जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • कृषि विकास सहकारीका अध्यक्ष तेजबिक्रम : प्रहरी छल्न नाम फेरे, घर छाडेर डेरामा लुके

कृषि विकास सहकारीका अध्यक्ष तेजबिक्रम : प्रहरी छल्न नाम फेरे, घर छाडेर डेरामा लुके

करिब ३ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पक्राउ गरेका चार जनालाई आइतबार सार्वजनिक गरेको छ । जसमा तनहुँको ब्यास नगरपालिका–११ घर भई काठमाडौंको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजबिक्रम थापा, उनकी श्रीमती सजना राजकर्णिकार, सहकारीका सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटा छन् ।

पक्राउ परेका चारै जनालाई आइतबार नै सहकारी ठगीको कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तेजबिक्रम अध्यक्ष र उनकी पत्नी सजना व्यवस्थापकको जिम्मेवारीमा थिए । सहकारीका ५६६ जना बचतकर्ताले आफूहरुको ९४ करोड २१ लाख ४२ हजार रुपैयाँ वचत फिर्ता नगरेको भन्दै ठगीमा उजुरी दिएका थिए ।

रकम अपचलन भएको पाइएपछि सहकारी विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई २५ असोजमा पत्राचार गर्दै कारबाही गर्न भनेको थियो ।

उक्त सहकारीको कार्यालय ललितपुरमा रहेको भन्दै सीआईबीले २६ मंसिर जिल्ला प्रहरी परिसर ललितपुरलाई अनुसन्धान अघि बढाउन पत्राचार गरेको थियो ।

अध्यक्ष तेजबिक्रम थापासहित १३ जनाविरुद्ध १९ पुस २०८० मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो । तीमध्ये चार जना पक्राउ परेका हुन् ।

पक्राउ पुर्जी जारी भएकामध्ये एक जनाको मृत्यु भइसकेको, एक जना मृगौलाको गम्भीर बिरामी भई उपचार गराइरहेका र अरु फरार रहेको पाइएको प्रहरीको भनाइ छ ।

‘आकर्षक व्याज दिने लोभ र विश्वास दिलाएर बचत संकलन गर्ने गरेको देखिन्छ’, अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले भने, ‘बचतकर्ताको रकमबाट सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्‍याइ बचतकर्ताहरुको निक्षेप अपचलन गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो ।’

सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले यो सहकारीलाई २६ माघ २०८० मा समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय पठाएको थियो ।

सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार अनलाइन मागदाबी पेश गर्न जारी गरेको सूचना अनुसार २ हजार ५३१ जना बचकर्ताबाट २ अर्ब ८२ करोड २७ लाख ८८ हजार रुपैयाँको मागदाबी परेको छ ।

सहकारी विभागले उक्त सहकारी समस्याग्रस्त घोषणा हुनुअघि २५ असोज २०८० मा संस्थाका सञ्चालक र व्यवस्थापकको सम्पत्ति र बैंक खाता रोक्का गर्न पत्राचार गरेको थियो ।

पक्राउबाट उम्कन थापा बनेका थिए राज ठकुरी

संस्थाका अध्यक्ष थापा हुलिया परिवर्तन गरेर लुक्दै आएको खुलेको छ । वास्तविक नाम तेजबिक्रम थापा भए पनि उनी राज ठकुरीको नामबाट परिचयपत्र बनाएर प्रयोग गर्दै आएको खुलेको छ ।

उनले राज ठकुरीमा नाममा गोर्खा टिभीको आईडी कार्ड बोने गरेको पाइएको छ ।

पक्राउ पुर्जी जारी भएपछि उनी झापा, चितवनमा समेत केही समय लुकेर बसेको प्रहरीले फेला पारेको छ । गोकर्णेश्वर नगरपालिका–७ मा आफ्नो घर भए पनि पछिल्लो समय भने गोकर्णेश्वरमै फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए ।

प्रहरीले उनी र उनका श्रीमती सजना र सञ्जयलाई भाडाको फ्ल्याटबाट पक्राउ गरेको हो । ‘आफ्नो घर भाडामा दिएर परिचय बदलेर भाडाको फ्ल्याटमा बसेको अवस्थामा फ्ल्याटबाटै पक्राउ गरिएको हो’, महाशाखाका प्रमुख एसएसपी भट्टराईले भने ।

सहकारीको रकम टिभीदेखि अस्पतालसम्म

थापाले सहकारीको रकम लगेर टिभी खोल्नेदेखि मार्ट र अस्पतालसम्म लगानी गरेको पाइएको छ । थापाले २०५६ सालमा कृषि विकास सहकारी संस्थाको चिफ अकाउन्टेन्ट भएर काम गरेका थिए ।

२०६० सालमा भने उनी सहकारीको कार्यकारी अध्यक्ष पदमा निुयक्त भएका थिए । त्यसपछि उनले बचतकर्ताको रकम हिनामिना गर्न सुरु गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

उनी २०७१ सालमा खुलेको कृषि टेलिभिजनको अध्यक्ष बने । त्यसको २ वर्षपछि २०७३ सालमा उनीसमेतको लगानीमा गोर्खा टेलिभिजन सञ्चालनमा आयो । पछिल्लो समय उनले गोर्खा टिभीकै आईडी कार्ड प्रयोग गरिरहेका थिए ।

२०६६ सालमा भक्तपुरको लोन्थलीमा खुलेको समिट अस्पतालको अध्यक्ष पनि थापा नै छन् । यो अस्पताल पनि सहकारीकै रकम अपचलनबाट खुलेको प्रहरीको दाबी छ ।

२०७१ सालमै उनी इन्टेन्सिभ एग्रिकल्चर कम्पनी प्रालि ललितपुरका अध्यक्ष बनेका थिए । २०७४ मा यति हब्र्स प्रालिको अध्यक्ष बने । थापाले कृषि इन्भेस्टमेन्ट प्रालिको नाममा काठमाडौं उपत्यकाका १४ ठाउँमा मार्ट समेत खोलेको पाइएको छ ।

थापाकी श्रीमती सजना २०५८ सालदेखि नै उक्त सहकारीमा आबद्ध थिइन् । उनी सुरुमा मार्केटिङको काम गर्थिन् । २०६२ सालदेखि भने सहकारीको प्रशासन प्रमुख भए काम गरेकी थिइन् ।

थापाविरुद्ध पौन ३ करोडको बैंकिङ कसुर मुद्दा

थापा पक्राउ परेपछि उनको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गर्दा बैंकिङ कसुरको मुद्दा पनि रहेको फेला परेको एसएपी भट्टराईले बताए ।

थापाविरुद्ध ८ चैत २०७९ मा जिल्ला प्रहरी परिसर काठमाडौंमा २६ लाख ६६ हजार ६६६ रुपैयाँको बैंकिङ कसुर मुद्दामा कारबाही भएको पाइएको छ । त्यसैगरी परिसरमै २९ वैशाख २०८० सोही बराबर २६ लाख ६६ हजार ६६६ को बैंकिङ कसुरको दोस्रो मुद्दामा पनि कारबाही भएको सीआरएसमा भेटिएको छ ।

बाँकी तीन वटा बैंकिङ कसुरको मुद्दामा भने उनी फरार प्रतिवादी हुन् । परिसर काठमाडौंमै उनीविरुद्ध २३ साउन २०८० मा २६ लाख ६६ हजार ६६६ रुपैयाँको बैंकिङ कसुरको जाहेरी परेको थियो । उक्त मुद्दामा उनी फरार छन् ।

२३ माघ २०८० मा जिल्ला प्रहरी परिसर ललितपुरमा ९५ लाख र २४ वैशाख २०८१ मा परिसर ललितपुरमै ९५ लाखको अर्को जाहेरी परेको खुलेको छ ।

120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?