आर्थिक विशेष
ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहारमा उपमेयरको परिवार नै संलग्न: २ जना पक्राउ, ५ फरार

सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीको परिवार नै ज्योति विकास बैंकका कर्मचारीमाथि भएको कुटपिटमा संलग्न रहेको पाइएको छ । नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर चौधरी, उनका श्रीमान् र छोरासहितको समूहले ऋण असुलीका लागि पुगेका कर्मचारीमाथि सांघातिक आक्रमण र दुर्व्यवहार गरेका थिए । गत मंसिर २४ गते ऋणको साँवा–ब्याज नतिरेको विषयमा छलफल गर्न पुगेका ज्योति विकास बैंकका दुई कर्मचारीमाथि उपमेयरको समूहले कुटपिट गर्नुका साथै कालोमोसो दलेर अमानवीय व्यवहार गरेको थियो ।
को-को छन् संलग्न ?
घटनामा उपमेयर ४८ वर्षीया रिता चौधरी, उनका श्रीमान् ५१ वर्षीय सञ्जीव चौधरी र छोरा ३२ वर्षीय सिरज कुमार चौधरीको प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न ७ जनाविरुद्ध सप्तरी जिल्ला अदालतबाट अपमानजनक व्यवहार, शरीर बन्धक र ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ पुर्जी लिएको छ । हालसम्म उपमेयरका श्रीमान् सञ्जीव चौधरी र ४७ वर्षीय उमाकान्त चौधरी पक्राउ परेका छन् । उनीहरूमाथि अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उपमेयर रिता चौधरी र उनका छोरा सिरज भने हाल फरार छन् । त्यस्तै, शम्भुनाथ नगरपालिका–६ का ५२ वर्षीय प्रभुनारायण चौधरी, सोही ठाउँका ५२ वर्षीय पञ्चदेव चौधरी र ठेगाना नखुलेका ५२ वर्षीय रविन्द्र स्वर्णकार पनि फरारको सूचीमा छन् । फरारमध्येका प्रभुनारायण ऋण लिने ‘सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म’का सञ्चालक (प्रोपाइटर) समेत हुन्। फरारहरूको खोजि भइरहेको प्रहरीले जनाएको छ ।
कालोमोसो दलेर लुटपाट
सप्तकोशी नगरपालिका–७ स्थित एग्रो फर्ममा ऋण सेटलमेन्टका लागि पुगेका बैंकको रुपनी शाखाका कर्मचारीहरूमाथि चौधरी परिवारसहितको समूहले सुनियोजित आक्रमण गरेको थियो । उनीहरूले कर्मचारीलाई जुत्ताको माला लगाइदिने, कालोमोसो दल्ने र हातपात गर्ने जस्ता अमानवीय हर्कत गरेका थिए । पीडित कर्मचारीहरूले घटनाका क्रममा आफ्नो धनमाल समेत लुटिएको जनाएका छन् । प्रहरीमा दर्ता भएको जाहेरीमा उल्लेख भएअनुसार बैंकका एक कर्मचारीको सुनको औंठी र सिक्री समेत लुटिएको छ ।
प्रहरीको भूमिकाप्रति बैंक वित्तीय संस्थाको आपत्ति
घटना लगत्तै बैंकका कर्मचारी उजुरी लिएर प्रहरी कार्यालय पुगे पनि प्रहरीले जाहेरी दर्ता गरेन । सुरुमा प्रहरीले ‘रित नपुगेको’ भन्दै पीडितलाई फिर्ता पठाएको थियो ।
प्रहरीको असहयोगपछि नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्र रेग्मीले राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेर घटनाबारे जानकारी गराएका थिए। लगत्तै गभर्नर पौडेलले गृहमन्त्री ओमप्रकाश अर्याललाई फोन गरी घटनाबारे अवगत गराउँदै दोषीमाथि कारबाहीको माग गरेका थिए ।
गृहमन्त्री अर्यालले कडा कारबाहीको आश्वासन दिएपछि मात्र प्रहरीले घटनाको ४ दिनपछि जाहेरी दर्ता गरेको हो । प्रहरीको यस्तो भूमिकाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन), नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले कडा आपत्ति जनाएका थिए । नेपाल राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै बैंकका कर्मचारीमाथि दुर्व्यवहार गर्ने माथि कारबाही हुने स्पष्ट पारेको थियो ।
साढे ४ करोड ऋण
एग्रो फर्मले २०७८ वैशाख २३ गते ज्योति विकास बैंकबाट साढे ४ करोड रुपैयाँ ऋण लिएको थियो । यसका लागि ३ बिघा १४ कठ्ठा र १६ कठ्ठा ८ धुर गरी कुल ४ बिघा ८ धुर जग्गा धितो राखिएको छ । चार जना सेयरधनी रहेको उक्त कम्पनीले माछा, कुखुरा, बाख्रा, हाँस पालनका साथै दानाको डिलर र तरकारी खेती गर्दै आएको थियो । गत चैतदेखि ऋणीले ब्याज नतिरेपछि बैंकले ताकेता गरेको थियो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार
































































