जोडिनुहोस
शनिबार, चैत्र १, २०८१
शनिबार, चैत्र १, २०८१
  • होमपेज
  • पाथीभरामा केबलकार किन ? अध्यक्ष ढकालले दिए १४ कारण

पाथीभरामा केबलकार किन ? अध्यक्ष ढकालले दिए १४ कारण

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पाथीभरा मन्दिरमासम्म पुग्न निर्माण गर्न लागिएको केबलकारले पहिचानको प्रवर्द्धन गर्ने बताएका छन् । पाथिभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्षसमेत रहेका ढकालले शनिबार पत्रकार सम्मेलन आयोजना गरी पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने दुस्प्रचार गरिएको भन्दै खण्डन गरेका छन् ।

उनले वातावरणमा हुने प्रभावलाई कम गर्न केबलकारको एलाइनमेन्ट क्षेत्रभित्र काट्नुपर्ने एक रुख बराबर २५ रुखका दरले वृक्षरोपण गरिने स्पष्ट पारेका छन् । त्यसरी रोपिएका रुखलाई पाँच वर्षसम्म आयोजनाले नै स्याहार तथा संरक्षण गर्ने र सरकारलाई हस्तान्तरण गर्ने उनको भनाइ छ ।

‘केबलकारको माथिल्लो स्टेसनमा तीर्थयात्रीको सुविधाको लागि पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना मात्र बनाइने छ । यी आधारभूत आवश्यकतका संरचनाबाहेक यहाँ अरु केही नबन्ने भएकाले मन्दिर परिसर तथा यस वरपरको पर्यावरण, सौन्दर्य र सांस्कृतिक अवस्थितिमा कुनै असर पर्दैन,’ उनले पत्रकार सम्मेलनमा भने, ‘केबलकार निर्माणले बालबालिका, बृद्धबृद्धा, शारिरीक रुपमा अशक्त र उकालो ओरालो हिड्न नसक्नेहरूका लागि सहज हुनुका साथै सम्पूर्ण तीर्थयात्री तथा पर्यटकलाई सुविधा पुग्ने छ । हिँडेर जान चाहनेहरूको लागि अहिले भइरहेको बाटोमा केबलकारले कुनै बाधा पुर्‍याउने छैन । यसका साथै, स्वदेशी तथा विदेशी तीर्थयात्री र पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास छ ।’

विकासका काममा वादविवाद देखिनु राम्रो नभएको भन्दै उनले यस्ता कार्यहरूले देशमा आगामी दिनमा हुने निजी लगानीलाई नै दुरुत्साहन गर्ने बताएका छन् । यसले मुलुकमा लगानी भित्र्याउन निजी क्षेत्रले गरिरहेको पहललाई निरर्थक तुल्याएको उनको भनाइ छ ।

परियोजनामा हुने अवरोधले विश्वव्यापी रूपमै नकारात्मक सन्देश जाने चिन्ता व्यक्त गरेका ढकालले कुनै पनि बहानामा विकास निर्माणका काममा अवरोध नगर्न सबै सरोकारवालामा आग्रह गरेका छन् । उनले लामो मन्तव्यमार्फत् पाथीभरामा केबलकारको आवश्यकता दर्शाएका छन् ।

यस्ता छन्,१४ कारण :

१. अनुमति पाए पनि लामो समयसम्म केबलकार निर्माणको काम अघि बढ्न सकेको थिएन । करिब दुई वर्षअघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयोजना निर्माणले गति लिन थालेको छ ।

२. केबलकारको माथिल्लो स्टेसनमा तीर्थयात्रीको सुविधाको लागि पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना मात्र बनाइने छ । यी आधारभूत आवश्यकतका संरचनाबाहेक यहाँ अरु केही नबन्ने भएकाले मन्दिर परिसर तथा यस वरपरको पर्यावरण, सौन्दर्य र सांस्कृतिक अवस्थितिमा कुनै असर पर्दैन ।

३. केबलकार निर्माणले बालबालिका, बृद्धबृद्धा, शारिरीक रुपमा अशक्त र उकालो ओरालो हिड्न नसक्नेहरूका लागि सहज हुनुका साथै सम्पूर्ण तीर्थयात्री तथा पर्यटकलाई सुविधा पुग्ने छ । हिँडेर जान चाहनेहरूको लागि अहिले भइरहेको बाटोमा केबलकारले कुनै बाधा पुर्‍याउने छैन ।

४. स्वदेशी तथा विदेशी तीर्थयात्री र पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास छ ।

५. पाथीभरा केबलकारको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ । केबलकार निर्माणपछि करिब ३०० जनालाई प्रत्यक्ष रोजगारी प्राप्त हुनेछ । यसमा करिब ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइनेछ ।

६. आइएमई ग्रुपका यस अघिका पर्यटन पूर्वाधारहरूमा जस्तै यहाँ पनि स्थानीयलाई आयोजनाको शेयर तथा लगानीको अवसर मिल्ने छ ।

७. केबलकार निर्माण हुँदा तीर्थयात्री तथा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने र यसले स्थानीय उत्पादन (कृषि, घरेलु तथा हस्तकलाका सामग्री) प्रवद्र्धनमा ठूलो भूमिका खेल्नेछ ।

८. आर्थिक गतिविधिको विकास र विस्तारसँगै मेची हाइवेको झापा तथा तमोर कोरिडरको सुनसरीको बराह क्षेत्रदेखि नै होटल, रेष्टुरेन्ट, यातायातलगायत थुप्रै क्षेत्रमा स्वरोजगार तथा व्यवसाय विस्तारमा उल्लेख्य वृद्धि हुनेछ । यसबाट राज्यलाई कर तथा राजश्व पनि वृद्धि हुनेछ ।

९. वातावरणमा हुने प्रभावलाई कम गर्न केबलकारको एलाइनमेन्ट क्षेत्रभित्र काट्नुपर्ने एक रुख बराबर २५ रुखका दरले वृक्षरोपण गरी वृक्षरोपण गरिएका विरुवालाई ५ वर्षसम्म स्याहार तथा संरक्षण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिने छ । त्यसैले, यस केबलकार आयोजना सञ्चालन हुँदा पनि जैविक विविधता र वातावरण बिग्रिने नभई यसलाई जोगाउन थप सहयोग पुग्ने छ ।

१०. विकट भौगोलिक अवस्थिति, हाइ अल्टिच्युड र ठाडो उकालो बाटोले गर्दा तीर्थयात्री तथा पर्यटकलाई मन्दिरसम्मको आवागमन अत्यन्तै कठिन छ । अझ हिड्न नसक्ने, विरामी, अशक्त, बालबालिका र बृद्धबृद्धाहरूलाई त त्यहाँसम्म पुग्न निकै संघर्षमय नै हुन्छ । केबलकारले आम नागरिकलाई पाथीभरा देवीको दर्शनलाई सहज बनाउने, अहिलेको तुलनामा तीन चार गुणा तीर्थयात्री/पर्यटक भित्र्याउने छ ।

११. विकासका काममा यस्तो वादविवाद देखिनु राम्रो होइन । यस्ता कार्यहरूले देशमा आगामी दिनमा हुने निजी लगानीलाई नै दुरुत्साहन गर्ने काम गर्दछ । राज्यका निकायबाट सबै कानुनी र नियामकीय प्रक्रिया पूरा गरिसकेपछि काम अगाडि बढ्न नदिने विषय अत्यन्त दुःखदायक छ । यसले मुलुकमा लगानी भित्र्यउन निजी क्षेत्रले गरिरहेको पहललाई निरर्थक तुल्याएको छ ।

१२. सातवटै प्रदेशमा ठूलाठूला पर्यटकीय पूर्वाधारको विकास गरी धेरैभन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने, लगानीका अनगिन्ति अवसरहरू सृजना गर्ने, रोजगारी सृजना गर्ने र समुन्नत नेपाल निर्माणमा हातेमालो गर्ने हाम्रो अभियानमा ठेस पुगेको छ ।

१३. म आइएमई ग्रुपकोे अध्यक्ष, यस केबलकार कम्पनीको अध्यक्ष मात्र नभएर मुलुकको समग्र निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षकै हैसियतले विभिन्न मुलुकहरू पुगेर नेपालमा लगानीका लागि आग्रह गरिरहेको छु । यो परियोजनामा अवरोध हुदाँ यसको सन्देश विश्वव्यापी रूपमै नकारात्मक जान्छ ।

१४. पाथीभरा देवी सबै नेपालीको आस्थाको धरोहर भएकाले यहाँ केबलकार निर्माणले यहाँका कुनै धर्म र जाति विशेष या संस्कार संस्कृति एवम् हाल भइरहेका संरचनामा केही असर गर्दैन, बरु थप मजबुद बनाउन सहयोग पुर्‍याउँछ ।

275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका