गण्डकी प्रदेशका कास्कीको रुपा र स्याङ्जाको बिरुवा गाउँपालिकामा स्वास्थ्य स्वंयसेविकाहरुको सहयोगले उच्च रक्तचाप नियन्त्रणमा उल्लखेनीय सुधार आएको अध्ययनले देखाएको छ । प्रशिक्षित सामुदायिक स्वास्थ्यकर्मीहरुको प्रयोग गरी उच्च रक्तचापको व्यवस्थापन परियोजना (मुटु)ले गरेको एक वर्षे अध्ययनमा रक्तचाप नियन्त्रणमा सुधार पाइएको हो ।
बुधबार एक समारोहबीच सार्वजनिकरण गरिएको अध्ययनमा २५ देखि ७० वर्ष उमेर समूहका दुवै गाउँपालिकाका उच्च रक्तचाप भएकाहरुलाई समावेश गरिएको थियो । यो परियोजना नेपाल विकास समाजले जोन्स हप्किन्स विश्वविद्यालयसँगको सहकार्य तथा ‘रिसल्भ टु सेभ लाइभ्स’को आर्थिक सहयोगमा सञ्चालन गरिएको हो । कान्तिपुर
परियोजनाअन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरुले रुपा गाउँपालिकामा तीनपटक र बिरुवा गाउँपालिकामा एकपटक घरमै गएर उच्च रक्तचाप जाँचको साथै जीवनशैली सम्बन्धी परामर्श प्रदान गरेका थिए । त्यसैगरी रुपा गाउँपालिकामा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सहज प्रोटोकलमार्फत औषधि प्रयोग गरी उच्च रक्तचापको निदान र उपचारबारे प्रशिक्षण प्राप्त गरेका थिए ।
परियोजनाभर भौतिक/अनलाइन सुपरीवेक्षणका लागि एक चिकित्सक उपलब्ध गरिएको थियो । दुवै गाउँपालिकामा १२ महिनापछि रक्तचाप तुलना गरिएको थियो । परियोजनाका लागि ११६ जनालाई तालिम दिइएकोमा १०७ जना योग्य ठहरिएका थिए ।
कार्यक्रम लागू गरिएको १२ महिनामा १५‘एमएमएचजी’ र बिरुवा गाउँपालिका (कार्यक्रम लागू नगरिएको)मा लगभग ४ ‘एमएमएचजी’ सिस्टोलिक रक्तचाप घटेको देखियो । रुपामा लगभग ७० प्रतिशत र बिरुवामा लगभग २० प्रतिशत रक्तचाप नियन्त्रणमा आएको देखियो । सिस्टोलिक रक्तचापमा ५ एमएमएचजीले कमी आउँदा मृत्युदरमा ७ प्रतिशत कमी, पक्षघातमा १४ प्रतिशत कमी र हृदयघातमा ९ प्रतिशत कमी आएको थियो ।
परियोजनाका प्रिन्सिपल इन्भेस्टिगेटर डा अभिनव वैद्यकाअनुसार प्रत्येक वर्ष नेपालमा ५० हजारभन्दा बढी मानिसले मुटुसम्बन्धी रोगको कारण ज्यान गुमाउने गरेका छन् । मुटुसम्बन्धी रोगहरुको एक प्रमुख जोखिम कारक उच्च रक्तचाप हो । उनी भन्छन्–‘प्रत्येक चार जना वयस्कमा एक जनालाई उच्च रक्तचाप छ तर उनीहरुमध्ये अधिकांश यसबारे अनविज्ञ छन् र उपचारभन्दा बाहिर छन् । खासगरी ग्रामीण क्षेत्रका बिरामीहरु चिकित्सकको सीमित संख्याका कारण चुनौतीपूर्ण अवस्थामा छन् । उपचार र निदानका लागि कार्यविधि आवश्यक छ । यस समस्यालाई समाधान गर्न मुटु अध्ययन गरिएको हो । उनले यस मुटु परियोजनाले महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले चिकित्सकको सुपरीवेक्षणमा सुरक्षित र प्रभावकारी तरिकाले उच्च रक्तचाप जाँच, निदान र उपचार गर्न सक्छन् भन्ने स्पष्ट देखाएको बताए ।
द जोन्स हप्किन्स युनिभर्सिटीका प्राडा लरेन्स जोन अपिलले हाइपरटेन्सनलाई नियन्त्रण गर्न सकिने भए पनि धेरैजसो उपचारको दायरामा आउन नसकेको बताए । उनले भने–‘विश्वभरी १४० करोडलाई हाइपरटेन्सन छ । विश्वमा मृत्यु हुने प्रमुख कारण पनि हो । प्राथमिक उपचार स्याहारमा नियन्त्रण होस् भनेर यो परियाजना आएको हो ।’