सिटिजन्स बैंकले ८४ करोड रुपैयाँ बढी खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८४ करोड बढी नाफा गरेको हो ।
बैंकले गत आर्थिक वर्षको सोही त्रैमासमा १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस बैंकको नाफा ३१.७० प्रतिशतले घटेको छ ।
यस्तै, बैंकको निक्षेप भने बढेको छ । बैंकले दोस्रो त्रैमाससम्म कुल १ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा १ खर्ब ४२ अर्ब रुपैयाँ लगानी गरेको छ । यस बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने कुल १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
दोस्रो त्रैमासमा बैंकहरुको ऋण असुलीमा समस्या भएको कारण नाफा घटेको बैंकले जनाएको छ । दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा २.९९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही त्रैमासमा बैंकको खराब कर्जा २.८९ प्रतिशत थियो ।