-मनोज कुमार ज्ञवाली-
यो आर्थिक वर्ष अर्थतन्त्रका लागि उत्साहप्रद रहेन । कोभिडको त्रासले जति बिगार्छ सोचेका थियौँ, त्यति बिगारेको थिएन तर कोभिड शान्त हुँदै गर्दा अर्थतन्त्रले गति लिन्छ की भन्ने अपेक्षा पुरा हुन सकिरहेको छैन । केहि सुचकांक निम्नानुसार छन् ।
१. मुद्रास्फिति (Inflation) को दर दुई गुणा भन्दा बढीले बढेर ६ प्रतिशत हाराहारी पुगेको छ । थोक मूल्यको मुद्रास्फिति १० प्रतिशत भन्दा बढीले बढ्यो ।
२. कर्जा वृद्धिदरको एक तिहाइ पनि निक्षेपको वृद्धिदर हुन सकेन । स्थानीय सरकारको खाताको ८० प्रतिशतसम्म रकमलाई बैंक तथा वित्तीय संस्थाको निक्षेपमा गणना गर्न मिल्ने व्यवस्था गर्दा समेत सवा खर्बले निक्षेप वृद्धि हम्मे-हम्मे भयो । बैंकहरुको सिडी रेसियो ९१ प्रतिशतको हाराहारी छ ।
३. व्यापार घाटा ३८ देखि ४० प्रतिशतले बढेको छ । वैदेशिक मुद्रा संचिति घट्दै गएर साढे छ महिना सम्मको बस्तु तथा सेवा आयात गर्न मात्र पर्याप्त छ र चाप बढ्दो छ ।
४. २ लाख भन्दा बढी थप नेपाली नागरिकहरु वैदेशिक रोजगारमा जाँदा पनी रेमिटेन्स ६ प्रतिशतको हाराहारीले घटेको छ ।
५. अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ५५ प्रतिशत भन्दा बढिले वृद्धि भएकाले त्यसको असर नेपालमा पनि परेको छ ।
६. सरकारले पुर्ववत् पूँजीगत खर्च गर्न सकेन । वैदेशिक ऋण तथा सहायता बजेटको अनुरूप प्राप्त हुन सकेको छैन ।वैदेशिक लगानीको लक्ष्य, गफ र तथ्यको अवस्था उस्तै छ ।
७. सरकार तथा सरकारी निकायहरूले नेपाल राष्ट्र बैंकमा खोलेका खाताहरूमा १०० अर्ब भन्दा थप रकम जम्मा भएको छ । यसले तरलतामा थप चाप परेको छ ।
८. ब्याजदरमा बृद्धि भएको छ । नयाँ कर्जा पाउनै मुस्किल, पाइहाले पनी १३ प्रतिशत भन्दा माथिको ब्याजदरमा लिनुपर्ने स्थिति छ । यसले उद्यमशिलतालाई निरूत्साहित गर्छ र यसको दूरगामी असर पर्दछ ।
९. देशको अर्थतन्त्रका सुचकांकहरु जस्तै रहे पनि नेपालीहरूको वैदेशिक यात्रा राम्रै बढेको छ। देशमा भन्दा विदेशमा सम्भावना बढि देखिदा पढ्न या पढ्न भनेर विदेशीने संख्या राम्रै बढ्दा यस्तो भ्रमणमा हुने खर्च ९२ प्रतिशत हाराहारीले बढेर ३६ अर्ब माथि पुगेको छ ।
१०. पूँजीबजार प्रति सरकार र नियामकहरुको अस्थिर रवैया र लगानीकर्ताहरुको अस्थिर मनोवृतिले गर्दा दैनिक २०/२२ अर्ब रुपैयाँको कारोबार पुगेको बजार घटेर दैनिक २/३ अर्ब रुपैयाँमा समिति भएको छ । यसले लगानीकर्ताहरुमा निराशा सँगै पूँजी पलायनको समेत आशङ्का गरिएको छ ।
तरलता अभावमा शुरुवाती दिनहरुमा एक अर्कालाई दोष दिँदै समाधानका बारेमा सोचिएन । यस पटकको तरलता अभाव systemic हो र छिटै अनि सहजै समाधान हुँदैन भन्ने मेरो धारणा शुरुवात मै थियो । यस पटक अर्थतन्त्रका सूचकांकहरु सबै तिरबाट बिग्रेका छन् । एउटा प्वाल टाल्यो भने अरु दुई प्वाल पर्ने स्थिति छ । अहिले कसले कसलाई दोष दिएर आफु चोखो बन्ने भन्ने खेलमा लाग्ने बेला होईन, समाधानका उपाय हरुमा लाग्नुपर्छ अनि होस्टेमा हैसे गर्नुपर्छ । आत्तीनु पर्ने होईन र सम्हालिएर हिँड्नुपर्ने स्थिति चै छ । समयमै एउटा टास्क फोर्स (राजनीतिक रंग र स्वार्थ नभएको) बनाएर अल्पकालीन र दिर्घकालीन समाधानका उपायमा काम गर्न जरुरी छ।
(यो विचार हामीले बैंकर मनोज ज्ञवालीको फेसबुकबाट साभार गरिएको हो ।)