

पाटन उच्च अदालतको आदेशसँगै चैत ६ मा (भोलि) हुने नेपाल बैंकको सञ्चालक समितिको निर्वाचन रोकिने भएको छ । नेपाल बैंकको सञ्चालकमा विवेक राणाको उम्मेदवारी खारेज गर्ने निर्वाचन समितिको निर्णयसँगै उनले निर्वाचन समितिको उक्त निर्णय विरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । १ चैतमा बैंकको निर्वाचन समितिले राणाले सञ्चालकको लागि दिएको उमेदवारी खारेज गरेको थियो ।
बैंकका पूर्व सञ्चालक राणाले निर्वाचन समितिको उक्त निर्णय विरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । मंगलबार पाटन उच्च अदालतका कायम मुकायम मूख्य न्यायाधीश लाल बहादुर कुँवरको एकल इजलासले बैंकको समुह ‘ख’ अर्थात् सर्वसाधारण समूहका ३ जना सञ्चालकको निर्वाचन रोक्न आदेश दिएको हो ।
राणाको उमदेवारी रद्द गर्ने गरी निर्वाचन अधिकृतबाट १ चैतमा भएको निर्णय आन्तरिक आदेश सम्बन्धमा निर्णय नभएसम्मको ६ चैतमा तय भएको सर्वसाधारण समूहको बैंकको सञ्चालक समितिको निर्वाचन रोक्न आदेश दिएको हो । साथै विपक्षीका नाममा १५ दिनभित्र निवेदकको माग बमोजिम किन आदेश जारी हुनु नपर्ने हो ? भनी १५ दिनभित्र आफै वा कानुन बमोजिमको प्रतिनीधि मार्फत जवाफ पेश गर्न आदेश दिएको हो ।
राणाले नेपाल राष्ट्र बैंक, नेपाल बैंक र निर्वाचन अधिकृत समेतलाई विपक्षी बनाउँदै ४ चैतमा रिट निवेदन दर्ता गरेका थिए । मंगलबार सुनुवाई गर्दै निर्वाचन रोक्न र अन्तरिम आदेशको लागि छलफलमा बोलाएको हो ।