जोडिनुहोस
बुधबार, साउन १, २०८२
बुधबार, साउन १, २०८२
  • होमपेज
  • ज्योतिसँग कनेक्सन भेटिएपछि समातिए सुवास

ज्योतिसँग कनेक्सन भेटिएपछि समातिए सुवास

ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानमा कार्यालय रहेको मितेरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका ज्योतिबहादुर भण्डारीसँग कनेक्सन भेटिएपछि अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले धादिङको धुनीवेशी नगरपालिका–९ घर भएका सुवास खत्रीलाई पक्राउ गरेको हो । भण्डारी र खत्रीलाई हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ ।

भण्डारीसँग कनेक्सन भेटिएपछि पक्राउ परेका खत्री भने अनलाइन फिसिङमार्फत हुने ठगीमा संलग्न रहेको सीआईबीले बताएको छ । सहकारीको रकम अपचलन गरेर फरार रहेका भण्डारी सहकारीका पदाधिकारीलाई पुनः ठगेका थिए ।

सहकारी ठगी गरी भागेर थाइल्यान्ड, मलेसिया, भियतनाम हुँदै कम्बोडियासम्म पुगेका भण्डारीले विदेशमै रहेका बेलामा मितेरी सहकारीका संस्थालाई अनलाइनमार्फत सम्पर्क गरी प्रलोभन (फिसिङ) मा पारी ठगी गरेको सीआईबीको अनुसन्धानमा खुलेको थियो । बर्दियाको बाँसगढी गाउँपालिका–७ का ४२ वर्षीय भण्डारीले आफूले हिनामिना गरेको सहकारीको रकम तिर्ने भन्दै विदेशमै रहेका बेला ३ करोड ४४ लाख ७४ हजार ३२० रुपैयाँ ठगी गरेका थिए । यही साढे तीन करोड ठगीमा खत्री जोडिएको सीआईबीको भनाइ छ ।

यसरी ठगी गर्ने भण्डारी र खत्री दुवै सहकारीसँग प्रत्यक्ष रूपमा कुनै साइनो नभएका व्यक्ति हुन् । सहकारीको महाप्रबन्धक रहेकी ज्योति गुरुङ (नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी) मार्फत भण्डारीले मिटर ब्याजमा रकम लिएको स्रोत बताउँछ । उनीहरूबीच घनिष्ट सम्बन्ध बनेपछि ज्योतिले सहकारीको रकम अपचलन गरेर भण्डारीलाई दिने र उक्त रकम भण्डारीमार्फत क्रिप्टोमा लगानी गरी विदेश पुग्ने गरेको बताइएको छ ।

रकम अपचलन गरेपछि दुवै जना फरार भएर विदेश पुगेको र ज्योति गुरुङले नै मितेरी सहकारीका पदाधिकारीलाई भण्डारीसँग सम्पर्क गराएको पाइएको एक अधिकृतले बताए । आफूले लगेको रकम सबै उहाँ (ज्योतिबहादुर भण्डारी) ले तिर्नुहुन्छ भन्दै ह्वाट्स एपमार्फत सम्पर्क गराएकी थिइन् । पछि उल्टै भण्डारीले ठगेको सीआईबीका एक अनुसन्धान अधिकृत बताउँछन् ।

ज्योति गुरुङमार्फत मितेरी सहकारीका पदाधिकारीहरूसँग सम्पर्क भएपछि भण्डारीले अनलाइन फिसिङमा पारेर उल्टै ठगी गरेको गरेका थिए । त्यसका लागि खत्रीको प्रयोग गरेको खुलेको छ । ज्योति गुरुङले भनेअनुसार आफूले सहकारीलाई तिर्नुपर्ने सावाँ–ब्याजसहितको रकम १४ करोड ८१ लाख रुपैयाँ तिर्ने बताएका भण्डारीले केही दिनमै रकम हालेको भन्ने विश्वास सहितका कागजात संस्थाका पदाधिकारीलाई पठाएका थिए ।

मितेरी सहकारीका सचिव कृष्णबहादुर रानाको ग्लोबल आईएमई बैंकको इन्द्रचोकस्थित शाखामा ३३ करोड ११ लाख रुपैयाँ पार्सल गरी पठाएको छु भन्दै उनले ह्वाट्स एपमार्फत संस्थाका पदाधिकारीलाई बताएका थिए । त्यसका लागि टोकनको फोटो समेत पठाएर विश्वास दिलाउने काम गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तिर्नुपर्ने १४ करोड ८१ लाख रुपैयाँभन्दा बढी रकम पठाएको र रकम बुझ्नका लागि ट्याक्ससमेत तिर्नुपर्ने भन्दै पटक-पटक उल्टै रकम हाल्न लगाएर करिब ठगी गरेको पाइएको थियो । यसका लागि भण्डारीलाई नेपालबाट सहयोग गर्ने व्यक्ति खत्री रहेको पाइएको छ ।

यसरी ठगी गरेको उक्त रकम फेरि हुन्डीमार्फत विदेश पुगेको सीआईबीको अनुसन्धानले देखाएको छ । अहिले खत्रीमाथि ठगीमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । भने हुन्डीमा पनि सीआईबीले आन्तरिक अनुसन्धान गरेको छ । खत्री समेतको खातामा रकम जम्मा गर्न लगाउने र त्यो रकम हुन्डीमार्फत विदेश लगेर भण्डारीले खर्च गरेको सीआईबीका एक अनुसन्धान अधिकृत बताउँछन् ।

पहिला सरकारी रकम पनि विदेश लगेर खर्च गरेको र अहिले त्यो रकम तिर्ने भन्दै उल्टै साढे तीन करोड ठगी गर्दै फेरि विदेश लगेर खर्च गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ । यता कम्बोडियाबाट पक्राउ गरेर ल्याइएका भण्डारीमाथि भने ठगीका साथै लिखत सम्बन्धी कसुरमा पनि अनुसन्धान अघि बढाइएको छ ।

भण्डारीले अन्य व्यक्तिको नागरिकता र राहदानी समेत दुरुपयोग गरी ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । भण्डारी स्वयंको नागरिकता र राहदानी नै दुईवटा रहेको तथ्य प्रहरीले फेला परेपछि सीआईबीले लिखतसम्बन्धी कसुरमा पनि अनुसन्धान अघि बढाएको हो । भण्डारीकै नाममा कास्की र बर्दियाबाट दुई फरक-फरक नागरिकता र राहदानी लिएको पाइएको प्रवक्ता खड्काले बताए ।

सहकारी ठगी प्रकरणमा मुछिएर फरार रहेका भण्डारी लामो समयसम्म गुपचुप नै थिए । उनी थाइल्यान्डमा रहेको भन्ने अपुष्ट सूचना नेपाल प्रहरीसँग थियो । उनको खोजी गर्न भन्दै प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी भएको थियो । त्यति हुँदा पनि उनी पक्राउ नपरेपछि रेड नोटिसका लागि पत्राचार गरिएको थियो ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) को सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले १३ कात्तिक २०८१ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । रेड नोटिस जारी भएको करिब ८ महिनापछि भण्डारी कम्बोडियामा पक्राउ परेका थिए ।

यो सहकारीमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको पनि नाम जोडिँदै आएको छ । नाम जोडिएपछि सीआईबीले दुई पटक धनराजलाई कार्यालयमै बोलाएर केरकार समेत गरेको थियो । यता, धनराजले भने आफू उल्टै पीडित रहेको दाबी गर्दै आएका छन् । ऋण लिएर सहकारीको रकम तिरेको दाबी धनराजको छ । तर धनराजतर्फ नै अहिलेसम्म अनुसन्धानले अहिलेसम्म केही नदेखाएको दाबी सीआईबीको छ ।

130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका