जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • ६६.३ मेगावाटको मध्य कालीगण्डकी हाइड्रोमा आधा दर्जन बैंकको लगानी

६६.३ मेगावाटको मध्य कालीगण्डकी हाइड्रोमा आधा दर्जन बैंकको लगानी

आईएमई समूहको कम्पनी हाइड्रो सपोर्ट प्रालिमार्फत् म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हाइड्रो सपोर्ट प्रालिका तर्फबाट आईएमई समुहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकका तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

सहवित्तीयकरणका बैंकहरूको अगुवाइ नबिल बैक लिमिटेडले गरेको छ भने अन्य सहभागी बैकहरूमा एभरेष्ट बैक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैक लिमिटेड रहेका छन् ।

निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपूँजी (इक्विटी) बाट जुटाइएको छ । इक्विटीमा आईएमई समूह र सर्वसाधारणको लगानी रहनेछ ।

सहवित्तीयकरणका बैंकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । कुल ऋणमध्ये नबिल बैंकको ३ अर्ब १२ करोड, एभरेष्ट बैक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंक प्रत्येकले २ अर्ब र नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक र प्रभु बैक, प्रत्येकले १ अर्ब रुपैयाँ लगानी रहने छ ।

मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण सन् २०२४ बाट सुरु भई ४ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत प्रधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी हुने र वर्षामा २७७ गिगावाटबाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी भई वार्षिक कुल ४०७ गिगावाट विद्युत उत्पादनबाट २ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुने छ ।

हाल आयोजना निर्माण तयारीका कामहरू भइरहेका छन् । आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो परियोजनाको काम तीन वर्ष सकिने र सँगै ८८ मेगावाटको क्यासकेट परियोजना बन्ने बताए । उनले क्यासकेट परियोजनाका लागि २ वर्ष समय लाग्ने बताए ।

85
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका