जोडिनुहोस
शुक्रबार, पुस १२, २०८१
शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • आफ्नो जग्गा कब्जा नभएको एमसीएले गर्‍यो दाबी

आफ्नो जग्गा कब्जा नभएको एमसीएले गर्‍यो दाबी

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजनाले अधिग्रहण गरेको जग्गा कब्जा भएको भन्ने समाचार असत्य रहेको एमसीए नेपालले जनाएको छ। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एमसिए–नेपाल विकास समिति यस्तो दाबी गरेको हो।

विज्ञप्तिमा नेपाल सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोगमा एमसिए–नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटेमा निर्माण गर्न लागेको रातमाटे विद्युत् सब–स्टेसनका लागि अधिग्रहण गरिएको जग्गाका सम्बन्धमा केही सञ्चार माध्यममा आएका समाचारप्रति एमसिए–नेपाल विकास समितिको ध्यानाकर्षण भएको उल्लेख छ ।

उक्त विद्युत् सब–स्टेसनका लागि आवश्यक ३९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति ऐन, २०३४ अनुसार गरिएको एमसीएले जनाएको छ ।भविष्यमा नेपाल विद्युत् प्राधिकरणले बनाउने सब–स्टेसन पनि रहने गरी उक्त परिमाणको जग्गा अधिग्रहण गरिएको हो ।

एमसीएका अनुसार यस क्रममा त्यहाँका १०२ घरपरिवारका १९५ कित्ता जग्गा अधिग्रहणमा परेका थिए । ती जग्गा एवम् ती जग्गामा रहेका संरचनाको अधिग्रहणबापत मुआब्जा रकम नेपालको विद्यमान कानुन र अन्तर्राष्ट्रिय वातावरणीय निर्देशिका एवम् मापदण्ड अनुसार भुक्तानी गरिएको थियो ।

उक्त सब–स्टेसन निर्माणसम्बन्धी सम्पूर्ण कार्य सञ्चालन नेपाल सरकारले गठन गरेको एमसिए–नेपाल विकास समितिले गर्दछ ।

नेपालको विकास समिति ऐन, २०१३ ले दिएको अधिकार अनुसार आयोजनाका लागि आवश्यक सम्पूर्ण चल अचल सम्पत्ति एमसिए–नेपाल विकास समितिले खरिद गर्ने, ती सम्पत्ति एमसिए–नेपालको नाममा मात्र दर्ता हुने र यस अनुदान अन्तर्गत खरिद गरिने कुनै पनि चल वा अचल सम्पत्ति दातृ निकाय एमसीसीको नाममा नरहने र सम्झौता अनुरूप राख्न नमिल्ने जानकारी पनि दिन सो विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

अधिग्रहण गरिएका जग्गा हाल नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको एमसिए–नेपाल विकास समितिको नाममा रही निर्माण सम्पन्न भएपछि उक्त विकास समिति विघटन गरिएपश्चात् उक्त सब–स्टेसन, त्यहाँ निर्माण गरिएका अन्य संरचना र जग्गाको पूर्ण स्वामित्व नेपाल सरकारको निर्णय बमोजिम नेपाल विद्युत् प्राधिकरण वा नेपाल सरकारले तोकेको सरकारी निकायलाई हस्तान्तरण गरिने एमसीएको भनाई रहेको छ ।

यसबारे कुनै तथ्यहीन तथा भ्रामक समाचारको भर नपर्न र सही र अद्यावधिक जानकारीका लागि एमसिए–नेपाल विकास समितिको आधिकारिक वेबसाइट हेर्नुहुन समेत विज्ञप्तिमा अनुरोध गरिएको छ ।

3810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?