एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३९.१३ रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०.९५ रुपैयाँले बढी हो । त्यस्तै, मूल्य आम्दानी अनुपात १७.७९ गुणा र प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ बढी छ । त्यस्तै, बैंकको स्व-पूँजीमा प्रतिफल (आरओई) १९.६५ प्रतिशत रहेको छ । जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको अनुमान छ ।
हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ छ भने जगेडा कोषमा १३ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा लगानीमा सामान्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको बैंकले गत आवमा २ खर्ब ८९ अर्ब रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जा लगानी पनि २ अर्ब ४८ करोड रुपैयाँबाट २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको एनपीएल घटेर ०.४९ प्रतिशतमा सीमित छ भने सीडी रेसियो बढेर ८६.२६ प्रतिशतमा पुगेको छ । त्यसैगरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र क्यापिटल कर्जरभेशन बफरसहित उक्त अनुपात ८.९३ प्रतिशत पुगेको छ ।
बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रयमाससम्ममा १२ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाखभन्दा बढी खाताहरू मार्फत सेवा दिँदै आइरहेको छ । यो त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।