नेपाल राष्ट्र बैंकले धितो सुरक्षणको शर्त र सीमासम्बन्धी नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (तेस्रो संशोधन, २०८०), २०७६ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
धितो सुरक्षणको शर्त र सीमासम्बन्धी व्यवस्था
(क) दैनिक तरलता सुविधा उपयोग गर्नका लागि नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (दोस्रोसंशोधन, २०७९), २०७८ को विनियम २६ बमोजिमका सुरक्षणपत्र धितोमा राख्नु पर्नेछ र यस्ता सुरक्षणपत्रहरुको परिपक्व हुने अवधि रोक्का अवधिभन्दा पछाडि हुनुपर्नेछ । धितो राखिएका सुरक्षणपत्रको परिपक्व अवधिसम्बन्धीे जानकारी गराउने दायित्व संस्था स्वयंको हुनेछ ।
(ख) धितो राखिएको सुरक्षणपत्रको अधिकतम ९० प्रतिशतसम्म यस कार्यविधि बमोजिमका सुविधा उपलव्ध गराइनेछ ।
(ग) ओभरनाइट तरलता सुविधा उपयोग गरेबराबरको रकम बैंकको नियमानुसार कायम गर्नुपर्ने बैधानिक तरलता अनुपात (SLR) र खुद तरल सम्पत्ति अनुपातमा (Net Liquid Asset Ratio)मा गणना गर्न पाइने छैन ।
(घ) संस्थाले बुँदा नं. ६ (क) का आधारमा न्यूनतम तीन महिना अवधिका लागि दैनिक तरलता सुविधा सीमा लिनुपर्नेछ । यस्तो सुविधावापत धितो राखिएका सुरक्षणपत्र मौद्रिक व्यवस्थापन विभागको स्वीकृतिमा त्रैमासिक रुपमा परिवर्तन वा थपघट गर्न सकिने छ र सोहीअनुसार यस्तो सुविधाको नयाँ सीमा कायम हुनेछ ।
(ङ) दैनिक तरलता सुविधाको सीमा वृद्धि गर्नु परेमा थप सुरक्षणपत्रको सक्कलै प्रति (ब्याज भुक्तानी पुर्जा संलग्न भएका सुरक्षणपत्रको हकमा सो समेत) मौद्रिक व्यवस्थापन विभागमा पेश गर्नु पर्नेछ र सोहीबमोजिम पुनः नयाँ सीमा कायम गरिने छ ।
(च) दैनिक तरलता सुविधा सम्झौताअन्तर्गत धितो राखिएका सुरक्षणपत्रको संस्थाले समेत छुट्टै अभिलेख राख्नु पर्नेछ । मौद्रिक व्यवस्थापन विभागले आवश्यकताअनुसार त्यस्तो अभिलेख निरीक्षण गर्न सक्नेछ ।
(छ) उपत्यका बाहिरका संस्थाले धितो राख्नुपर्ने सुरक्षणपत्रको सक्कलै प्रति यस बैंकको नजिकको कार्यालयमा पेश गर्नुपर्नेछ । कार्यालयले मौद्रिक व्यवस्थापन विभागलाई सोको जानकारी गराई उक्त विभागले सम्बन्धित संस्थाको सीमा कायम गरिदिनुपर्नेछ ।
(ज) दैनिक तरलता सुविधावापत धितो रहेका सुरक्षणपत्रहरु खुलाबजार कारोबार, अन्तरबैंक सापटी लगायत अन्य कुनै पनि प्रयोजनमा दोहोरो धितोको रुपमा एकैसाथ प्रयोग गर्न वा बिक्री गर्न पाइने छैन ।