

नबिल बैंकले आफ्ना ग्राहकहरूका लागि ‘नबिल अफोर्डेबल हाउजिङ’ लोन सञ्चालनमा ल्याएको छ। ग्राहकहरूले कम इएमआईमा घर किन्न वा बनाउन सक्ने गरी बैंकले नयाँ कर्जा सुविधा उपलब्ध गराएको हो।
नबिल बैंककी रिटेल ल्यान्डिङ हेड चाँदनी श्रेष्ठका अनुसार, यस योजनाअन्तर्गत बैंकले अधिकतम ५० लाख रुपैयाँसम्मको कर्जा प्रदान गर्नेछ। ग्राहकहरूले मासिक किस्ता प्रत्येक लाख रुपैयाँका लागि ६३३ रुपैयाँ तिर्नुपर्नेछ। कर्जाको ब्याजदर बैंकको बेसरेट ६.१७ प्रतिशतमा ०.७५ प्रतिशत थप गरी गणना गरिनेछ। बेसरेट हरेक महिना परिवर्तन हुने भएकाले ब्याजदरमा घटबढ हुन सक्छ। बैंकले यो कर्जा ३५ वर्षसम्मको अवधिका लागि उपलब्ध गराउनेछ।
श्रेष्ठका अनुसार, यो कर्जा नयाँ घर बनाउन, नयाँ घर किन्न, वा अपार्टमेन्ट खरिद गर्न प्रयोग गर्न सकिन्छ। कर्जा प्रक्रियाका लागि बैंकले प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र लिने जनाएको छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएमा, कुनै असाधारण परिस्थितिमा (जस्तै, आर्थिक समस्या परेमा) कर्जा भुक्तानीमा छुट वा पुनर्संरचनाको सुविधा समेत उपलब्ध गराइनेछ। लोन लिँदा ग्राहकले निर्माण गर्न लागेको वा किन्न लागेको घर नै धितोका रूपमा राख्नुपर्नेछ।
क्रेडिट कार्ड सुविधा सहितको लोन
यो कर्जा लिँदा ग्राहकले चाहेमा २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड निःशुल्क प्राप्त गर्न सक्नेछन्। यो क्रेडिट कार्ड लाइफ टाइम फ्रि हुनेछ, तर ग्राहकले मात्र ब्याज भुक्तानी गर्नुपर्नेछ।
फाइनान्सिङ सुविधा र किस्ता भुक्तानी
बैंकले ७० प्रतिशतसम्म फाइनान्सिङ गर्नेछ। ग्राहकले हरेक महिनाको २० गतेभित्र मासिक किस्ता बुझाउनु पर्नेछ, साथै अग्रिम भुक्तानी गर्न चाहेमा कुनै अतिरिक्त शुल्क लाग्ने छैन। ‘नविल अफोर्डेबल हाउजिङ’ लोन सञ्चालनमा आएको २ महिना भइसकेको छ। अन्य बैंकको तुलनामा बेसरेट कम भएकाले ग्राहकहरू सन्तुष्ट रहेको श्रेष्ठको दाबी छ। यो कर्जा लिन इच्छुक ग्राहकले नबिल बैंकको नजिकैको शाखामा गएर सम्पर्क गर्न सक्ने छन् ।