जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • दशैंमा बसको अग्रिम टिकट बुकिङ मोबाइलबाटै

दशैंमा बसको अग्रिम टिकट बुकिङ मोबाइलबाटै

नजिकिंदै गरेको वडा दशैंलाई लक्षित गरी सरकारले अग्रिम बुकिङ खुलाउने तयारी गरेको छ । यसका लागि एक चरण सरकार र यातायात व्यवसायीबीच छलफल समेत भइसकेको छ ।

अग्रिम बुकिङ खुलेसँगै हरेक वर्ष बसपार्कमा ठूलो भीड लाग्छ । टिकट लिन तँछाडमछाड चल्छ । तर, तपाईं प्रविधिमा अभ्यस्त हुनुहुन्छ भने अब टिकट काट्न बसपार्कमै भीडभाड गर्नु पर्दैन ।

 

अहिले विभिन्न अनलाइन माध्यमहरु बसको टिकट अग्रिम बुकिङ गर्न सञ्चालनमा छन् । जसको माध्यमबाट सजिलै आफ्नो गन्तव्यसम्मको बसको टिकट घर बसीबसी आफ्नै मोबाइलबाट बुकिङ गर्न सकिन्छ ।

नेपालमा अहिले सबैभन्दा ठूलो सञ्जाल बनाइसकेको अनलाइन माध्यम ‘बस सेवा’ले ६० भन्दा बढी जिल्लामा जाने गरी अनलाइन टिकट काट्ने सुविधा उपलब्ध गराएको छ ।

Suzuki Dashain Offer

बस सेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार देशभरका ३ सय भन्दा बढी बस व्यवसायी कम्पनीसँग बस सेवाले सहकार्यको सम्झौता गरिसकेको छ । सोही अनुसार निर्धारित रुटमा अनलाइनबाटै टिकट बुकिङ गर्न सकिन्छ ।

यसका लागि बससेवाले ई–सेवा, खल्ती, फोन–पे, आईएमई–पे, माइ–मे, कनेक्ट आईपीएससहितका भुक्तानी सेवा प्रदायक कम्पनीसँग सम्झौता गरेको छ । अर्थात् ती माध्यमबाट यात्रुले बसको टिकट पैसा तिर्न सक्छन् ।

दैनिक दुईतर्फी ३५ हजार सिट अनलाइनमा उपलब्ध हुने

बससेवाले मात्र दशैंमा दैनिक दुईतर्फी ३५ हजार वटा सिट अनलाइनबाट बुकिङ गर्न सकिने गरी व्यवस्था गर्न लागेको सीईओ खनालले जानकारी दिए ।

खनालका अनुसार अग्रिम बुकिङका लागि भने सरकारले अग्रिम बुकिङ खुलाएकै मितिदेखि मात्र अनलाइनमा पनि बुकिङ गर्न सकिन्छ । अनलाइनबाट टिकट बुक गर्दा यात्रु स्वयंले सिट हेरेर छान्न पाउने भएकाले सिट फरक पर्ने सम्भावना नहुने खनालले बताए ।

‘अनलाइनबाट सिट बुक गर्दा उपलब्ध सिट मात्र बुकिङ गर्न मिल्छ,’ उनले भने । यसले चाडबाडको समयमा यात्रु र बस स्टाफबीच हुने लफडा कम गर्न समेत सहयोग गर्ने खनालको भनाइ छ ।

टुरिस्ट बसको टिकट मोवाइल एपबाटै

उता, सामान्य बस भन्दा केही आरामदायी बसको यात्रा गर्न चाहने यात्रुले पर्यटक बसमा यात्रा गर्न सक्छन् । पर्यटक बसको टिकट समेत अब यात्रुले आफ्नो मोबाइल एपबाटै लिन सक्छन् । टुरिस्ट बस एसोसिएसन अफ नेपालले मोबाइल एप बनाएको छ ।

‘टुरिस्ट बस नेपाल’ नामक एप डाउनलोड गरी यात्रुले अब पर्यटक बस चल्ने गन्तव्यका लागि सजिलै टिकट बुक गर्न सक्ने एसोसिएसनका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार अहिले काठमाडौंबाट पोखरा, लुम्बिनी, जनकपुर र चितवनका लागि टुरिस्ट बस चल्ने गर्छन् । यी गन्तव्यमा सुविधा अनुसार विभिन्न तीन प्रकारका बस चल्छन् । यात्रुले ती बसमा मोबाइल एपबाटै टिकट लिन सक्ने आचार्यले जानकारी दिए ।

अहिले देशभर ४५ वटा कम्पनी टुरिस्ट बस सञ्चालनका लागि दर्ता भएका छन् । त्यसमध्ये ३२ वटा कम्पनीसँग ‘वान–वे’ ५० वटा बस सञ्चालनमा छन् । टुरिस्ट बसमा यात्रा गर्न चाहने यात्रुले दशैंसम्मका लागि समेत मंगलबारदेखि नै टिकट बुकिङ गर्न सक्ने आचार्यले जानकारी दिए ।

‘टुरिस्ट बसमा अग्रिम बुकिङका लागि सरकारको घोषणा पर्खनु पर्दैन,’ अध्यक्ष आचार्यले भने, ‘हाम्रोमा मंगलबारदेखि नै टिकट बुकिङ गर्न सकिन्छ ।’

टुरिस्ट बस एसोसिएनले भुक्तानीका लागि खल्तीसँग सम्झौता गरेको छ । सोहीकारण खल्ती एपबाट समेत टुरिस्ट बसको टिकट काट्न सकिन्छ । यसबाहेक प्रभु पेबाट समेत टुरिस्ट बसको भुक्तानी गर्न सकिने आचार्यले जानकारी दिए ।

कहिले खुल्छ अग्रिम बुकिङ ?

यातायात व्यवस्था विभागका अनुसार अहिले सरोकारवालासँग छलफल चलिरहेको छ । त्यसपछि अग्रिम बुकिङ खुलाउनेबारे निर्णय हुनेछ ।

विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरुले सरोकारवालासँग छलफल भइरहेको भन्दै अग्रिम बुकिङ खुलाउने मिति निश्चित भइनसकेको जानकारी दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले देशभरको सडकको भद्रगोल अवस्थालाई व्यवस्थापन नगरी अग्रिम बुकिङ खुलाउन नसकिने जानकारी सरकारलाई गराइएको बताउँछन् । अघिल्लो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा व्यवसायीले कम्तिमा मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक खण्ड बीना अवरोध सञ्चालन हुन सक्ने गरी छिटो निर्माण सक्न माग गरिएको उनले बताए ।

‘हामीले अग्रिम बुकिङ लिने तर त्यही सडकका कारण गाडी समयमा आउन सकेन भने गाली हामीले खान्छौं,’ उनले भने, यो समस्यामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छौं ।’

यसबाहेक भाडा समायोजनको विषय समेत व्यवसायीले राखेको उनले जानकारी दिए । २०७८ सालमै निर्णय भएको भाडा कार्यान्वयन गर्न अहिले पनि आलटाल भइरहेको छ, यसलाई पनि कार्यान्वयनमा लैजाऔं भन्ने हाम्रो माग छ । ‘यो सम्बोधन हुनासाथ अग्रिम बुकिङ खुल्छ’, उनले भने ।

1820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका