गत आर्थिक वर्षबाटै शुरु भएको तरलता अभाव चालु आर्थिक वर्ष शुरु हुँदा समेत समाधान हुन सकेको छैन । गत आर्थिक वर्षको पछिल्लो ६ महिनामा बैंक तथा वित्तीय संस्थाको नयाँ कर्जा प्रवाह ठप्प नै भयो । यस बीचमा पनि बैंकहरुको खुद नाफामा भने वृद्धि भएको देखिन्छ ।
गत आर्थिक वर्ष वाणिज्य बैंकहरूको खुद नाफा करिब २३ प्रतिशतले वृद्धि भएको छ । लगानीयोग्य रकम नभएकाले बजार मागअनुसार कर्जा प्रवाह गर्न नसकेको समयमा पनि बैंकहरुको नाफामा वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि बैंकहरूको खुद नाफा करिब २० प्रतिशतले मात्र बढेको थियो ।
गत आर्थिक वर्षमा तीव्र रूपमा व्यवसाय विस्तार गरेर भन्दा पनि उत्कृष्ट पोर्टफोलियो व्यवस्थापनमार्फत बैंकहरूले अपेक्षाभन्दा राम्रो नाफा आर्जन गरेको बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताउनुहुन्छ ।
गत आर्थिक वर्षमा धेरैजसो बैंकको ब्याज आम्दानी बढेको पनि उपाध्यायको भनाइ छ । गत आर्थिक वर्षमा केही बैंकको कर्जा असुली राम्रो भएकाले पनि नाफा वृद्धिमा टेवा पुगेको उहाँ बताउनुहुन्छ । गत आर्थिक वर्षमा २६ वटा वाणिज्य बैंकले कुल ७४ अर्ब ८० करोड रुपैयाँ खुद नाफा गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आर्थिक वर्षको खुद नाफा औसत २३.१४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा (त्यति बेला) सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले ६० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
कुन बैंकको कति नाफा
२६ वटा वाणिज्य बैंकको नाफा औसतमा २३.१४ प्रतिशतले बढेको हो । २६ मध्ये ३ वटा बैंकको नाफा घटेको छ । प्रकाशित वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकको छ । राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड ४२ लाख ४७ हजार नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।
यस्तै ग्लोबल आइएमई बैंकले असार समान्तसम्म ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा २५ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको थियो । नबिल बैंकले गत असार मसान्तसम्म ४ अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.८३ प्रतिशतले बढी हो ।
यस्तै धेरै नाफा कमाउने बैंकमा एनआइसी एशिया पनि रहेको छ । बैंकले असार मसान्तसम्ममा ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.८६ प्रतिशतले बढेको छ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले गत असार मसान्तसम्म ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा बैंकको नाफा १४.८३ प्रतिशतले बढेको छ ।
यस्तै प्राइम बैंकले गत आवमा ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २६ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।
यस्तै एनएमबि बैंकको पनि नाफा ३६.५२ प्रतिशतले बढेर ३ अर्ब ७० करोड १३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ७१ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको थियो ।
सिद्धार्थ बैंकको नाफा गत अघिल्लो आवको तुलनामा १२.७८ प्रतिशतले बढेर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ रहेको थियो ।
यस्तै प्रभु बैंकले २ अर्ब ६० करोड ३ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.१० प्रतिशतले बढेको छ । सिटिजन्स बैंकले गत आवमा २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.७६ प्रतिशतले बढेको छ ।
माछापुच्छ्रे बैंकले गत आवमा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३४.४२ प्रतिशतले बढेको छ । यस्तै सनराइज बैंकको नाफा ४८.६९ प्रतिशतले बढेर २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
लक्ष्मी बैंकको नाफा भने थोरै अंकले बढेको छ । एक वर्षको अवधिमा बैंकको नाफा १.७६ प्रतिशतले बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ पुगेको छ । एनसीसी बैंकको नाफा पनि एक वर्षको अवधिमा ५१.९७ प्रतिशतले बढेर २ अर्ब २ करोड २२ लाख २२ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको थियो । बैंकले एक वर्षको अवधिमा नाफा आर्जनमा आक्रामक चमत्कार गरेको छ ।
स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा पनि ६२.२६ प्रतिशतले बढेर २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३९ करोड ८८ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।
एभरेष्ट बैंकको नाफामा पनि उल्लेख्य सुधार देखिएको छ । एक वर्षको अवधिमा बैंकको नाफा ४३.७६ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।
कुमारी बैंकको नाफामा पनि गत वर्ष निकै प्रगति देखिएको छ । एक वर्षमा बैंकको नाफा ४३.८६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।
नेपाल एसबीआई बैंकको पनि नाफा ७० प्रतिशतले बढेर १ अर्ब ६३ करोड ८२ लाख ८४ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ९६ करोड ३४ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।
नेपाल बैंकको नाफा एक वर्षको अवधिमा १०.२९ प्रतिशतले बढेर ३ अर्ब २६ करोड ६० लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ९६ करोड १२ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
बैंक अफ काठमाण्डूको नाफा ४.८५ प्रतिशतले बढेर १ अर्ब ८१ करोड २ लाख ७६ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १ अर्ब ७२ करोड ६४ लाख ९ हजार रुपैयाँ रहेको थियो । मेगा बैंकको पनि नाफा २१.७७ प्रतिशतले बढेर २ अर्ब ८३ करोड १८ लाख ६४ हजार पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २ अर्ब ३२ करोड ५४ लाख २९ हजार रुपैयाँ रहेको थियो ।
वितरणयोग्य मुनाफा ५६ अर्ब ७८ करोड
२६ बैंकको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा ५६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले दुई वर्षदेखि नगद लाभांशमा कडाइ गरेपछि बैंकहरूले लगानीकर्तालाई बोनस सेयर मात्रै वितरण गर्दै आएका थिए । यसपालि मौद्रिक नीतिले नै बैंकहरूलाई नगद लाभांश बाँड्ने ढोका खोलिदिएको छ । कोभिडको समयमा दिइएका सुविधाहरू खोसिएसँगै नगद लाभांश वितरणमा समेत राष्ट्र बैंक उदार देखिएको हो ।
५ खर्ब १५ अर्ब रुपैयाँ मात्र थप कर्जा विस्तार
गत आर्थिक वर्ष ०७८/७९ मा बैंक तथा वित्तीय संस्थाले कुल ५ खर्ब १५ अर्ब रुपैयाँ मात्र थप कर्जा विस्तार गरेका छन् । ०७८ असारको तुलनामा यो करिब १२.३ प्रतिशतले बढी हो भने राष्ट्र बैंकले तय गरेको वार्षिक कर्जा विस्तार लक्ष्यको करिब ६५.५ प्रतिशत मात्र हो ।
गत आर्थिक वर्षका लागि राष्ट्र बैंकले निजी क्षेत्रतर्फ १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य तय गरेको थियो । यसअनुसार बैंक तथा वित्तीय संस्थाले कुल ७ खर्ब ८६ अर्ब रुपैयाँ थप कर्जा विस्तार गर्नुपर्ने थियो ।
तरलता (लगानीयोग्य रकम) नभएको भन्दै बैंक तथा वित्तीय संस्थाले आवको पछिल्लो ६ महिना कर्जा प्रवाह नै ठप्प बनाएपछि वार्षिक लक्ष्यभन्दा करिब ७ प्रतिशत कम कर्जा विस्तार भएको हो । अघिल्लो आर्थिक वर्षका लागि राष्ट्र बैंकले निजी क्षेत्रतर्फ २० प्रतिशत कर्जा विस्तारको लक्ष्य तय गरेकामा बैंक तथा वित्तीय संस्थाले २८ प्रतिशतभन्दा बढीले कर्जा विस्तार गरेका थिए ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामै बैंक तथा वित्तीय संस्थाहरूले ४ खर्ब २२ अर्ब रुपैयाँ थप कर्जा विस्तार गरेका थिए । यो राष्ट्र बैंकले गत आवका लागि तय गरेको वार्षिक लक्ष्यको करिब ६० प्रतिशत थियो । त्यति बेला बैंक तथा वित्तीय संस्था आक्रामक रूपमा कर्जा विस्तारमा लागेकाले नियन्त्रण गर्न भन्दै राष्ट्र बैंकले निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन र तरलता अभाव कायमै रहेकाले पछिल्लो ६ महिनामा भने थप कर्जा विस्तार ठप्प जस्तै रह्यो ।
यद्यपि अघिल्लो आर्थिक वर्षको कर्जा विस्तार वृद्धिदर पछिल्लो ५ वर्षयताकै उच्च भएको तथ्यांकहरूले देखाएका छन् । पछिल्ला ५ वर्षमा बैंकहरूको कर्जा विस्तार दर औसत २२ प्रतिशत छ । उक्त अवधिमा न्यूनतम १६ देखि अधिकतम २८ प्रतिशत वार्षिक कर्जा विस्तार भएको देखिन्छ ।