सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले मेरो शेयर प्रणालीमा धितोपत्रको स्वामित्व अवधि गणना गर्ने सुविधा थप गरेको छ ।
सिडिएससीले आइतवार बेलुका ७ बजेदेखि उक्त सुविधा थप गरी सञ्चालनमा ल्याएको हो । साउन ३ गतेदेखिको धितोपत्र विक्री गर्दा हुने नाफामा लाग्ने पूँजीगत लाभकर गणनामा नयाँ विधि लागू गरिएको छ । साउन ३ गतेदेखिको कारोबारमा व्यक्तिगत लगानीकर्ताहरुमा अल्कालिन र दीर्घकालिन लगानीकर्ताको रुपमा परिचित भई पूँजीगत लाभकर तिर्नुपर्ने भएको हो ।
नयाँ व्यवस्था अनुसार अल्पकालिन अर्थात् ३६५ दिनभन्दा अघिनै शेयर विक्री गर्दा भएको नाफामा ७ दशमलव ५ प्रतिशत र दीर्घकालिन ३६५ दिनभन्दा बढी अवधि शेयर कायम गरी विक्री गर्दा भएको नाफामा ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने भएको हो ।
यो व्यवस्था कार्यान्वयनका लागि सिडिएससीले मेरो शेयरमा रहेको my purchase source मा my holdings भन्ने सुुविधा थप गरेको हो । यो सुविधा प्रयोगका लागि अब लगानीकर्ताहरुले my purchase source मा गई आफूले खरीद गरेको शेयरको लगत यकिन गरेपछि my holdings मा गएर एक वर्षभन्दा कम अवधिको भएर short term अर्थात् ST र एक वर्षभन्दा बढीको भए long term अर्थात् LT छनौट गर्नु पर्नेछ ।
यद्यपी यो प्रकृया सिडिएससीको प्रणालीले नै छनौट गर्नेछ । लगानीकर्ताहरुले उक्त प्रणालीमा छनोट भएको जानकारी सहि छ या छैन भनेर आफैले हेर्न सक्नेछन् ।
सिडिएससीले मेरो शेयरको मोवाइल एप प्रयोग गर्ने लगानीकर्ताहरुलाई प्लेस्टोरमार्फत मेरो शेयर एप अपडेट गरी उक्त सेवा प्रयोग गर्न आग्रह गरेको छ ।