बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) अधिक देखिएको छ। अर्थतन्त्रमा देखिएको शिथिलताले उद्योग व्यवसायको उत्पादन क्षमता घटेको छ। जसका कारण कर्जाको मागमा संकुचन आएको हो।
कर्जाको मागमा संकुचन आउँदा बैंकहरुमा तरलता थुप्रिनु स्वाभाविक नै हो। केही बैंक तथा वित्तीय संस्थालाई पुँजीकोषको दबाब हुँदा चाहेर पनि कर्जा बढाउन नसक्ने अवस्था छ। तर, अधिकांश बैंकको लगानी क्षमता हुँदाहुँदै माग बढ्न नसकेर कर्जा नगएको बताउँदै आएका छन्।
निक्षेप थपिँदा कर्जाको माग नहुँदा पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। फागुनमा पनि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाउने भएका छन्। पैसा थुप्रिएको बेला कर्जाको माग बढ्न नसक्दा अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाउने भएका हुन्।
तर, केही बैंकहरुले भने यसअघि नै निक्षेपको ब्याजदर धेरै नै घटाएको बताउँदै फागुनमा स्थिर राख्ने बताएका छन्।
२०८० पुसको तुलनामा माघमा एभरेष्ट बैंक र एनएमबी बैंकले निक्षेपको ब्याजदर स्थिर नै राखेका छन्। सोही अवधिमा सरकारी स्वामित्वका लगायत केही बैंकले मुद्दती निक्षेपको ब्याजदर उच्च दरले घटाएका थिए। जसकारण केही बैंकले फागुनमा निक्षेपको ब्याजदर नघटाउने भएका हुन्।
माघमा वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ८.१६७ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको औसत ६.१३ प्रतिशतमा छ। फागुनमा अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाउँदा औसत दर घट्ने देखिन्छ। निक्षेपको ब्याजदर घट्दा बैंकहरूको पुँजी स्रोतको लागतसमेत घट्नेछ।
यसले बैंकहरूको आधार दर समेत घट्न सहयोग पुग्ने हुन्छ। जसको कारण बैंकहरुको आधार दर (बेसरेट) घटेर कर्जा सस्तिन जान्छ।
बैंकहरूले विगत तीन महिनाको मासिक आधार दरको आधारमा औसत आधार दर निकाल्छन्। यसरी निस्कने आधार दर नै कर्जामा लागू हुन्छ। यद्यपि, बैंकहरुको निक्षेपको घट्दो ब्याजदरले आगामी समयमा कर्जाको समेत ब्याजदर घट्ने देखिएको छ।