जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • चाडबाड लक्षित यातायात व्यवस्थापनमा कुलमानको सक्रियता

चाडबाड लक्षित यातायात व्यवस्थापनमा कुलमानको सक्रियता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक संचालनका लागि सक्रियता बढाएका छन्। कुलमानले यसबारे शनिबार सरोकारवालासँग विस्तृत छलफल गरेका छन्।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरीका अधिकारीहरू र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीहरूसँग लामो बैठक गरेका हुन्।

मन्त्री घिसिङले यात्रुहरूको सहजताका लागि २४ घण्टा नै सडक अवस्थाबारे जानकारी दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। उनले यात्रुहरूको गुनासो सुन्ने र तत्कालै व्यवस्थापन गर्ने प्रणाली बनाउनुपर्नेमा पनि जोड दिए।

पहिरो वा अन्य कारणले सडक अवरुद्ध भएमा तुरुन्तै पुनर्स्थापना गर्ने प्रणाली अर्थात् ‘र्‍यापिड रिस्टोरेसन’ को व्यवस्था गर्न उनले निर्देशन दिएका छन्।

बैठकमा विभिन्न विषयमा महत्त्वपूर्ण निर्णय गरिएको छ। जसमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुबाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा-सिस्नेरी-सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाइने र दशैंपछि सोही साधनलाई प्रवेश गर्न दिने व्यवस्था गर्न सम्बन्धित पक्षसँग छलफल गर्ने निर्णय भएको छ।


त्यस्तै, सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइने भएको छ। उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन प्रहरी गस्ती र प्रहरी संख्या थप गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने बैठकमा सहमति भएको छ।

यसैगरी, दशैं अवधिभर यात्रुबाहक सवारीलाई प्राथमिकता दिने उद्देश्यले बुटवल-नारायणगढ सडकको दाउन्ने खण्डमा १२ चक्के वा सोभन्दा माथिका सवारी साधन नचलाउने निर्णय भएको छ। खाद्यान्न तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर संचालन हुने व्यवस्था गर्ने निर्णय गरिएको छ।

सडक स्तरोन्नति र सुधारमा पनि जोड दिइने भएको छ। मुलुकभरका मुख्य सडकलाई चुस्त दुरुस्त राख्ने, पहिरोजन्य विपद व्यवस्थापनका लागि आवश्यक सामग्री र उपकरण उपलब्ध गराउने, बुटवल-नारायणगढ सडकको दाउन्ने खण्डमा २४सै घण्टा दुईतर्फी यातायात संचालन गर्ने, नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो हटाएर तुरुन्तै सडक संचालनमा ल्याउने र तातोपानी नाकालाई जोड्ने सडक दशैंअघि नै संचालनमा ल्याउने गरी सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ।

बैठकमा आम नागरिकलाई मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गर्ने र त्यसबारे सार्वजनिक सूचना जारी गर्ने निर्णय गरिएको छ।

यस्तै, सार्वजनिक सवारीलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि वा निर्देशिका बनाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिइएको छ। विभागले यसलाई चाँडै तयार गरी मन्त्रालयमा पेश गर्नुपर्नेछ।

कन्ट्रोल रुमको पनि व्यवस्था गरिने भएको छ। मुलुकभरका सडकको अवस्था र सुरक्षाबारे २४सै घण्टा निगरानी राख्ने गरी फोकल पर्सनसहितको व्यवस्था मिलाउन सडक विभागलाई निर्देशन दिइएको छ।

595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका