

सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा सिफारिस समिति गठन भएको छ । समितिमा मन्त्री पौडेलका साथै नेपाल राष्ट्र बैंककै पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल रहेका छन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ ।
समितिमा पूर्वगभर्नरमध्ये एक जना र आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन क्षेत्रका विज्ञमध्ये एक जना सदस्य रहन्छन् । भट्टराई पूर्वगभर्नर हुन् भने पौडेल मौद्रिक तथा वित्त व्यवस्थापन क्षेत्रका विज्ञ हुन्। वर्तमान गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २४ गते सकिँदैछ।
२०७६ चैत २४ गते नियुक्ति पाएका उनले चैत २५ गतेदेखि कार्यभार सम्हालेका थिए। उनको कार्यकाल सकिन करिब एक महिना बाँकी छँदै सरकारले नयाँ गभर्नर छान्न सिफारिस समिति बनाएको हो।
राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर सिफारिस गर्दा एक जना डेपुटी गभर्नर सिफरिस गर्नैपर्ने भएकाले हाल रहेका दुई डेपुटी गभर्नर स्वतः आकांक्षी छन् भने राष्ट्र बैंककै पूर्व निर्देशक, पूर्वप्रशासक तथ बैंककै बहालबाला प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूमा पनि केन्द्रीय बैंकको १८औँ गभर्नरको आकांक्षीका रूपमा देखिएका छन्।