बैंक अफ काठमाण्डू (बीओके) ले आजबाट १० वर्ष अवधिको ऋण पत्र निष्कासन गरेको छ। बैंकले जारी गरेको ऋणपत्र मंसिर २८ गतेसम्म खरीद गर्न पाइने छ। यो अवधिमा बिक्री नभए पुस ८ गतेसम्म निष्कासन गरिने छ।
प्रति कित्ता १००० रुपैयाँ दरका ऋणपत्रको ब्याज दर ८.५ प्रतिशत छ। न्यूनतम २५ र अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ।
बैंकले एक अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो। यसमध्ये ६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। यसमध्येको ५ प्रतिशत अर्थात ३२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
बाँकी ९६ करोड रुपैयाँ बराबरको ऋणपत्र विभिन्न ब्यक्ति तथा संस्थाहरुलाई ‘प्राइभेट प्लेसमेन्ट’ मार्फत बिक्री गरिने छ।