जोडिनुहोस
सोमवार, असार १७, २०८१
सोमवार, असार १७, २०८१
  • होमपेज
  • अधिक तरलता हुँदा पनि बैंकहरूले किन दीर्घकालीन निक्षेप उठाउन चाहिरहेका छन् ?

अधिक तरलता हुँदा पनि बैंकहरूले किन दीर्घकालीन निक्षेप उठाउन चाहिरहेका छन् ?

निक्षेप वृद्धि अनुसार लगानी विस्तार नहुँदा बैंकिङ प्रणालीमा ६ खर्ब २४ अर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएका बेला बैंकहरू लामो अवधिको निक्षेप बढाउने रणनीतिमा लागेका छन्।

जेठ लागेपछि वासलात राम्रो बनाउन कर्जा ठप्प गरी असुलीमा केन्द्रित भएका बैंकहरू छोटो अवधिको मुद्दती निक्षेपको लागत घटाएर लामो अवधिको निक्षेप बढाउने रणनीतिमा लागेका हुन्।

आर्थिक वर्ष सकिन लागेर सरकारी खर्च बढेकाले बैंकिङ प्रणालीमा निक्षेप अझै बढ्ने देखिन्छ। पर्याप्त तरलताका बाबजुद कर्जा विस्तारको सम्भावना न्यून रहेकाले बैंकहरूले छोटो अवधिको मुद्दती निक्षेपको लागत घटाउन चाहेका छन्।

यसका लागि उनीहरूले एक वर्षभन्दा कम अवधिकाे निक्षेपकाे ब्याजदर अझै घटाउन खोजिरहेका छन्। पछिल्लो ४ महिनामा लामो अवधिको मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.३४ प्रतिशत मात्रै घटेको छ। यसले बैंकहरू २ वर्षभन्दा बढी अवधिकाे मुद्दती निक्षेपको ब्याजदर भने घटाउने पक्षमा नरहेकाे देखाउँछ।

असार १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरूले सार्वजनिक गरेकाे ब्याजदर अनुसार मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर हिमालयन बैंकले दिइरहेकाे छ।

५ वर्षभन्दा बढी अवधिको मुद्दतीमा ८.२५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर कायम गरेको बैंकले छाेटाे अवधि अर्थात ६ महिनासम्मकाे मुद्दती निक्षेपमा साढे ४ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ।

१ वर्ष अवधिकाे मुद्दती निक्षेपको ब्याजदर साधारण बचतकाे नजिक आएकामा बैंकहरू लामाे अवधिकाे निक्षेपकाे ब्याजदर थप घटाउने पक्षमा छैनन्। लामो अवधिको निक्षेप बढाउने बैंकहरूको रणनीति छ।

बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छे बैंकका सीइओ सन्तोष कोइराला लामो अवधिको निक्षेपको ब्याजदर ७/८ प्रतिशतमा झरेको अवस्थामा बैंकहरूले यस्तो निक्षेपमा आाखा लगाउनुलाई स्वाभाविक भन्छन्।

‘पछिल्लो पाँच वर्षमा लामो अवधिका लागि लिएको निक्षेपको औसत ब्याजदर ९/१० प्रतिशतभन्दा बढी छ,’ उनले भने, ‘अहिले लामो अवधिको निक्षेपको ब्याजदर ७/८ प्रतिशतमा आएकाे छ। सस्ताे रेटमा जसले लामाे अवधिका लागि पैसा लिन सक्यो उसले जित्छ।’

अहिले ७/८ प्रतिशतमा निक्षेप उठाउन सके भविष्यमा १० प्रतिशतमा लगानी गर्न सकिने बैंकरहरूको बुझाइ छ। ऋण छोटो समयका लागि प्रवाह हुँदैन। त्यसैले ब्याजदर घटेका बेला लामो अवधिको निक्षेपमा बैंकहरूको ध्यान गएको हो।

‘सर्ट टर्ममा कर्जा विस्तार हुने सम्भावना कम हुने हुँदा सस्तो रेटमा लङ टर्मको निक्षेप लिएर दीर्घकालीन लगानीको योजना बनाउन सहयाेग पुग्छ,’ काेइरालाले भने, ‘सस्तो ब्याजदरमा लामो अवधिको कर्जा नउठाउने हो भने व्यवसाय गर्न गाह्रो हुन्छ। त्यसैले अहिले घटेको ब्याजदरमा बैंकहरूले लामो अवधिको निक्षेप उठाउन चाहेका हुन्।’

त्यसो त बैंकहरूले लामो अवधिको मुद्दती निक्षेपको ब्याजदर घटाउन नचाहनुको कारण निक्षेप बाहिरिने डर पनि हो। लामो अवधिको निक्षेपको ब्याजदर ७/८ प्रतिशत भन्दा तल आए संस्थागत निक्षेप एक संस्थाबाट अर्काे संस्थामा जाने डर बैंकहरूलाई रहेको एक सरकारी बैंकका डेपुटी सीइओले बताए।

‘सरकारी संस्थाले सरकारी बैंकको मुद्दतीमा पैसा राख्ने गर्छन्। जसका कारण अहिले प्राइभेट बैंकको तुलनामा सरकारी बैंकमा तरलताको स्थिति राम्रो छ,’ उनले भने, ‘तर, पर्याप्त तरलता हुँदा पनि हामीले लामो अवधिको निक्षेपको ब्याजदर थप घटाउन सक्ने अवस्था छैन। घटाए निक्षेप नै बाहिरिने डर छ।’

100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?