Sticky Breaking News
कोरोना महामारी बीच आउँदै गरेको दशैं हो कि दशाः छैन रौनकता, चहलपहल र खुशीयाली !!!
विश्वव्यापीरुपमा अदृश्य शक्तिबाट आएको अदृश्य रोग कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा अहिले हाम्रो देश नेपाल छ भन्दा अब चाहि फरक पर्दैन । कोरोना भाइरसबाट ५७८ को मृत्यु भएको छ भने ९५ हजार २ सय ५३ जना कोरोना भाइरससंग लडिरहेका छन् । यस्तो विषम, विपत र अप्ठ्यारो बेला नेपालीहरुका महान चाड विजया दशमी, तिहार र छठ पर्व शुरु भएका छन् । तर, छैन कतै पनि चहलपहल, रौनकता र खुशियाली भन्दा फरक पर्दैन । ६ महिनाको घर भित्रको बसाईबाट दिक्क भएका जनता लकडाउन अन्त्यसंगै ह्वात्तै बाहिर निस्कदा नेपाल कोरोना भाइरसको उच्च जोखिममा फस्दै गएको देखिन्छ । सदा जस्तै कतै पनि व्यापारीक महलहरुमा छैन चहलपहल, छैन व्यापार, दशैं आएको रौनकता अझै छाएको छैन । दशैंमा भीडभाड हुने न्यूरोड सुनसान जस्तै छ । वाण्डेड सामान पाउने दरबारमार्ग सुनसान मात्रै छैन । ग्राहक कहाँ छन् भनी खोज्ने अवस्थामा पुगेको देखिन्छ ।
लकडाउन र आम्दानीमा असर
कोरोना भाइरसका कारण भएको लामो लकडाउनले उद्योग धन्दा देखि पान पसलसम्म बन्द रहे यसबाट आम्दानीमा कमी मात्रै आएन घर चलाउन पनि धौ धौको अवस्था आयो ।
३ महिना देखि घरधनीले भाडा पाएका छैनन् । लामो लकडाउन पछि खुलेको उद्योग, व्यापार र व्यवसायमा अहिले आम्दानी छैन । पसलमा ग्राहक छैन । उद्योगमा उत्पादन घटेको छ । व्यवसायहरुमा कर्जा तिर्न सक्ने क्षमता छैन । यस्तो बेला आउन लागेको दशैंलाई कसरी खुसीयाली बनाउने चिन्ता र चासो बढेको देखिन्छ ।
आग्रह दशैं जहाँ छौं त्यही मनाउ
काठमाडौं उपत्यकामा करिब ४० लाख जनसख्या छ । पछिल्लो समय राजधानी नै कोरोना भाइरसको केन्द्र बिन्दु हुँदै आए पछि राज्यले यस पटकको महान चाडपर्वहरु जहाँ छौं त्यही बसेर मनाउन आग्रह गरेको छ । तर, नेपालीहरु गाउँ जाने क्रम बढेको छ ।
यसबाट गाउँ घरमा कोरोना भाइरस पुग्ने अनुमान गर्न सहजै सकिन्छ । नेपालीका महानचार्ड ठूलो हर्ष र उत्सवबा साथ मनाउन गाउँघर नै रमाइलो भन्दै दिनदिनै १÷२ हजार मान्छे घर फर्किरहेको तथ्य हामी सामु छ । यसबाट गाउँ–गाउँमा सहजै कोरोना पुग्ने विज्ञहरुको अनुमान छ ।
बोनस होइन तलबकै चिन्ता
गतवर्ष झै यस वर्ष कोरोना भाइरसका कारण आम्दानी घटेपछि प्राइभेट कम्पनीहरुले तलब दिननै धौ धौ देखिन्छ । बोनसको कुरा त गौण बन्दै गएको देखिन्छ । यसले यी महान चाडपर्वलाई कति असर पर्ने हो त्यो प्रतिक्षाकै विषय बन्ला । थला परेका उद्योग धन्दा व्यापार, व्यवसायबाट ठूलो आश राख्नु नै गलत हो भन्न सकिन्छ ।
माग नबढेपछि उत्पादननै भएन
दशैँ तिहारको अवधिमा खाद्यान्न, लत्ताकपडा बढी खपत हुने गर्दथ्यो । उद्योगहरुले पनि चाडवार्ड लक्षित उत्पादनहरु बजारमा ल्याउँथे र बिक्री गर्थे । तर, यसवर्ष भने न उद्योगले उत्पादन गरेका छन् न बजारमा माग छ भन्दा फरक पर्दैन । ‘बजारमा माग नै छैन, दशैँ लाग्यौ है भन्न सकिने अवस्था नै छैन । बजारबाट माग नै नआएपछि उत्पादन गर्ने कुरै भएन ।
लामो समय लकडाउन हुँदा मध्यम वर्गका मानिसहरु बढी पीडित बन्दा उनीहरुको आम्दानीमा ह्रास आएको छ । उपभोक्ताकै आम्दानी नभएका कारण बस्तुको बजार माग घटेको देखिन्छ । हरेक महिना सिमित तलब खाने सानो वर्गबाहेक सबैजसो उपभोक्ताको क्रयशक्ति घटेको भन्न सकिन्छ । नियमित काम गरेर बिहान बेलुकाको छाक टार्ने र थोरै बचत भएको पैसाले दशैँ मनाउने वर्गका मानिसहरु यसवर्ष दशैँ मनाउन सक्ने अवस्थामा नै नरहेको बजारका जानकारहरुको बुझाई छ । आम्दानीमा अस्वभाविक ह्रास आएका कारण यसपाली खुलेर चाडपर्व मनाउन सकिने अवस्था छैन ।
गाउँ गएका राजधानी किन आएनन् ?
काठमाडौँका प्रमुख व्यापारिक क्षेत्र न्युरोड, ठमेल, असन, दरबारमार्ग, ललितपूरको लगनखेल, जावलाखेल जस्ता ठाउँमा अहिले चहलपहल सामान्य मात्रै छ । दशैँको मुखैमा पनि यी क्षेत्रमा फाट्टफुट्ट बाहेक व्यापारिक गतिविधि नहुनुको पछिल्लो लकडाउनको समय काठमाडौँ छोडेकाहरु नआउनु नै हो । लकडाउनको बीचमा स्थानीय तहहरुले काठमाडौँमा रहेका आफ्ना नागरिक गाडी रिजर्भ गरेरै गाउँ लगेका थिए । उनीहरुमध्ये अहिले २५ प्रतिशत पनि राजधानी नफर्किएको देखिन्छ । गाउँमा सोझै जाँदा कोरोनाको शंका गर्ने र पीसीआर परीक्षण गरेर जाँदा परीक्षण शुल्क महँगो रहेकाले पनि अधिकांश व्यक्तिहरु काठमाडौँमै दशैँ मनाउने सोचमा रहेको भन्न सकिन्छ ।
गाउँ घरमा अब फेरि राजधानी जानेहरुको भीड बढेको देखिन्छ । यसले परिवारमै कोरोना संक्रमण हुने हो कि भन्ने डर बढेको पककै छ । तर, वर्षमा १ पटक परिवार बीच बस्ने परम्परा छ । परम्परालाई निरन्तरता दिने पक्षमा रहेका नेपाली हामी बीच अब सचेत र सजग भएर सुरक्षाका सबै विधी अपनाएर बस्नुपर्ने अवस्था आएको छ । यो विर्सनु पटक्कै हुँदैन । यस पटकको दशैं हुने खानेहरुका लागि दशैं भएपनि हुँदा खाने र कमाएर खानेका लागि दशा हुने प्रस्टै देखिन्छ । पीडा, दुखका बेला आएका यी महत्वपूर्ण चार्डपर्वलाई कसरी उतार्ने हो त्यसको चिन्ता बढ्नु स्वभाविक होला । तर, कोरोना संक्रमणबाट बच्नु र अरुलाई बचाउने हाम्रो पहिलो प्राथमिकता बन्नु जरुरी छ । (राजतिलक साप्ताहिकबाट साभार गरिएको)