हिमालयन बैंक लिमिटेडले ‘हिमालयन एससीटी युनियन पे कार्ड’ सेवा सुरु गरेको छ । युनियन पेको सहकार्यमा भिडियो कन्फ्रेन्सको माध्यमबाट सेवा शुभारम्भ गरेको हिमालय बैंकले जनाएको छ ।
बैंकका अनुसार सो कार्ड नेपाल तथा भारतका प्रायः सबै एटीएम तथा पस टर्मिनलमा चल्नेछ । भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुने विश्वास बैंकले गरेको छ ।
हिमालयन बैंक लिमिटेडले एचबीएल युनियन पे एससीटीको ब्राण्डेड कार्ड आफ्ना ग्राहकहरुका लागि जारी गर्न सुरु गरेकोमा युनियन पेका प्रतिनिधिहरुले खुसी व्यक्त गरेका थिए ।
यूनियन पे तथा एससीटीसँग सहकार्य गरी ‘एचबीएल यूनियन पे एससीटी कार्ड’ सञ्चालनमा आएकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबराले खुशी व्यक्त गरे । उनले नेपालको बैंकिङ क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तर्राष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियन पे, भिसा जारी तथा स्वीकार गर्ने र छिटै डाइनर्स एण्ड डिस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक भएको जिकिर गरे ।