सहकारीको ठगी कार्य नघटेपछि अहिले काठमाडौं महानगरपालिकाले मिलापत्र गराउन नसकेर ठूलो संख्यामा ठगीका उजुरीलाई प्रहरी तर्फ पठाएको छ । महानगरपालिकाको सहकारी विभागमा परेका ६७ सहकारी विरुद्ध ठगीको उजुरीलाई प्रहरीको जिम्मा लगाएको हो ।
विभागका अनुसार ती सहकारीहरू विरुद्ध २ हजार ६५३ जना बचतकर्ताले १ अर्ब १२ करोड ४८ लाख ६९ हजार रुपैयाँ मागदावी सहित उजुरी दिएका हुन् । यो सङ्ख्या विभागले मिलापत्र गर्न नसकी प्रहरीकोमा पठाएको उजुरीको सङ्ख्या हो । यस बाहेक अन्य उजुरीहरूमा सहकारीका सञ्चालक र बचतकर्ताबिच मिलापत्र गराइएको विभागका विभागीय प्रमुख बलराम त्रिपाठीले जानकारी दिए ।
उनले भने, ‘बचतकर्ताहरूको उजुरी त धेरै मात्रामा आउने गर्छ । तर, धेरैजसो केशमा भने बचतकर्ता र सञ्चालकहरूलाई बोलाएर मिलापत्र गरेर पठाएका छौँ । मिलापत्र गर्न नसकेको उजुरीहरू प्रहरीकोमा पठाएका छौँ ।’
उनका अनुसार पछिल्लो समय सहकारी प्रति बजारमा देखिएको हल्लाका कारण पनि सहकारीमा झन् समस्या थपिँदै गएको छ । ‘बचतकर्ताहरूमा बचत सुरक्षाको डर बढ्यो । सहकारीले ठगेर भागे भन्ने हल्लाले राम्रोसँग चलिरहेका सहकारीप्रति समेत बचतकर्ताको विश्वास गुम्यो । यसले पनि समस्या बढ्दै गएको हो ।’
मुलुकमा देखिएको वित्तीय सङ्कट र आर्थिक मन्दीका कारण पनि सहकारीमा समय देखिएको उनको भनाई छ । उनी भन्छन्, ‘अहिले बजारमा देखिएको समस्या सहकारी क्षेत्रको मात्र होइन । वित्त प्रणाली नै मन्दी र सङ्कटमा छ । तरलता अभाव र लगानी नउठेका कारण पनि सहकारी क्षेत्र झन् समस्यामा परेको हो ।’
कतिपय सहकारीहरूले अनुत्पादन क्षेत्रमा लगानी गरेका कारण पनि समस्यामा परेको उनले बताए । ‘सहरकारीहरूले नियमभन्दा बाहिर रहेर घरजग्गा र शेयर बजारमा लगानी गरे । आर्थिक मन्दीका कारण अर्थतन्त्र चलायमान हुन सकेको छैन । घरजग्गाको कारोबार नभएका कारण पनि सहकारीले गरेको लगानी नउठ्दा बचत फिर्ता गर्न सकेनन् र समस्या देखा पर्यो’, उनले थपे ।
उजुरी परेका सहकारीमा धेरै जसो वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारीका साथै बहुउद्देश्यीय सहकारी पनि परेका छन् । एउटै सहकारी विरुद्ध करौडौं ठगीको उजुरी परेको विभागले जनाएको छ ।
हालसम्म विभागमा परेका उजुरीमा ६७ वटा सहकारीका उजुरी मिलापत्र गर्न नसकी थप कारबाही र बचत सुरक्षाका लागि प्रहरीकोमा पठाइएको विभागको भनाई छ । विभागका अनुसार बचत फिर्ताका लागि पेश भएका उजुरीमा करिब ८० वटा संस्थाका सदस्यहरुमा २५० जनाको बचत फिर्ता भएको छ । हाल ७ वटा संस्थाको बचत फिर्ताको कारवाही भइरहेको विभागले जनाएको छ ।
सहकारी विभागका अनुसार हालसम्म ५ वटा बहुउद्देश्यीय सहकारी विरुद्ध ५ करोड ८५ लाख ८५ हजार ३११ रुपैयाँको मागदावीसहित २३८ बचतकर्ताले उजुरी दिएका छन् । जसमा स्वर्ण पथ, किरणोदय, हितकोष, मध्यविन्दु र गरुण बहुउद्देश्यीय सहकारी संस्था रहेका छन्
यसैगरी, समयमा बचत फिर्ता गर्न नसकी कालोसूचीमा परेका तीन सहकारी विरुद्ध ४ करोड ३४ लाख ७८ हजार ३२२ रुपैयाँ बराबरको मागदावीसहित ९५ जनाको उजुरी परेको छ । यसरी कालोसूचीमा पर्ने सहकारीहरूमा माँ अम्बे बचत तथा ऋण सहकारी, पर्फेक्ट बचत तथा ऋण सहकारी र सम्वर्दन बचत तथा ऋण सहकारी रहेका छन् । कर्जा सूचना केन्द्रले उक्त सहकारीलाई कालोसूचीमा राखेको छ ।
उजुरी परेका उक्त सहकारीमा माँ अम्बे बचत तथा ऋण सहकारी विरुद्ध दश बचतकर्ताले ५७ लाख १४ हजार ७८७ रुपैयाँ बराबरको मागदावी परेको छ । त्यस्तै, पर्फेक्ट बचत तथा ऋण सहकारी विरुद्ध २५ बचतकर्ताको ३ करोड ९ लाख ७४ हजार ९६९ रुपैयाँ र सम्वर्दन बचत तथा ऋण सहकारी विरुद्ध ६० बचतकर्ताको ६७ लाख २८ हजार ५६६ रुपैयाँ मागदावीसहितको उजुरी परेको छ ।
विभागका अनुसार बहुउद्देश्यीय सहकारी बाहेक बचत तथा ऋणको कारोबार गर्ने ६२ सहकारी विरुद्ध २ हजार ४१५ बचतकर्ताले एक अर्ब ६ करोड ६२ लाख ८१ हजार रुपैयाँ बराबरको मागदावी सहित उजुरी दिएका छन् ।
उजुरी परेका सहकारीमा न्युज डेभलपमेन्ट बचत तथा ऋण सहकारी विरुद्ध एक बचतकर्ताको दुई लाख ८४ हजार रुपैयाँ बराबरको मागदावी परेको छ । त्यस्तै, अष्ट मङ्गल बचत तथा ऋण सहकारी विरुद्ध एक बचतकर्ताले २९ लाख ५० हजार रुपैयाँ, ढुकु पिकु सहकारी विरुद्ध ५० लाख रुपैयाँ, चाइना टाउन सहकारी विरुद्ध २ बचतकर्ताले १८ लाख ४७ हजार रुपैयाँ बराबरको मागदावी सहित उजुरी दिएका छन् ।
त्यस्तै, समुन्नत सहकारी विरुद्ध सात बचतकर्ताले एक करोड ५२ लाखको मागदावी गरेका छन् । विभागका अुसार विज्नेश बचत तथा ऋण सहकारी विरुद्ध १५ बचतकर्ताले २ करोड ५८ लाख ८० हजार रुपैयाँ, एल पी जी सहकारी विरुद्ध ८५ बचतकर्ताको ४३ लाख ८७ हजार ९८६ रुपैयाँ, लक्ष्मीबास सहकारी विरुद्ध ९ जनाको २० लाख ३४ हजार ७१७ रुपैयाँ, सूर्योदय ज्योतिविरुद्ध ४९ बचतकर्ताले १६ लाख ५१ हजार १२३ रुपैयाँ र स्वतन्त्र शान्ति सहकारीका ४७ जानले २ करोड ५८ लाख ९३ हजार १३३ रुपैयाँ मागदावीसहित उजुरी दिएका छन् ।
त्यस्तै, यस अवधिमा मानापाथी सहकारी विरुद्ध ४ करोड ५३ लाख ८६ हजार ४८० रुपैयाँ बराबरको मागदावी सहित ६९ जना बचतकर्ताको उजुरी परेको छ । ल्होत्से सहकारीका २३ जनाले ९१ लाख २४ हजार १२२ रुपैयाँ, सोसाइटी सहकारीका दुई बचतकर्ताले ५ लाख ९२ हजार ७९३ रुपैयाँ बराबरको मागदावी सहित विभागमा उजुरी दिएका छन् ।
विभागका अनुसार एउटै सहकारी विरुद्ध ३९ करोड ११ लाख ४१ हजार ३४० रुपैयाँ मागदावी सहित उजुरी परेको छ । गृहशान्ती बचत तथा ऋण सहकारी विरुद्ध उक्त रकम बराबरको मागदावीसहति उजुरी परेको हो ।