाउँदैनन्। गएर भेट्दा भन्छन्, ’धान रोप्दैछु, कात्तिकमा ब्याज तिर्छु ।’

यसैकारण, बैंक तथा वित्तीय संस्थाहरूले यो महिनामा ’रिकभरी अभियान’ नै सञ्चालन गर्नुपर्छ। शाखा कर्मचारीहरू मोटरसाइकलमा गाउँगाउँ पुग्छन्, ऋणीलाई सम्झाउने प्रयास गर्छन्, तर नतिजा सधैं उत्साहजनक हुँदैन।

परिवार छुट्छ, ‘फाइनल मिटिङ’ छुट्दैन
बैंकका कर्मचारीहरूका लागि असार व्यक्तिगत जीवनमा पनि चुनौतीको समय हो। शनिबार कार्यालय खुला हुन्छ, सार्वजनिक बिदा कटौती गरिन्छ, र परिवारसँग समय बिताउने अवसर कम हुन्छ । ‘छोरीको जन्मदिन थियो, तर शाखा मिटिङ थियो। म जान सकिनँ,’ एक शाखा प्रबन्धकले गुनासो सुनाए।

215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका