जोडिनुहोस
शुक्रबार, पुस १२, २०८१
शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • ‘जग्गा कित्ताकाट फुकुवाको निर्णयले कारोबार बढाउन मद्दत गर्छ’- महासंघ अध्यक्ष ढकाल

‘जग्गा कित्ताकाट फुकुवाको निर्णयले कारोबार बढाउन मद्दत गर्छ’- महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको घरजग्गा कित्ताकाट फुकुवा गर्ने निर्णयले कारोबार बढ्नेमा मद्दत गर्ने वातावरण बनेको बताएका छन्। बुधबार राजधानीमा भएको नेपाल जग्गा तथा आवास विकास संघको १६ औं वार्षिक साधारण सभामा उनले कित्ताकाट खुलाउने निर्णयलाई सबै क्षेत्रले सकारात्मक रुपमा हेरिरहेको बताए।

अर्थतन्त्रमा मन्दी ल्याउने प्रमुख कारणमध्येको एउटा जग्गाको कित्ताकाट रोक्ने सरकारको निर्णय पनि रहेको उनको भनाइ थियो। जग्गा र घरको कारोबार घट्दा उठ्ने राजस्व ह्‍वात्तै घटेको र यसबाट समग्र अर्थतन्त्रमा समस्या देखिएको उनले बताए।

‘सरकारले जग्गाको कारोबार रोक्दा उत्पन्न भएको समस्या बारेमा बुझिसकेको छ,’ अध्यक्ष ढकालले भने, ‘अर्थतन्त्र जोखिमपूर्ण स्थितिमा छ। यस्तो स्थितिमा आइपुग्नुमा देशको अर्थतन्त्र टाट पल्टने डर मुख्य कारण हो।’

अर्थतन्त्र श्रीलंकाको जस्तो बन्ने डरले आयात रोक्दा राजस्व घाटेर समस्या उत्पन्न भएको उनले बताए। यद्यपि यतिबेला अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिएको भनाइ उनले राखे। ‘ब्याजदर घट्न लाग्दा अर्थतन्त्र चलायमान हुन लागेको देखिएको छ। यस्तै, रेमिट्यान्स बढ्दै जानु र पर्यटन व्यवसाय चलायमान बन्नु सुरु गर्नु नै महत्त्वपूर्ण छ,’ अध्यक्ष ढकालले भने।

रुस-युक्रेन युद्धका कारण संसारभर परेको असरबाट नेपाल मुक्त नभएको उनले बताए। विस्तारै सुधारका संकेत देखिएको भन्दै उनले भविष्यका लागि आशावादी हुन सकिने भनाइ राखे। ‘अहिले आउने समस्या आइसक्यो, अब धेर समस्या नआउने मैले देखेको छु,’ उनले भने।

1325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका