दशैं केवल रमाइलो गर्ने पर्व मात्र होइन । यसका अनेक विशेषता र महत्व छन् । सामाजिक महत्व छन् । जसले समाजलाई एकसूत्रमा जोड्छ । धार्मिक महत्व छ, जसले शक्ति र सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ । आर्थिक महत्व छ, जसले लत्ताकपडादेखि खाद्यन्नसम्मको बजार उत्कर्षमा पुर्याउँछ । भावनात्मक महत्व छ, जसले टाढा/टाढा रहेका आफन्तलाई एकै थलोमा ल्याइपुर्याउँछ । दशैं, सद्भावको पर्व हो । एकताको पर्व हो । समग्रमा यो हाम्रो जीवन पद्दतीको एउटा हिस्सा हो ।
घटस्थापनादेखि दशैंको विधिवत सुरुवात हुन्छ । घटस्थापनाको दशौं दिनमा टिका । अर्थात आफन्त, गन्यमान्यबाट टीका थाप्ने दिन । यसलाई विजय दशमी भनिन्छ । यो एउटा विजयको उल्लास पनि हो । असत्यमाथि सत्यको विजय ।
दशैं सुरुभएदेखि हरेक दिनको आ—आफ्नै महत्व र अर्थ छ । यो धार्मिक परम्परासँग मात्र जोडिएको छैन । हाम्रो जीवन पद्दतिलाई सुखदायी, प्रेममय बनाउने सूत्र पनि छ यसमा । दश÷संस्कृतिले हामीलाई समाजसँग एकाकार भएर हाँस्न र बाँच्न प्रेरित गर्छ, संयमित र सन्तुलित जीवन ।
आज सप्तमी अर्थात फूलपाती । यो तिथिको पनि विशेष महत्व छ । सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ ।
घर/घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ । केरा, दारिम, धान, हलेदो, माने, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता नौ प्रकारका पातहरुलाई पूजेर पत्येक नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइने प्रचलन छ । यी नौ पातमा ब्रम्हाणी, रक्चचण्डिका, लक्ष्मी, दुर्गा, चामुन्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरेर सोह्र सामग्रीले पुजिन्छ ।
यस दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी ल्याएर बढाइँसाथ हनुमानढोका भित्र्याइन्छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरसका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने चलन छ । त्यसपछि धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राम्हण जातिका ६ जनाले ल्याउने परम्परा छ ।