जोडिनुहोस
मङ्लबार, पुस १, २०८२
मङ्लबार, पुस १, २०८२
  • होमपेज
  • टेलिकमको रिचार्ज कार्ड हनी इन्टरप्राइजेजले छाप्ने

टेलिकमको रिचार्ज कार्ड हनी इन्टरप्राइजेजले छाप्ने

नेपाल टेलिकमको रिचार्ज कार्ड छाप्ने ठेक्का हनी इन्टरप्राइजेजले पाएको छ। टेलिकमले ९ करोड वटा ‘पिन’सहितको रिचार्ज कार्ड छाप्ने ठेक्का हनी इन्टरप्राइजेजलाई दिएको हो। ४ करोड ९२ लाख रुपैयाँमा ठेक्का कबोल गरेको हनी इन्टरप्राइजेजको प्रस्ताव टेलिकमले स्वीकृत गरेको छ। टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्रति रिचार्ज कार्ड ४८ पैसाका दरले ठेक्का दिइएको हो। ‘कम्पनीले आवश्यकता अनुसार रिचार्ज कार्ड आपूर्ति गर्नेछ,’ ढकालले भने।

यसअघि टेलिकमले अन्तर्राष्ट्रिय बिडिङ (आइसीबी)मार्फत रिचार्ज कार्ड किन्न टेन्डर निकालेको थियो। त्यसमा विभिन्न ४ कम्पनीले प्रस्ताव हालेका थिए। तर, कुनै पनि कम्पनी प्राविधिकरुपमा योग्य नभएपछि टेलिकमले ठेक्का प्रक्रिया नै स्थगित गरेको थियो। त्यसपछि टेलिकमले गत मंसिर १० गते नेसनल कम्पिटेटिभ बिडिङ (एनसीभी)मार्फत रिचार्ज कार्डको ठेक्का आह्वान गरेको थियो। यसमा हनी इन्टरप्राइजेजको मात्रै प्रस्ताव परेको थियो। हाल रिचार्ज कार्ड आपूर्ति गरिरहेका कम्पनी मिराज प्रिन्टिङ र स्प्रिन्ट प्रिन्टिङले मेसिन बिग्रिएको बहानामा डेलिभरीमा खेलाँची गरेपछि टेलिकम व्यवस्थापनले नयाँ ठेक्का प्रक्रियाबाट नयाँ कम्पनी छानेको हो।

ती दुई कम्पनीले समयमै आपूर्ति नगरिदिंदा केही साता अघिसम्म देशभर नै ५० र १०० दरका रिचार्ज कार्ड अभाव हुन पुगेको थियो। टेलिकमका अनुसार यी दुई कम्पनीले अन्तिम लटको रिचार्ज कार्ड डेलिभरी गरिरहेका छन्। उनीहरुले साढे २ करोड पिनसहितको रिचार्ज कार्ड आपूर्ति गर्न बाँकी छ।

हनी इन्टरप्राइजेजले ठेक्का सम्झौता गरेको दुई महिनापछि रिचार्ज कार्ड डेलिभरी गराउन थाल्नेछ। त्यतिन्जेलसम्म अहिलेकै भेन्डरले उपलब्ध गराउने कार्डले माग धान्ने टेलिकमले जनाएको छ। टेलिकमले रिचार्ज कार्ड किन्न कम्तीमा दुईवटा भेन्डर छान्ने गर्छ। उसले अर्को कम्पनी छान्न अन्तर्राष्ट्रिय बिडिङ (आईसीबी) ठेक्का आह्‍वान गरिसकेको छ।

1155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?