जोडिनुहोस
सोमवार, पुस ८, २०८१
सोमवार, पुस ८, २०८१
  • होमपेज
  • इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटलीले ५३ वर्षपछि जित्यो युरोकपको उपाधि

इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटलीले ५३ वर्षपछि जित्यो युरोकपको उपाधि

इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो ।

सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा नायक बन्दै दुई प्रहार बचाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका थिए । तर नायक बन्न सकेनन् ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउट भएको हो । खेलको दोस्रो मिनेटमै इंगल्याण्डले अग्रता लिएको थियो । लुक श ले किरन ट्रिपिएरको पासमा गोल गर्दै घरेलु टोली इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । युरो फाइनलमा भएको यो सबैभन्दा छिटो गोल थियो भने राष्ट्रिय टिमका लागि श को पनि पहिलो गोल थियो । सम्हालिन नपाउँदै सुरुमै गोल खाएपछि इटली बराबरी गोल फर्काउनतर्फ लाग्यो ।

पहिलो हाफमा इंग्ल्याण्डले अग्रता कायमै राख्यो । तर दोस्रो हाफमा थप गोल गर्न सकेन । इटलीले भने दोस्रो हाफमा बराबरी गोल फर्कायो । ६७औं मिनेटमा लियोनार्दो बोनुचीले मार्को भेराट्टीको पासमा इटलीका लागि बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थपियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो ।

सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुीची र फेडेरिको बर्नाडेसी गोल गरे । इटलीका आन्द्रे बेलोट्टी र जर्जिन्होको पेनाल्टी इंग्लिस गोलकिपर पिकफोर्डले बचाए ।

इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरे ।

जाडोन सान्चो र बुकायो शाकाको बचाउ इटलीका गोलकिपर डोनारुम्बाले बचाए । मार्कुस रासफोर्डको प्रहार भने पोष्टमा लागेर फर्कियो ।

इंग्ल्याण्डका लागि अन्तिम पेनाल्टी प्रहार गरेका साकाले गोल गर्न नसकेपछि इटली विजयी भयो ।

५३ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो । सन् १९६८ मा युरोकप जितेको इटलीले २००० र २०१२ मा पनि युरो फाइनल खेलेको थियो । तर उपविजेतामै सीमित भएको थियो ।

उता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको इंग्ल्याण्डले पहिलो पटक युरोकपको फाइनल खेलेको थियो ।

6195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका