जोडिनुहोस
शनिबार, फाल्गुन ९, २०८२
शनिबार, फाल्गुन ९, २०८२
  • होमपेज
  • रिलायबल नेपाल लाइफले दियो दाबी भुक्तानी

रिलायबल नेपाल लाइफले दियो दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अत्तरिया शाखा कार्यालयमा बीमा गराएका बीमित अमर बहादुर एडी क्षेत्रीको मृत्यु भएपछि शाखा कार्यालयले बीमितको परिवारलाई घरमै गएर दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ।

मृतक क्षेत्रीले कम्पनीको अत्तरियास्थित शाखा कार्यालयबाट ३ लाख ५० हजार रुपैयाँ बीमाङ्कको ‘सुलभ जीवन बीमा’ योजना खरीद गरेका थिए। उनले दुई किस्ता रकम मात्र जम्मा गरेको अवस्थामा घरमै अचानक बेहोस भई अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको थियो। बीमितको निधनपछि कम्पनीले मृत्यु सुविधा, बीमाङ्क रकम र बोनस समेत गरी कुल ३ लाख ७१ हजार १७५ रुपैयाँ बीमितको आश्रित परिवारलाई हस्तान्तरण गरेको छ। उक्त रकम मृतककी श्रीमती धना देवी एडी क्षेत्रीलाई घरमै आयोजित एक कार्यक्रमका बीच चेक मार्फत हस्तान्तरण गरिएको हो।

दाबी रकम हस्तान्तरण कार्यक्रम आलिताल गाउँपालिका–६ सेरीस्थित मृतकको घरमा आयोजना गरिएको थियो। कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष कुम्भर बुढाको प्रमुख आतिथ्य, शाखा प्रमुख मोहन बहादुर बोहराको अध्यक्षता तथा एजेन्सी प्रमुख धर्म सिंह ऐर र तीनपटक ‘एमडीआरटी’ उपाधि प्राप्त अभिकर्ता प्रेम साउदको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा गाउँबासीहरूको उल्लेखनीय सहभागिता थियो।

शाखा प्रमुख मोहन बहादुर बोहराले सम्पूर्ण आवश्यक कागजात पेश भएको एक हप्ताभित्रै दाबी रकम भुक्तानी गरिएको जानकारी दिए। उनका अनुसार अत्तरिया शाखाबाट परेका सबै दाबीहरू नियमित र समयमै फछ्र्योट गरिएको छ। वडाध्यक्ष कुम्भर बुढाले बीमा प्रत्येक व्यक्तिका लागि आवश्यक रहेको बताउँदै आफ्नो वडाबाट बीमा सम्बन्धी सचेतना र सहजीकरणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सानो रकमबाटै भए पनि सबैले बीमा गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा बोल्दै शाखा प्रमुख बोहराले बीमा सुखमा मात्र नभई दुःखमा पनि साथ दिने भरोसायोग्य माध्यम भएको उल्लेख गरे। उनले बीमाले बचत गर्ने बानी विकास गराउने र भविष्य सुरक्षित बनाउन सहयोग गर्ने बताए। साथै बीमित र अभिकर्ताको हकहितका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए।

एजेन्सी प्रमुख धर्म सिंह ऐरले मृतकलाई आफूले प्रेरित गरी बीमा गराएको उल्लेख गर्दै कठिन समयमा परिवारलाई आर्थिक सहयोग गर्न पाउँदा आफूलाई सन्तोष लागेको बताए। उनले बीमा करले होइन इच्छाले गर्नुपर्ने विषय भएको भन्दै सबैलाई सचेत हुन आग्रह गरे। त्यस्तै तीनपटक ‘एमडीआरटी’ उपाधि प्राप्त प्रेम साउदले बीमाले टुटेको परिवारलाई आर्थिक सुरक्षा दिन सक्ने बताउँदै आगामी दिनमा अझ बढी नागरिकलाई बीमाको दायरामा ल्याउने प्रतिबद्धता जनाए।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?