स्वीस नेशनल बैंक (एसएनबी)लाई सन् २०२२ मा १४३ अर्ब अमेरिकी डलरको वार्षिक घाटा भएको छ। १ सय १५ वर्षको लामो इतिहासमा यो सबैभन्दा भारी गिरावट रहेको बैंकले सोमबार जनाएको हो।
यो घाटा नेपालको वार्षिक कूल ग्राहस्थ उत्पादनभन्दा झण्डै साढे तीन गुनाभन्दा बढी हुन्छ।
स्टक र स्थिर आय बजारले यसको सेयर र बन्ड पोर्टफोलियोको मूल्यलाई असर गर्दा बैंकले भारी घाटा बेहोर्नु परेको हो।
सन् २०२१ मा यस बैंकलाई २६ अर्ब फ्र्यांक नाफा भएको थियो। तर, सोमबारको सो प्रोभिजनल आँकडाले सन् २०२१ को नाफाबाट बैंक उल्टो गतिमा रहेको देखाएको छ। यसअघि सन् २०१५ मा स्वीस नेशनल बैंकलाई २३ अर्ब फ्रैंकको रेकर्ड घाटा भएको थियो।
एसएनबीले आगामी मार्च ६ मा विस्तृत वार्षिक तथ्यांकहरू जारी गर्नेछ।
यस बैंकले आफ्नो विदेशी मुद्रा स्थितिबाट १३१ अर्ब फ्रैंकको नोक्सान गरेको छ। यस बाहेक, बैंकले ८०० अर्ब फ्रैंक भन्दा बढी स्टक र बन्डमा स्विस फ्र्यांकलाई कमजोर पार्न लामो अभियानको क्रममा किनेको थियो।
एसएनबि लगायत विश्वभरका केन्द्रीय बैंकहरूले मुद्रास्फीतिसँग लड्न ब्याजदर बढाउँदा गत वर्ष विश्वव्यापी स्टक बजार कमजोर भयो र बन्डको मूल्य पनि घटेको थियो।
बलियो स्वीस फ्रैंकको मूल्य गत जुलाईमा यूरोभन्दा माथि गएको थियो। जसले विनिमय दर-सम्बन्धित घाटा निम्त्यायो।
गतवर्ष एसएनबीका लागि एक मात्र सकारात्मक पक्ष भनेको यसको सुन होल्डिङ्स थियो। सन् २०२१ को अन्त्यमा एसएनबीको सुन होल्डिङ्स १ हजार ४० टन थियो र गतवर्ष यसको मूल्यमा ४०० मिलियन फ्रयांकले वृद्बि भएको थियो।
यस घाटासँगै बैंकले स्वीस केन्द्रीय र क्षेत्रीय सरकारहरूलाई आफ्नो सामान्य भुक्तानी नगर्ने भएको छ। गतवर्ष एसएनबीले ६ अर्ब फ्र्यांक भुक्तानी गरेको थियो।
यद्यपि, यस घाटाको एसएनबी नीतिमा कुनै प्रभाव पार्ने सम्भावना छैन। यसले गत वर्ष सन् २०२२ मा तीनपटक ब्याज दर बढाएको थियो।
‘एसएनबीको उच्च घाटाले यसको मौद्रिक नीतिमा कुनै परिवर्तन गर्ने छैन,’ जे. साफ्रा सारासिनका अर्थशास्त्री कार्स्टेन जुनियसले भने, ‘एसएनबीको उच्च प्रतिष्ठाका कारण पनि यसले केही परिवर्तन गर्नुपर्ने छैन।’ (रोयटर्सबाट साभार)