जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • स्टार्टअपले सहुलियत कर्जा राष्ट्रिय वाणिज्य बैंकको यी शाखाबाट पाउने

स्टार्टअपले सहुलियत कर्जा राष्ट्रिय वाणिज्य बैंकको यी शाखाबाट पाउने

स्टार्टअप उद्यम कर्जाका लागि सिफारिस गरिएका परियोजनालाई कर्जा लिनका लागि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय तोकिएको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि सिफारिसमा परेका १८३ वटा परियोजनालाई कर्जा लिनका लागि सम्बन्धित जिल्लाको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय तोकेको हो ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम अन्तर्गत उद्यम कर्जा प्रवाह गर्न १८३ वटा परियोजनाको प्रस्ताव छनोट गरेको छ । छनोटमा परेका परियोजनाले तीन प्रतिशत ब्याजमा पाँचदेखि २० लाख रुपियाँसम्म कर्जा प्राप्त गर्ने छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८०’ मार्फत एक जनालाई तीन प्रतिशत ब्याजमा अधिकतम २५ लाख रुपियाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ ।

बैंकले कर्जा प्रवाह गर्दा बढीमा ५ लाखसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाखसम्मको कर्जा दुई किस्ता र त्यसभन्दा माथिको कर्जा तीन किस्तामा प्रवाह गर्ने कार्यविधिमा उल्लेख छ । कर्जाको सुरक्षणका लागि प्रतिष्ठानले प्रवाहित कर्जाको २५ प्रतिशत रकम स्वीकृत बजेटको सीमाभित्र रही स्टार्टअप उद्यम कर्जा सुरक्षण कोषमा राख्नुपर्ने व्यवस्था रहेको छ । योग्य प्रस्तावकको सूचीमा परेको ३९४ वटा परियोजना प्रस्तावमध्ये सबै प्रक्रिया पूरा गरी १८३ वटा परियोजनाको प्रस्ताव उद्यम कर्जाका लागि छनोटमा परेको हो ।

प्रतिष्ठानका अनुसार स्टार्टअप उद्यम कर्जाका लागि १ हजार ६५८ वटा आवेदन परेका थिए । यसमध्ये मूल्याङ्कन समितिले सबै प्रक्रिया पुगेका ३९४ परियोजनालाई छनोट गरेको हो । कर्जाका लागि छनोट भएका परियोजना प्रस्तावकलाई आगामी असार २३ गतेसम्म सम्बन्धित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न प्रतिष्ठानले प्रकाशित गरेको सूचनामा उल्लेख छ । उक्त अवधिमा सम्पर्क नगरेको अवस्थामा परियोजनाको प्रस्ताव स्वतः खारेज हुने छ ।

उद्यम कर्जाका लागि कृषि, हाते कागज, बेकरी, फुटवेयर, डेरी, ड्राई क्लिनर्स, टेक्नोलोजी, स्लेट र ढुङ्गा काट्ने, रेडिमेड, हस्तकला तथा गार्मेन्ट, मेटल, टुरिजम, पशुपन्छीपालन, फर्निचरलगायतका विषयमा परियोजना प्रस्ताव स्वीकृत भएको छ ।

स्टार्टअप कर्जा पाउनेमा सबैभन्दा बढी ४७ प्रतिशत वाग्मतीका छन् । साथै सुदूरपश्चिमका १४ र कर्णालीका ११ प्रतिशत उद्यमी छन् । लुम्बिनीका ७.५, गण्डकीका ५.५ र मधेशका ६ प्रतिशत उद्यमी छन् ।उद्यमीले अब कर्जाका लागि आवश्यक कागजातसहित कार्यालयमा जान सक्नेछन्।

स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच गत माघ २४ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?