

बैंकहरुमा कर्जाको ब्याजदर निरन्तर घटिरहेको छ । आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग सुस्त हुँदा लगानीयोग्य रकम(तरलता) थुप्रिएसँगै बैंकहरुले घटाउँदै आएको निक्षेपको ब्याजदरले लागत घटेर आधार दर तल आएको छ ।
बैंकहरुले पछिल्लो डेढ वर्षयता निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। जसले गर्दा आधार दर घटेको हो। अहिले तीनवटा वाणिज्य बैंकको आधार दर ६ प्रतिशतभन्दा तल छ।
स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ६ प्रतिशतभन्दा तल आएको हो। स्ट्याण्डर्ड चार्टर्डको आधार दर ५.११ प्रतिशतमा आइपुगेको छ। त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ५.४४ र एभरेष्ट बैंकको ५.६३ प्रतिशतमा झरेको छ।
आधार दर घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्।कर्जाको माग अपेक्षाजनक रुपमा बढ्न नसकेका कारण बैंकहरुले ०.१० प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिइरहेका छन्।
