जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नेपालका बैंक र सहकारीको अवस्थाप्रति अन्तरराष्ट्रिय मुद्रा कोषको चिन्ता 

नेपालका बैंक र सहकारीको अवस्थाप्रति अन्तरराष्ट्रिय मुद्रा कोषको चिन्ता 

बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष IMFले नेपालको अर्थतन्त्रले अझै चुनौतीहरूको सामना गरिरहेको उल्लेख गरेको छ ।

आईएमएफका ईसीएफ मिसन प्रमुख टिडियन किन्डाको नेतृत्वमा नेपाल आएको आईएमएफ टोलीले नेपालले गरेका सुधारका प्रयास सकारात्मक भए पनि अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरेको छ ।

शुक्रबार जारी विज्ञप्तिमा समयमै चालिएका नीतिगत कदम, वस्तु मूल्यमा नियन्त्रण र कमजोर घरेलु मागले मुद्रास्फीति नियन्त्रण गर्न सहयोग पुगेको उल्लेख छ ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा राजस्व संकलन कोभिड अगाडिको भन्दा अझै पनि न्यून रहेका कारण यसले विकास खर्च, पूर्वाधार विकास र लक्षित सामाजिक विकासमा भने बाधा पुग्ने विज्ञप्तिमा उल्लेख छ।

साथै उसले बैंकहरूको निष्क्रिय कर्जा दोब्बरले बढेर ४ प्रतिशत पुग्नु र सहकारी संस्थाको बिग्रिंदो वित्तीय अवस्था चिन्ताको विषय बनेको पनि उल्लेख गरेको छ । सहकारी समस्या समाधान गर्न नीतिगत पहल शुरु भएको र त्यसलाई आफूले सकारात्मक कदम मानेको पनि उसले बताएको छ । वाह्य क्षेत्रमा देखिएको सुधारले आर्थिक विस्तारमा सहयोग पुग्ने आधार बनेको उसको भनाइ छ ।

‘विशेषगरी ऊर्जा क्षेत्रमा रणनीतिक लगानी, पूँजीगत खर्चमा वृद्धिले घरेलु माग बढाउने र मुद्रास्फीति लक्ष्य सीमा ५.५ प्रतिशतभित्र रहने अपेक्षा छ’, आईएमएफले भनेको छ ।

नेपालको वित्तीय प्रणालीलाई बलियो बनाउन १० ठूला वाणिज्य बैंकको कर्जा फोर्टफोलियो रिभ्यु शुरु हुनु, नेपाल राष्ट्र बैंक ऐनमा संशोधन, नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०२३/२४ को वित्तीय विवरण अन्तरराष्ट्रिय लेखापरीक्षकबाट परीक्षण गर्नेजस्ता विषय सकारात्मक रहेको उसको भनाइ छ । साथै उसले नेपालले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण संरचना बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको पनि उल्लेख गरेको छ ।

आईएमएफको टोलिले बिहीबार मात्रै अर्थमन्त्री बर्षमान पुनलाई भेटेर नेपाललाई दिने विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ताबापत ४ करोड २० लाख अमेरिकी डलर अर्थात ५ अर्ब ५९ करोड रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको थियो ।

150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?