राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले गैर कानूनी तरिकाले सामाजिक सञ्जालमा विज्ञापन भइरहेको र ठूलो रकम अवैधानिक च्यानलबाट विदेश भएको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए ।
‘सामाजिक सञ्जालमा गरिएका विज्ञापन वापत विदेशमा भुक्तानी पठाउने र विदेशबाट रकम प्राप्त गर्ने जुन चलन छ त्यो गैर कानूनी हो’ मिश्रले भने, ‘यसरी भुक्तानी गरे विदेशी विनिमय -नियत गर्ने) ऐन अनुसार कारबाही हुने जानकारी दिए ।
पछिल्लो समयमाम सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थाहरुले विज्ञापन गर्ने क्रम बढ्दो छ । २ वर्षअघि भएको तीनै तहका निर्वाचनमा नेताहरुले विज्ञापनका लागि सामाजिक सञ्जालमा राम्रै खर्च गरेका थिए । फेसबुक पेज बनाउने र फेसबुकलाई पैसा तिरेर प्रचार गर्ने लहरै चलेको थियो ।
त्यसबेला करिब २० करोड रुपैयाँ सामाजिक सञ्जालको विज्ञापनमा खर्च गरिएको अनुमान गरिएको थियो । कतिपय नेताहरुले अहिले पनि आफ्ना विभिन्न गतिविधिहरु ‘स्पोन्सर्ड’ गरेर फेसवुकमा विज्ञापन गरिरहेका छन् ।
नेतामात्रै होइन, पछिल्लो समय सञ्चारमाध्यम, उद्योगी, व्यवसायीहरु समेत सामाजिक सञ्जालमार्फत आफ्नो उत्पादनको विज्ञापन गर्ने गरेका छन् । सामाजिक सञ्जालमा धेरैको पहुँच हुने कारणले पनि सामाजिक सञ्जालमा विज्ञापन गर्नेको संख्या बढ्दो मात्रा छ ।
सरकारले यसका लागि नियमन गर्न भन्दै विधयेक संसदमा दर्ता समेत गराइसकेको छ । एउटा सामाजिक सञ्जालको प्रयोग नियमनका लागि सरकारले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गरेको विधयेक, २०७५ संसदमा दर्ता गराएको छ । यो विधयेक संसदीय समितिबाट पारित भइसकेको छ ।
अर्को सामाजिक सञ्जालमा हुने विज्ञापनलाई समेत करको दायरामा ल्याउने व्यवस्था समेटिएको विज्ञापन नियमन ऐन पनि लागू भइसकेकको छ । यो ऐनमा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई समेत नियमन गर्ने व्यवस्था गरिएको छ ।
कसरी गरिन्छ सामाजिक सञ्जालमा विज्ञापन ?
सामाजिक सञ्जाल मध्ये पनि सबैभन्दा धेरै विज्ञापन हुने भनेको फेसबुकमा हो । फेसबुक अकाउन्ट वा फेसबुक पेजबाट पैसा तिरेर विज्ञापन गर्न सकिन्छ ।
कुनै उत्पादन वा प्रचार सामग्रीको बारेमा विज्ञापन गर्नु पर्यो भने कुनै फेसबुक अकाउन्ट वा पेजमा त्यो उत्पादनको बारेमा सम्पूर्ण जानकारी समेटिएको फोटो वा भिडियो पोष्ट गरेर विज्ञापन गर्न सक्नु हुनेछ ।
फेसवुक आफैंले विभिन्न प्रयोगकर्ताहरुको टाइमलाइनमा लगेर यसलाई प्रदर्शन गरिदिन्छ । यसवापत फेसवुकलाई शुल्क तिर्नु पर्ने हुन्छ । कुन बिज्ञापन हो वा होइन भनेर चिन्ने आधार भनेको त्यो पोष्टको माथि लेखिएको शब्दबाट हो । पैसा तिरेर गरिएको विज्ञापनको माथि ‘स्पोन्सर्डड भनेर अंग्रेजीमा लेखिएको हुन्छ ।
स्पोन्सस्र्ड गरे बापत फेसवुकलाई तोकिएको रकम डलरमा भुक्तानी गर्नुपर्ने हुन्छ । यसरी गरिने भुक्तानी धेरैले विदेशमा रहेका आफन्त वा एजेन्टबाट गराउँछन् भने नेपालबाटै गर्नका लागि डलर कार्ड भएका डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्ने गरिएको छ ।
मुलुकमा कुनै पनि वित्तीय कारोबार गर्न राष्ट्र बैंकबाट अनुमति लिनु पर्ने हुन्छ । तर यस विषयमा राज्यका कुनै पनि निकायलाई जानकारी नदिई विज्ञापनको तिर्नु पर्ने रकम विभिन्न गेट-वेको प्रयोग गरेर भुक्तानी गर्ने गरिँदै आएको छ ।
अहिलेसम्म सामाजिक सञ्जालमा यसरी गरिने विज्ञापनको भुक्तानीबारे राज्यलाई जानकारी छैन । आम्दानी गरेपछि कर तिर्नु पर्ने व्यवस्था छ, तर यहाँ कुनै पनि सामाजिक सञ्जालले नेपाल सरकारलाई कर तिदैनन् ।
केही समय अघि राष्ट्र बैंक ‘वि च्याट’ र ‘अलि पे’ लाई नेपालमा प्रतिवन्ध लगाउने बताएको थियो । चिनियाँहरुले भुक्तानीका लागि प्रयोग गर्ने यी भुक्तानी प्रणालीलाई बन्देज लगाउने भएपछि अब भने वैधानिक प्रणालीमा आउन लागेका छन् ।
तर सामाजिक सञ्जालबाट हुने अर्बौं कारोबारबारे राज्यलाई कुनै जानकारी छैन । के-कति डलर नेपालबाट सामाजिक सञ्जालबाट बाहिरिन्छ भन्ने तथ्यांक समेत सरकारसँग छैन ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी सामाजिक सञ्जालमार्फत हुने विज्ञापन र यसको भुक्तानीलाई अब नियमन हुने बताउँछन् । यसलाई कानुनी दायराभित्र ल्याउन राष्ट्र बैंकले काम गर्ने डेपुटी गभर्नर सिवकोटीले बताए ।
पहिले कानून नहुँदा समस्या भएको उनको भनाइ छ । ‘पहिले कानून पनि थिएन, काम गर्न गाह्रो थियो’ अनलाइनखबरसँग उनले भने, ‘अब सहज अवस्था बनेकाले क्रमशः नियमन गर्दै जानेछौं ।’
सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर डलरमा भुक्तानी गर्नु गैरकानूनी काम भएको राजश्व अनुसनधान विभागका महानिर्देशक दीर्घराज मैनालीले बताउँछन् । विदेश पैसा पठाउन राष्ट्र बैंकबाट अनुमति लिएको हुनुपर्ने र प्रचलित कानून अनुसार कर समेत तिर्नु पर्ने उनले बताए ।
बिना अनुमति कर समेत नतिरी गरिएको कारोबार अवैधानिक हुने उनले बताए । यस विषयमा जुनसुकै बेला विभागले अनुसन्धान गरेर मुद्धा चलाउन सक्ने महानिर्देशक मैनालीले बताए ।
‘अहिले हामीले धेरैजसो नक्कली भ्याट बिलको विषयमा अनुसन्धान गरिरहेका छौं, पछिल्लो समय सामाजिक सञ्जालमा हुने विज्ञापनका विषय समेत अनौपचारिक ढंगबाट आइरहेको छ’ उनले भने, ‘पैसा पठाउँदा कर कट्टा गरेर पठाउनु पर्छ, बिलिङ पनि हुनुपर्यो ।’
यसरी गरिएको कारोबारमा राजस्व चुहावट र विदेशी विनिमय अपचलन दुबै मुद्धा चलाउन सकिने उनले बताए । विदेशी विनिमय अपलचन मुद्धामा पठाएको रकमको दोब्बरसम्म जरिबाना र ३ वर्षसम्म कैद सजाय हुन सक्ने महानिर्देशक मैनालीले बताए ।
‘हामी कुनै पनि बेला यो विषयमा अनुसन्धान गर्न सक्छौं, मुद्धा चलाउनुपर्ने अवस्था आउन सक्छ, दण्डित हुनुभन्दा पहिले नै सावधानी अपनाउनु पर्यो,’ उनी भन्छन् ।