नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ लागु भएसँगै ५० वटा कम्पनीको शेयर कारोबार फुकुवा हुने भएको छ । जसमध्ये १४ बीमा कम्पनीको पनि कारोबार फुकुवा हुने भएको छ । यो निर्देशिका प्रारम्भ हुनु अघि गाभ्ने/गाभिने वा प्राप्ति प्रकृयामा रहेका कारण शेयर करोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत शेयरधनी बाहेक अन्य शेयरधनीको शेयर कारोबार फुकुवा गर्नु पर्ने व्यवस्था छ ।
यसका लागि आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्न संगठित संस्थाले आधारभूत शेयरधनीको विवरण सहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ । कम्पनीले निवेदन दिएपछि प्राप्त निवेदनको आधारमा धितोपत्र बजार तथा केन्द्रिय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत शेयरधनी बाहेकको शेयर कारोबार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ ।
यदि सम्बन्धित कम्पनीको नियमनकारी निकायले शेयर कारोबार रोक्का राखेको भएमा सम्बन्धित नियमनकारीको सहमतिमा आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्न सक्नेछ ।
हाल दोस्रो बजारमा प्राइम लाइफ, युनियन लाइफ, गुराँस लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफको कारोबार बन्द छ । निर्जीवन तर्फ प्रिमियमर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको कारोबार रोक्का छ । हाल मर्जर प्रकृयाँमा रहेका ८ वटा माइक्रोइन्स्योरेन्स कम्पनी, १० वटा बाणिज्य बैंक मध्ये प्राप्ति गर्ने बाहेक सबैको करोबार रोक्का छ ।