नेपाल प्रहरीले देशका बिभिन्न ठाउँका जुवाको खालबाट एकै दिन १०३ जनालाई पक्राउ गर्यो। उनीहरुबाट दशौँ लाख नगद तथा जिन्सी बरामद गर्यो। त्यस्तै बाँसबारीको एक घरबाट २५ जना जुवाडे र २ करोड ६७ लाख नगद रकम बरामद गर्यो।
गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा दैनिकजसो जुवाको खालबाट नगद र जिन्सी सहित पक्राउ परिरहेका छन।
प्रहरीले यसरि समातेको मान्छे कानुनि प्रकृया पुरा गरेपछि छुट्लान तर समातिएको नगद र जिन्सी के हुन्छ भन्नेमा धेरैको चाँसो रहेको देखिन्छ। जुवा खालबाट बरामद भएको रकम र जुवा खेल्न वा खेलाउन प्रयोग भएका सबै सामानहरु जफत गरी राज्यको ढुकुटीमा लैजाने कानुनी व्यवस्था छ।
मुलुकी अपराधसंहिता २०७४ ले जुवा खेल्ने र खेलाउनेलाई गर्ने कानुनी कारवाही, दण्ड सजाय आदिबारे स्पष्ट पारेको छ। मुलुकी अपराधसंहिता २०७४ को दफा १२५ ले जुवा खेले वा सट्टेबाजी गरेमा त्यो अपराध हुने भनेको छ। यहि दफाको उपदफा २ मा यदि जुवा खेले वा खेलाएमा गरिने सजायको व्यवस्था गरेको छ।
३ महिनासम्म कैद, ३० हजार जरिवाना
उपदफा २ को कमा पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गरिने उल्लेख छ। त्यसैगरी यदि कोही व्यक्ति दोस्रोपटक जुवा खालबाट पक्राउ परेको छ भने एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप ३ महिनासमम कैद र थप १० हजार रुपैयाँसम्म जरिवाना गरिने उल्लेख छ।
कहाँ जान्छ बरामद रकम र जिन्सी सामान ?
मुलुकी अपराध संहिता २०७४ को दफा २५ को उपदफा ३ मा जुवा खालमा समातिएको सम्पूर्ण चल अचल सम्पत्ति जफत हुने कुरा उल्लेख छ । यद्दपी जुवा खेल्न प्रयोग भएका घर, कोठा र सवारीसाधन भने बरामद नहुने स्पष्ट छ। यस आधारमा कानुनी व्यवस्थाअनुसार नेपाल प्रहरीले जुवाको खालबाट बरामद गरेको नगद र जिन्सी सरकारी राजश्वमा जम्मा हुनेछ।