जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • सिवाईसी लघुवित्तका काका/भतिज बिरुद्ध राष्ट्र बैंकमा उजुरी

सिवाईसी लघुवित्तका काका/भतिज बिरुद्ध राष्ट्र बैंकमा उजुरी

सिवाईसी लघुवित्त वित्तीय संस्था डुब्न लाग्यो भन्दै नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ।उक्त कम्पनीका बहालवाला अध्यक्ष पद्मनाथ शर्मा र निवर्तमान प्रबन्ध सञ्चालक डोलेन्द्र शर्माले मनलाग्दी गरेर लघुवित्त डुबाउन लागेको भन्दै संस्थापक शेयरधनीहरुले केन्द्रीय बैंकमा उजुरी दिएका हुन्। 

उजुरीपत्रमा कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालकले झुटा बिल पेश गरेर करोडौं अनिमियतता गरेको, अनुगमनमा आएका राष्ट्र बैंककै कर्मचारीलाई प्रभावमा पारेर संस्थाका कर्तुत लुकाएको, राजनीतिक लाभ उठाउने उद्धेष्यले एक जना महिलाई सञ्चालक बनाउन ऐन विपरित काम गरेको,  सञ्चालक र प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर बसे पनि प्रमुखकै रुपमा काम गरिरहेको आरोप छ । शेयरनीको आरोप यतिमा मात्र सीमित छैन । 

उजुरीमा साधारण शेयरधनीको हैसियत भएपनि  प्रमुखले पाउने सरहको सेवा सुविधा र अधिकार प्रयोग गरिरहेको, सञ्चालक शर्माले अध्यक्ष र निमित्त सीईओलाई प्रयोग गरेर चरम आर्थिक अनियमितता गरेको, प्रबन्ध सञ्चालक हुँदा गरेका कर्तुत लुकाउन नियम विपरित निमित्तको भरमा संस्था चलाएको आरोप पनि छ ।

पहिलो आरोप : झुटा बिल पेश गरेर करोडौं अनिमियतता 

मर्जर हुनुअगाडि नभएका कामहरुलाई भएको भनेर बिल भरपाई गरिएको भन्दै त्यसमा कारबाहीको माग गरिएको छ। १९ वटा नखोलिएका संस्था खोलेको भनेर खर्च देखाइएको छ । 

यस्तै सञ्चालक र प्रबन्ध सञ्चालक डोलेन्द्र शर्माले नगरेको भ्रमणलाई भ्रमण गरेको भनेर खर्च देखाइएको उजुरीमा उल्लेख छ। जसका कारण २०७९ बैशाखमा ९ करोड रुपैयाँ फाइदामा रहेको कम्पनी गत असारमा भने घाटामा गएको उजुरीपत्रमा उल्लेख छ। 

दोस्रो आरोप : राष्ट्र बैंककै कर्मचारीलाई प्रभावमा पारेर संस्थाका कर्तुत लुकाएको

राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागका कर्मचारी निरज अधिकारीको टोलिले सिवाईसी लघुवित्तको स्थलगत अनुगमन गरेता पनि शंकास्पदा कागजातहरु नहेरेको आरोप छ। 

उक्त टोलिले धेरैजसो ऋणलाई इभर ग्रिन गरिएको, आफन्त तथा नजिककालाई दिएको तर उठ्न नसकेको कर्जालाई लुकाइएको, प्रबन्ध सञ्चालक डोलेन्द्र शर्माले महिनाभरि अर्थात ३६५ दिनकै भ्रमण भत्ता लिएको उजुरी नहेरेको आरोप छ। 

तेस्रो आरोप : नेताकी चेलीलाई महिला सञ्चालक बनाउन ऐन विपरितको काम 

महिला सञ्चालक बनाउन ऐन विपरितको काम भएको आरोप छ। बिशेष साधारणसभाबाट सञ्चालक चयन गरिएको महिलालाई  सपथ नै नखुवाई ३५ दिन अगावै हटाएर एक नेताकी चेलीलाई महिला सञ्चालक बनाएको आरोप पनि छ। 

भारतमा रहेकी ती महिलालाई बिशेष साधारणसभाबाट सञ्चालक बनाइएपनि उनलाई सपथ नै नखुवाई ३५ दिन अगावै मुना देवी खनाललाई सञ्चालक बनाइएको थियो। यसरी सञ्चालक बनाउनु बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन विपरित हो। 

चौथो आरोप : सञ्चालक र सीईओबाट राजीनामा दिएर बसेपनि प्रमुखकै रुपमा काम गरेको

एउटा साधारण शेयरधनीको हैसियतमा पुगेका डोलेन्द्र शर्माले अहिले पनि प्रमुख कार्यकारी तथा प्रबन्ध सञ्चालकको रुपमा काम गरेर घुमाउरो रुपमा सेवा सुविधा लिएको आरोप छ। सामान्य शेयरधनीको हैसियत हुँदा प्रबन्ध सञ्चालकको रुपमा काम गर्न पाउने कानूनी आधारबारे राष्ट बैंकलाई प्रश्न सोधिएको छ। 

बिजपाटीले पटक- पटक प्रश्न गरेपछि सीईओबाट राजीनामा दिएर सञ्चालक मात्र बनेका शर्माले सरकारी नियुक्ति लिनलाई भएपनि सञ्चालक पदबाट पनि राजीनामा दिएका थिए। माघ २४ गतेदेखि लागू हुनेगरी फागुन २८ गते सञ्चालक पदबाट राजीनामा दिएपनि उनले यसबीचमा सञ्चालकको हैसियतमा काम गरेका थिए। 

कुलिंग पिरियडमा बसेको देखाउन राजीनामा दिएपनि दैनिक कार्यालय जाने, सेवा सुविधा प्रयोग गर्ने र कर्मचारी तथा सञ्चालकलाई निर्देशन दिने काम अहिले पनि जारी छ। 

पाँचौ आरोप :अध्यक्ष र निमित्त सीईओलाई प्रयोग गरेर चरम आर्थिक अनियमितता 

शर्मा सामान्य शेयरधनीको हैसियतमा भएपनि सञ्चालक समितिको बैठकमा उपस्थित भएर निर्णय गर्ने गराउने गरेको, व्यवस्थापकीय सम्पूर्ण निर्णयहरु आफै लिने गरेको, विभिन्न शाखा कार्यालय भ्रमण गरेर त्यहाँका कर्मचारीलाई सरुवा बढुवाको धम्कि तथा टार्गेट दिने गरेको, सीईओले सुविधा वापत पाउने गाडी, ड्राइभर र आवास सुविधा पनि लिइरहेको, आफू निकट चार जना कर्मचारीबाट नियम विपरित पेश्कि लिएको र उनको यस्तो वित्तीय अपराधलाई संस्थाका अध्यक्ष पद्मनाथ शर्माले साथ दिएको आरोप छ।  

छैटौं आरोप : ऐन विपरित निमित्तको भरमा संस्था तीन महिनाभन्दा बढी निमित्त प्रमुखको रुपमा संस्था चलाउन नपाउने नियम विपरित लामोसमयदेखि संस्था निमित्तको भरमा छ। नेपाल राष्ट्र बैंकले प्रबन्ध सञ्चालक हटाएर सीईओ राख्न निर्देशन दिएपनि संस्थामा अहिलेसम्म पनि सीईओ नियुक्त गर्ने कुनै सुरसार छैन। तीन महिनाभन्दा बढी निमित्तको भरमा संस्था चलाउन नपाइने राष्ट्र बैंकको नियम छ।  

उक्त कम्पनीमा चरम अनियमिता भरहेकोबारे बिजपाटी डटकमले पछिल्लो दुई वर्षयता निरन्तर रुपमा लेखिरहेको छ। बिजपाटीले देखाएका दर्जन आर्थिक तथा पदीय अपराध मध्ये केहि विषयमा कारबाही भएपनि संस्थानै डुबाउने प्रकृतिका घटना गर्ने व्यक्तिउपर भने नेपाल राष्ट्र बैंकले अझै सम्मपनि कुनै कारबाही भने गरेको देखिदैन ।

नियामक राष्ट्र बैंकलाई खुल्लम खुल्ला चुनौती दिंदै आएका र नातामा काका- भतिज पर्ने सीवाईसी लघुवित्तका अध्यक्ष पद्मनाथ शर्मा र निवर्तमान प्रबन्ध सञ्चालक डोलेन्द्र शर्मालाई कारबाही गरेर राष्ट्र बैंकले आफ्नो शाख जोगाउला त  ? यो भने हेर्न बाँकी छ।

60
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका