

पछिल्लो समय सहकारीहरुमा बढ्दो बेथितिसँगै यसप्रतिको विश्वास समेत गुम्दै गएको छ । गाउँगाउँमा सहकारी घरघरमा भकारी भन्दै स्थापना भएका सहकारीहरुमा बढ्दो बेथितिले हजारौ लगानी कर्ताको लगानी चुर्लुम्म डुबेको छ । देशभर बचत तथा ऋणको कारोबार गर्ने कुल सहकारी करिब १४ हजार हाराहारीमा छन् । तीमध्ये करिब १० हजार सहकारी मात्र सक्रिय छन् । चार हजार अझै निष्क्रियको सूचीमा रहेको संसदीय छानबिन समितिले प्रारम्भिक तथ्यांक निकालि सकेको छ ।
बचत तथा ऋण सहकारीमध्ये करिब एकतिहाइ बागमती प्रदेशमै सक्रिय छन् । बागमती प्रदेशका १३ जिल्लामा कुल २ हजार ७ सय १६ सहकारी छन् । तीमध्ये समस्याग्रस्त ४० र समस्या उन्मुख २ सय ५ वटा छन् । सबैभन्दा धेरै काठमाडौंमा ८ सय ६६ वटा सहकारी छन् । काठमाडौंमै ९६ वटा सहकारी समस्याको भूमरीमा छन् । उनीहरूले बचतकर्ताको रकम सही ढंगले परिचालन नगरेको समितिले निष्कर्ष निकालेको छ । ललितपुरमा ४ सय ८१ वटा सहकारी छन् । जहाँ ४१ वटा सहकारी समस्याग्रस्त र समस्या उन्मुख छन् । चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, भक्तपुर, रामेछाप, दोलखा पनि बढी सहकारी हुने जिल्लामै पर्छन् । मुलुकमा जतिपनि सहकारी क्षेत्रमा बेथिति छ, त्यो सवै बागमती प्रदेशमा भेटिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको छ ।
वरिष्ठ अर्थविद् तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा समयमै नियमन नहुँदा सहकारीमा समस्या देखिएको बताउँछन् । उनी भन्छन्,‘यदी हामीले नियमनको व्यवस्था पहिले नै गरेको भए यस प्रकारको समस्या भोग्नु पर्दैन्थ्यो । अहिले साना तथा मझौला उद्योग बन्द हुनुमा सहकारीमा आएको समस्या एक कारण हो । बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाउनेले ऋण तथा बचत सहकारी संस्थाबाट पाइ राखेका थिए । लाखौं लाखले रोजगारी पाइ राखेका थिए । सानोतिनो व्यवसायी गरिराखेका थिए । बैंकले नपत्याएकाहरुले त्यहाँ पाइ राखेका थिए । अनौपचारिक क्षेत्रबाट सस्तोमा पाइ राखेका थिए । अर्थतन्त्र चलायमान थियो । युवाहरु रोकिएका थिए ।’
उनले थपे, ‘जब बचत सहकारीमा समस्या देखियो । उद्यमीहरु समेत विदेश पलायन हुन पुगे । सिस्टमले काम नगर्दा यस प्रकारको हविगत हुन्छ भन्ने उदाहरण लिन सक्छौं ।’ सहकारीमा समस्या देखिरहेका बेला अहिले बैंकहरु पनि डुब्ने हो कि भन्ने आम नागरिकमा द्विविधा उत्पन्न भएको छ ।
पछिल्लो ३ वर्षका घटनाक्रम हेर्ने हो भने नेपालका बैंकवित्तहरुप्रति विभिन्न अफहवा फैलाइएको छ । बैंक डुब्ने हल्लादेखि बैंक र बैंकका कर्मचारीमाथि कुटपिटका घटनाहरुसम्म भएका छन् । बैंक लुट्ने र बम पड्काउने धम्कीदेखि कालोमोसो दल्ने, अपहरण गर्ने र शाखामा तोडफोड गर्ने भौतिक कारबाहीसम्म भएको देखिन्छ ।
केही व्यक्ति तथा समूहले आफ्नो निहीत स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाविरुद्ध अनर्गल प्रचार गर्ने गरेका छन् । ती संस्थाहरुका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने तथा धम्क्याउने, काममा अवरोध पु¥याउने जस्ता अराजक क्रियाकलाप हुँदै आएको छ । सामाजिक सञ्जालमार्फत बैंकिङ क्षेत्रलाई लक्षित गर्दै विभिन्न समयमा भ्रामक सूचना फैलाइएको छ ।
नेपालका बैंकहरुविरुद्ध २०७९ बाटै मेडिकल व्यवसायी दुर्गा प्रसाईं बैंकको किस्ता नतिर्ने अभियानमा लागे । उनले बैंकका कर्मचारी कर्जा असुल्न आउँदा कालोमोसो दल्न कार्यकर्तालाई अभिप्रेरित गरेका थिए ।
अहिले पनि उनी कहिले ‘बैंक डुब्छ, डुब्दैछ’, कहिले बैंकको नामै लेखेर ‘अब ढल्छ’, कहिले बैंकको नामै तोकेर ‘यो बैंकको खातामा निक्षेप छ भने तुरुन्त झिकिहाल्नुस्’ जस्ता स्ट्याटस फेसबुक लगायत सामाजिक सञ्जालमा लेखिरहेका छन् ।
डुब्दैन निक्षेप
नेपाल राष्ट्र बैंकले आफ्ना इजाजत प्राप्त संस्थाहरु बोर्डमै देखिने गरी उल्लेख गरेको छ । राष्ट्र बैंकले त्यस संस्थालाई नियमन गरिरहेको छ वा सुक्ष्मरुपमा निगरानीमा राखेको छ भन्ने बुझ्न पर्छ । अहिले बैंक डुब्छ, निक्षेपकर्ताको बिचल्ली हुन्छ जस्ता अफवाहहरु फैलिरहेको छन् । त्यसलाई पनि राष्ट्र बैंकले निगरानी गरिरहेको हुन्छ ।
यदि कुनै संस्था कमजोर भयो वा समस्याग्रस्त भएर सर्वसाधारणको निक्षेप पनि फिर्ता गर्ने नसक्ने अवस्थामा पुग्दैछ वा समस्यामा पर्न सक्छ भन्ने राष्ट्र बैंकलाई लाग्नसाथ बैंकले सो संस्थाको वित्तीय अवस्था निरीक्षण गर्न थाल्छ । निरीक्षण गर्दा समस्याग्रस्त भएको वा हुनसक्ने देखेमा नेपाल राष्ट्र बैंक ऐन–२०५८ को दफा ८६ अनुसार सो संस्थालाई समस्याग्रस्त घोषणा गर्छ । जुन हामीले अहिले कर्णाली विकास बैंकलाई हेर्न सक्छौं ।
खराबकर्जा उच्च दरमा वृद्धि भएपछि नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याउन्मुख घोषणा गरेको थियो । राष्ट्र बैंकले समस्याउन्मुख देखिएको भन्दै बैंकलाई कर्जा दिन र निक्षेप लिन समेत रोक लगाएको थियो । यसरी समस्याग्रस्त घोषणा गर्दा राष्ट्र बैंक आफैंले व्यवस्थापन टेकओभर गरेर त्यसको सूचना सर्वसाधारणलाई दिन्छ । राष्ट्र बैंकले समस्याग्रस्त हो भनेर नभनेसम्म त्यो संस्था बलियो हो भनेर बुझ्न पर्छ । त्यो संस्थामा जनताको निक्षेप सुरक्षित छ भनेर बुझ्न पर्छ ।
कुनैपनि देशको वित्तीय प्रणालीे अत्यन्तै महत्वपूर्ण र संवेदनशील मानिन्छ । संसारका ठूला अर्थतन्त्र भएका देशहरुमा पनि समस्या आउँदा सबैभन्दा पहिले बैंकिङ प्रणालीमा समस्या देखिन सुरु हुन्छ र त्यसपछि मात्रै अन्य क्षेत्रहरुमा समस्या देखिन थाल्छ । राष्ट्र बैंकले इजजात प्रदान गरेका संस्थाहरु आफैँमा सुरक्षित छन् त्यसमा कारोबार गर्दा सर्वसाधारणले ढुक्क भए हुन्छ । वित्तीय अवस्था जनाउ दिने सूचकहरु प्रशस्त छन् ।
त्यस्ता सूचकहरुमा राष्ट्र बैंकले विशेष निगारानी राखि राखेको हुन्छ । यदि कुनै संस्था समस्याग्रस्तको अवस्था आएमा राष्ट्र बैंकले आफैँ व्यवस्थापन टेकओभर गरेर सञ्चालन गर्न सक्छ । त्यो अधिकार राष्ट्र बैंकसँग छ । राष्ट्र बैंक केही नबोलेको अवस्थामा निक्षेपकर्ता डुब्ने भन्ने कुरा नै आउँदैन ।
बैंकको वित्तीय स्थिति जनाउ दिन तथा सञ्चालनको अवस्था बुझाउन राष्ट्र बैंकसँग छुट्टै गाइडलाइन र इन्डिकेटरहरु छन् । जस्तो पुँजीकोष अनुपात २ प्रतिशतभन्दा कम भयो वा ४ प्रतिशतभन्दा कम भयो भने कस्तो कारबाही गर्ने भन्ने व्यवस्था राष्ट्र बैंकको गाइडलाईनमै उल्लेख छ । बैंकलाई थाह हुन्छ गाइडलाईन तलमाथि गएमा स्वतः कस्तो कारबाहीको भागिदार बन्नुपर्छ । बैंकहरु आफैं यस विषयमा चनाखो छन् ।
बैंकको वित्तीय स्थिति जनाउ दिन तथा सञ्चालनको अवस्था बुझाउन राष्ट्र बैंकसँग छुट्टै गाइडलाइन र इन्डिकेटरहरु छन् । जस्तो पुँजीकोष अनुपात २ प्रतिशतभन्दा कम भयो वा ४ प्रतिशतभन्दा कम भयो भने कस्तो कारबाही गर्ने भन्ने व्यवस्था राष्ट्र बैंकको गाइडलाईनमै उल्लेख छ । बैंकहरुलाई पनि गाइडलाईन तलमाथि गएमा स्वतः कस्तो कारबाहीको भागिदार बन्नुपर्छ भन्ने थाह रहेको छ ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर पूर्व गभर्नर चिरञ्जिवी नेपाल केन्द्रीय बैंकको नीति नियमहरु र नियमनमा कमजोरी नभएको बताउँछन् । उनी भन्छन्, ‘कोभिडको बेला केन्द्रीय बैंकले जुन ढुंगले जानुपर्ने हो, त्यो हुन नसकेको केही देखिए पनि केन्द्रीय बैंकले आफ्नो क्षमता अनुसार नियमन र सुपेरिवेक्षण गरेको छ । त्यसैले नेपालमा बलियो र विश्वासिलो क्षेत्र भनेकै बैंकिङ क्षेत्र मात्र हो । केन्द्रीय बैंकले बैंकहरुलाई डुब्न दिँदैन र डुब्ने स्थिति आयो भने उद्धार गर्ने क्षमता पनि छ ।’
विशेष गरी बैंकिङ संकटको अवस्थामा राष्ट्र बैंकले विशेष भूमिका खेलेको हुन्छ । राष्ट्र बैंकको केही प्रमुख भूमिकाहरू निम्न अनुसार छन् ।
प्रारम्भिक हस्तक्षेपः यदि कुनै बैंकले वित्तीय समस्याहरू सामना गर्दैछ भने, राष्ट्र बैंकले प्रारम्भिक हस्तक्षेप गर्न सक्छ। यसमा यस बैंकको ऋण प्रवाहमा सुधार ल्याउन, नगद र कर्जा आवश्यकता पुरा गर्नका लागि अनुदान वा सस्ता ऋण प्रदान गर्ने प्रक्रिया समावेश गर्न सक्छ।
ऋण प्रवाह सुनिश्चित गर्नुः राष्ट्र बैंकले जब बैंकहरूको तरलता संकट हुन्छ भने उनीहरूलाई आवश्यक नगद प्रवाह सुनिश्चित गर्नका लागि अत्यधिक कर्जा सुविधा उपलब्ध गराउन सक्छ। यसले बैंकहरूको सधैं सापेक्षिक रूपमा ऋण दिइरहेको अवस्थामा संकटको सामना गर्न मद्दत पुर्याउँछ।
नियामक हस्तक्षेपः राष्ट्र बैंकले बैंकहरूको नियमन र निगरानी गरेर तिनीहरूको वित्तीय स्थिति सुरक्षित राख्नको लागि कठोर नियम र नीति निर्धारण गर्दछ। यसले बैंकहरूलाई जोखिमपूर्ण व्यवसायबाट बच्न मद्दत पुर्याउँछ।
सार्वजनिक विश्वास बनाउनुः बैंकहरूको संकटमा जनताको विश्वास भनेको महत्त्वपूर्ण पक्ष हो। राष्ट्र बैंकले बैंकहरूको स्थिरता र सुरक्षा सुनिश्चित गरेर जनताको विश्वास कायम राख्ने भूमिका निर्वाह गर्दछ।
बचतकर्ता र ऋणीको सुरक्षाः राष्ट्र बैंकले बैंक डिपोजिटको सुरक्षा सुनिश्चित गर्नका लागि बचतकर्ताहरूको संरक्षणमा ध्यान पुर्याउँछ। यसका लागि, त्यहाँ बैकिंग संस्थामा राखिएको रकमको सुरक्षा सुनिश्चित गर्नका लागि बीमाको प्रावधान (जस्तै डिपोजिट इन्स्योरेन्स) पनि लागू हुन्छ।
यस प्रकार राष्ट्र बैंकको प्रमुख भूमिका बैंकहरूको स्थिरता र प्रणालीको विश्वासको कायम राख्नमा महत्त्वपूर्ण हुन्छ।