जोडिनुहोस
बिहिबार, पुस ११, २०८१
बिहिबार, पुस ११, २०८१
  • होमपेज
  • सेबोनले यही साता अध्यक्ष पाउने

सेबोनले यही साता अध्यक्ष पाउने

विगतमा जस्तो पूर्वनिर्धारित तालिका कुनै आकस्मिक कारणले फेरबदल भएन भने अर्को साताभित्र पूँजीबजारले आफ्नो प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पाउने पक्का छ । पूँजीबजारको प्रमुख नियामक धितोपत्र बोर्ड विगत एकवर्षदेखि अध्यक्षविहीन छ । कामचलाउ जनशक्तिको भरमा बोर्ड सञ्चालन हुँदा बजारमा बढेको विकृति नियन्त्रण हुन सकेको छैन भने बजारबाटै पूँजी जुटाउन लागिपरेका कम्पनीहरुको समेत थुप्रो लागेको छ ।

अर्थमन्त्रालयअन्तरगत योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले लामो समयदेखि रोकिएको अन्तर्वार्ताका लागि अनुपस्थित तीनजनालाई अन्तर्वार्ता र प्रस्तुतिकरणका लागि आइतबार बोलाएको छ ।

अध्यक्षका लागि आवेदन दिएकामध्येबाट ५ जनाको सर्टलिस्टमा परेकामध्ये विगतमा २ जनाको अन्तर्वार्ता भइसकेको छ भने बाँकी ३ जना अनुपस्थित भएपछि प्रक्रिया नै स्थगित हुन पुगेको थियो । सो प्रक्रियालाई अगाडि बढाउने गरी विगतमा २ पटक प्रयास भए पनि विविध कारण देखाउँदै तोकिएको अन्तर्वार्ता पुनः स्थगित भएका थिए ।

हालसम्मको अवस्था हेर्दा र अर्थका अधिकारीहरुसँग अनौपचारिक कुरा गर्दा भोलि(आइतबार)का लागि तोकिएको बाँकी ३ उम्मेद्वारको अन्तर्वार्ता हुने निश्चित छ । यसअघि धितोपत्र बोर्डको अध्यक्षको सर्टलिस्टमा परेकामध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तर्वार्ता दिइसकेका छन् । अब आइतबार कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र नवराज अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाइएको छ ।

स्रोतहरुका अनुसार माओवादी नेतृत्वको सरकारको पालामा तत्कालीन अर्थमन्त्री वर्षमान पुनको इशारामा जानाजान अन्तर्वार्तामा नगएकामध्ये कार्की र अधिकारी आइतबार जाने तयारीमा छन् ।

तत्कालीन बीमा समितिको अध्यक्ष समेत रहेका चापागाईं भने आइतबारको अन्तर्वार्तामा समेत नजाने देखिएको छ । चापागाईले आफू निकटस्थहरुसँग रोकिएको सरकारी प्रक्रियालाई टुंगो पुर्याउनका लागि मात्र कर्मकाण्डी अन्तर्वार्तामा आफू नजाने बताएका छन् । ‘कसलाई अध्यक्ष बनाउने भन्ने कुरा लगभग टुंगिसकेको अवस्थामा स्थगित प्रक्रियालाई अगाडि बढाउनका लागि मात्रै सरकारको कर्मकाण्डी डिजाइनलाई साथ दिन जानुपर्ने आवश्यकता छैन ।’ चापागाईंलाई उद्धृत गर्दै एक निकटस्थले भनेका छन् ।

तर, आइतबारको अन्तर्वार्तामा चापागाई नगए पनि जारी प्रक्रियामा केही फरक पर्दैन । कार्की र अधिकारी जाने निश्चित झै छ । यी दुईमध्ये पनि एकजना मात्रै जाँदा समेत प्रक्रिया अगाडि बढ्छ । किनभने धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि गठित सिफारिस समितिले आवेदकमध्ये ३ जनाको नाम सरकारलाई सिफारिस गर्नुपर्छ । २ जनाले यसअघि नै अन्तर्वार्ता दिइसकेकाले बाँकी एकजना मात्रै अन्तर्वार्तामा गए पनि ३ जनाको नाम सिफारिस गर्न बाटो खुल्नेछ ।

सिफारिस समितिले दिएका ३ नाममध्येबाट सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद बैठकले एकजनालाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

बोर्ड अध्यक्ष लामो समयदेखि नियुक्त गर्न नसकेका कारण गलत सन्देश बजारमा गएको र त्यसले सेयर लगानीकर्ताहरुको मनोबलमै नकारात्मक प्रभाव पारिरहेको निश्कर्ष निकालेका अर्थमन्त्री विष्णु पौडेलले सकेसम्म बोर्ड अध्यक्षका लागि एकजनाको नाम मन्त्रिपरिषदको सोमबारकै बैठकमा पेश गर्ने र सोही दिन नियुक्त हुने अधिक सम्भावना रहेको छ ।

220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?