

चार वाणिज्य बैंकको निष्क्रिय कर्जा ५ प्रतिशतमाथि पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (पुस मसान्तसम्म) को वित्तीय विवरण अनुसार कुमारी, नेपाल इनभेष्टमेन्ट, लक्ष्मी सनराइज र प्रभु बैंकको निष्क्रिय कर्जा पाँच प्रतिशत भन्दा माथि पुगेको छ ।
यसैगरी ६ बैंकको निष्क्रिय कर्जा अनुपात पनि ५ प्रतिशत हाराहारीमै छ । नेपाल बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्शियल बैंक र कृषि विकास बैंकको यस्तो अनुपता ४.९० प्रतिशतभन्दा माथि छ ।
त्यस्तै, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, एनआईशी एशिया बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकको निष्क्रिय कर्जा ४ प्रतिशत भन्दा माथि छ ।
एनएमबि बैंक, नेपाल एसबीआई बैंक, र सानिमा बैंकको निष्क्रिय कर्जा ३ प्रतिशतभन्दा माथि हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंक १.७१ प्रतिशत निष्क्रिय कर्जासहित सबैभन्दा कम निष्क्रिय कर्जा भएको दोस्रो बैंकको रुपमा रहेको छ ।
बैंकवित्तले निष्कृय कर्जा लुकाउँदा झन् समस्या आउन सक्छ : नरबहादुर थापावरिष्ठ अर्थविद् तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बैंकवित्तले खराब कर्जा अनुपात (एनपीएल) लाई लुकाउन नहुने बताएका छन् । मिडिया इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले पछिल्लो समय नेपालमा पनि खराब कर्जा अनुपात बढ्दै गएको बताए । उनले अहिले खराब कर्जाको अनुपात १५,२० प्रतिशत माथि पुगेपनि बैंकहरुले लुकाउँदा झन् समस्या उत्पन्न हुन सक्ने बताए ।छिमेकी देश भारतको उदाहरण दिँदै उनले भने, ‘८, १० वर्ष यता भारतमा दुई पटक एनपीएल १४ प्रतिशत माथि पुगेको थियो । बैंकवित्तले भन्न हिचकिच्याएनन् ।
कार्पेट मुनि एनपिएलको तथ्य लुकाएनन् । ४,५ प्रतिशत भनेर ढाटेनन् । जनतालाई भने । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदी सरकार परिचालित भयो, अर्थमन्त्री परिचालित भए । आरबीआइ परिचालित भयो । सम्बन्धित बोर्ड, कर्मचारी परिचालित भए । १,२ वर्षभित्र १४ प्रतिशत भएको निष्कृय कर्जा अनुपात ४,५ प्रतिशत तल झारे । यो एक किसिमको रोग जस्तै हौ । लुकाउने होइन् । त्यसलाई भन्नुपर्छ ।’नेपालमा पनि अहिले खराब कर्जा बढ्दो रहेको भन्दै यथार्थता देखाउँदा समयमै समाधान हुने उनले बताए । उनले भने, ‘होइन भने सिमेन्ट जस्तो हुन्छ । यो वित्तीय संस्थामा आउन बेर लाग्दैन ।’