जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • दर्ता भएका दुई स्टक एक्सचेन्ज विवादमा, पुरानो हुँदाहुँदै उही नाममा नयाँ आवेदन कसरी ?

दर्ता भएका दुई स्टक एक्सचेन्ज विवादमा, पुरानो हुँदाहुँदै उही नाममा नयाँ आवेदन कसरी ?

नेपाल धितोपत्र बोर्डमा १४ वर्षअघि हिमालयन मात्रै होइन नेशनल स्टक एक्सचेन्ज पनि दर्ता भएको खुलेको छ। २०६६ मंसिरमा बोर्डले नयाँ स्टक एक्सचेन्जको आवेदन माग्दा हिमालयन र नेशनल स्टक एक्सचेन्ज दर्ता भएका थिए।

अहिले बोर्डले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन खुलाउँदा पनि हिमालयन र नेशनल दर्ता भएको छ। तर अहिले दर्ता भएका कम्पनीका प्रवर्द्धक नयाँ छन्। पुराना र नयाँ कम्पनीको नेतृत्व गर्नेहरु पनि फरक छन्। पुरानो हिमालयनको नेतृत्वकर्ता थिए रमेशकुमार भट्टराई।

विभिन्न १८ वटा वित्तीय संस्थाको नेतृत्व गर्दै भट्टराई अध्यक्ष भएर बोर्डमा आवेदन दिएका थिए। त्यो कम्पनीमा सगरमाथा इन्स्योरेन्सका प्रबन्ध संचालक कृष्णबहादुर बस्नेत, बुटवल फाइनान्सका कार्यकारी अध्यक्ष देवेन्द्र ध्वजु, कमोडिटिज एण्ड मेटल एक्सचेन्ज(कोमेन)का प्रमुख कार्यकारी विजय सत्याल र त्रिवेणी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सागरकुमार घिमिरे संचालक थिए।

कम्पनीमा महालक्ष्मी फाइनान्स, हिमचुली विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनास, एसियन लाइफ, एनएलजी इन्स्योरेन्स, शुभलक्ष्मी फाइनान्स, वीरगंज फाइनान्स, सिद्धार्थ फाइनान्स, प्रिमियर फाइनान्स र सीएमबी फाइनान्सले लगानी गरेका थिए।

सेन्ट्रल फाइनान्स, प्रिमियर इन्स्योरेन्स, सिप्रबी सेक्युरिटीज र ललितपुर फाइनान्सले पनि पुरानो हिमालयनमा लगानी गरेका थिए। तर नयाँ स्टकको संचालक र नेतृत्वकर्ता फरक छ।

नयाँ स्टकको नेतृत्व इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले गरिरहेका छन् भने कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष पशुपति मुरारका, भवानी राणा, सौरभ ज्योति, शंकर समूह लगायत ठूला घरानाको लगानी छ।

यस्तै पुरानो नेशनलमा पनि आइसीएफसी वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ कम्पनी, अशोकुमार अग्रवाल, नुमनाथ पौडेल, रामबाबु पन्त, लिमा अधिकारी, सलुजा भण्डारी, कास्की फाइनान्स र सुनिल पन्तको लगानी थियो। यो कम्पनीको नेतृत्व विशाल ग्रुपका अशोककुमार अग्रवालले गरेका थिए।

नयाँ नेशनलमा यी प्रवर्द्धक छैनन्। नयाँ कम्पनीको नेतृत्व दीपक तिमिल्सिनाले गरिरहेका छन्। कम्पनीमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तो, पूर्व अध्यक्ष जीवा लामिछाने, वर्तमान अध्यक्ष कुल आचार्य, बद्री केसी, महेश श्रेष्ठ, सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया, अग्‍नि ग्रुपका क्याबिनेट श्रेष्ठ, रिलायन्स ग्रुप लगायतको लगानी छ।

पुरानै नाम कसरी भयो दर्ता?

बोर्डले पुरानो कम्पनी दर्ता भइसकेको अवस्थामा त्यही नाममा अर्को कम्पनीको आवेदन लिएको बारेमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। तर बोर्डका एक अधिकारीका अनुसार पुरानो कम्पनी कानुनीरूपमा जीवित (एक्जिस्टेन्स) छैनन्। १४ वर्षअघि आवेदन माग्दा ती कम्पनी प्रस्तावित मात्रै हुन्।

‘ती प्रस्तावित कम्पनीले बोर्डमा आवेदन दिएका हुन्। हामीले लाइसेन्स दिएपछि मात्रै ती कम्पनी रजिष्ट्रारमा दर्ता हुन्थे। कम्पनी रजिष्ट्रारमा दर्ता नभएको कम्पनी कानुनी रुपमा जीवित भन्न मिल्दैन,’ ती अधिकारीले भने, ‘हामीले त्यही आधारमा नयाँ कम्पनीको आवेदन लिएका हौं।’

उनका अनुसार कतिपय पुराना कम्पनीका संचालक नयाँमा मिसिएर पनि आएको पाइएको छ।

‘हिमालयन स्टक स्थापना गर्ने प्रमुख पाँच जनामध्ये दुई जना नयाँ स्टकमा सामेल भएर आएका रहेछन्,’ ती अधिकारीले भने, ‘अझ हिमालयनमा लगानी गर्ने प्रमुख १८ संस्थामध्ये १७ वटा कता-कता विलय नै भइसकेका छन्। अहिलेसम्म एउटा एसियन लाइफ मात्रै संचालनमा छ।’

धितोपत्र बोर्डको नयाँ विनियमावली अनुसार, व्यक्तिको नाममा आवेदन दिन पाइँदैन। संस्थागत सेयरधनीहरु हुनुपर्छ। यसबाहेक नयाँ विनियमावली उदृत गर्दै सार्वजनिक रुपमा आवेदन माग गरिएको थियो। आवेदन मागेपछि भने पुरानाले निवेदन दिएका छैनन्।

1770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका