जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • ५६औँ वर्षमा बीमा प्राधिकरणः समृद्धिको यात्रामा प्राधिकरणको भूमिका रहिरहने अध्यक्षको प्रतिवद्दता

५६औँ वर्षमा बीमा प्राधिकरणः समृद्धिको यात्रामा प्राधिकरणको भूमिका रहिरहने अध्यक्षको प्रतिवद्दता

नेपाल बीमा प्राधिकरण ५६अ‍ैँ वर्षमा लागेको छ । २०२६ सालमा स्थापना भएको तत्कालिन बीमा समिति (बर्तमान बीमा प्राधिकरण) आज ५५ वर्ष पुरा भएर ५६ वर्षमा लागेको छ ।

५६औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अर्थतन्त्रको विकासमा प्राधिकरणको भुमिका निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले वार्षिकोत्सवको शुवकामना सन्देश जारी गर्दे समग्र बीमा क्षेत्रमा सुशासन कायम गर्दै अर्थतन्त्रको विकास र समृद्धिमा प्राधिकरणको भूमिका निरन्तर रहिरहने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

अध्यक्ष सिलवालको शुवकामना सन्देशः

नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण मिति २०८१ साल जेठ १ गतेदेखि आफ्नो स्थापनको ५५औं वर्ष पूरा गरी ५६ औं वर्षमा प्रवेश गरेको सुखद् अवसरमा प्राधिकरणका संचालकज्यूहरू, कार्यकारी निर्देशक लगायत कर्मचारीहरू, बीमित, बीमक, बीमा मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक संस्थाहरु तथा बीमा क्षेत्रसँग सम्बद्ध सबै सरोकारवालाहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

मानव जीवन, सम्पत्ति एवं दायित्वमा आउनसक्ने जोखिम विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्ने सबल एवम् विश्वासिलो वित्तीय उपकरणका रूपमा रहेको बीमालाई अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाउँदै विपन्न एवं न्यून आय तथा सीमान्तकृत वर्गसम्म पुऱ्याउन प्राधिकरणले महत्वूर्ण भूमिका निर्वाह गर्दै आएको व्यहोरा सर्वविदितै छ । नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, बीमा कम्पनीहरु एवं सम्पूर्ण सरोकारवालाहरुको संयुक्त प्रयासबाट आर्थिक बर्ष २०८०/०८१ को तेस्रो त्रैमासिकसम्ममा बीमाको पहुँच ४३ प्रतिशतभन्दा बढी जनतामा पुग्न सफल भएको छ भने आगामी दिनमा यो प्रतिशत अझै बढ्दै जाने प्राधिकरणको विश्वास रहेको छ ।

बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशबाट सिर्जित चुनौतीहरुको सामना गर्दै प्राप्त अवसरहरूबाट उच्चतम लाभ हासिल गर्न, गुणस्तरीय बीमा सेवा मार्फत बीमा क्षेत्रप्रति आम नागरिकको विश्वसनीयता अभिवृद्धि गर्न, बीमा क्षेत्रका विद्यमान समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्दै राष्ट्रिय अर्थतन्त्रमा बीमा क्षेत्रको योगदानमा अभिवृद्धि गर्न हालै मात्र राष्ट्रिय बीमा नीति स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ । बीमा नीतिले परिकल्पना गरेको सहज, पहुँचयुक्त, विश्वसनीय, सुदृढ र गुणस्तरीय बीमा सेवाको विकास गर्न सरोकारवालाहरुको साथ र सहयोगको अपेक्षा गर्दछु ।

बीमकहरुको जोखिम बहन क्षमता बढाउन, पूँजीगत आधार बलियो बनाउन, संस्थागत सुशासन कायम गरी बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी एवम् प्रतिस्पर्धी बनाउन र बीमितको जीवन तथा सम्पत्तिको आर्थिक सुरक्षालाई प्रभावकारी बनाउन चुक्ता पूँजी वृद्धि गर्ने प्राधिकरणको निर्णयले बीमा कम्पनीहरु मर्जर तथा प्राप्ति हुने अभियानले बीमकहरुलाई थप सशक्त बनाएको छ । साथै, बीमा क्षेत्रको लगानीयोग्य रकम मूलुकको सर्वपक्षिय विकासका कामहरुमा लगानी गर्न, विदेशी मुद्राको बर्हिगमन रोक्न तथा पुनर्बीमकहरुको पूँजीगत आधार बलियो बनाई वित्तीय अवस्थालाई सशक्त तुल्याउन पुनर्बीमकहरुको समेत पूँजी वृद्धि गर्ने नीति अख्तियार गरिएको छ ।

बीमा क्षेत्रको विकाससँगै स्थानीय तहसम्म बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न, न्यून आय भएका विपन्न वर्गसम्म बीमाको पहुँच पुऱ्याउन, समयमै बीमा दाबी भुक्तानी गर्ने व्यवस्था गरी बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी घर लगायतका सम्पत्तिको बीमालाई प्रभावकारी बनाउन र लघुबीमा प्रवर्द्धन गर्न प्राधिकरण निरन्तर लागिरहेको छ ।

अन्त्यमा, बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन तथा बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय र भरपर्दो बीमा सेवा उपलब्ध गराउन एवं बीमा व्यवसायको प्रभावकारी नियमन गरी बीमितको हक हित संरक्षण गर्ने उद्देश्यले स्थापित प्राधिकरणको ५६ औ वार्षिकोत्सवका अवसरमा बीमा क्षेत्रको समग्र विकास एवम् विस्तार मार्फत आगामी दिनहरुमा वित्तीय क्षेत्रमा बीमा क्षेत्रलाई अग्रस्थानमा पुऱ्याउने गरी आ-आफ्ना क्षेत्रबाट योगदान पुऱ्याउन सरोकारवाला सबैमा आग्रह गर्दै समग्र बीमा क्षेत्रमा सुशासन कायम गर्दै अर्थतन्त्रको विकास र समृद्धिमा प्राधिकरणको भूमिका निरन्तर रहिरहने प्रतिवद्धता व्यक्त गर्दछु ।

260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका