युनाइटेड स्टेट्स फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन, एफडीआईसी ले शुक्रबार बिहान सिलिकन भ्याली बैंकको सबै सम्पती कब्जा गर्यो। सिलन भ्याली बैंकको यो अवस्था नै सन् २००८ को आर्थिक मन्दीमा वाशिंगटन म्युचुअल फण्ड को असफलतापछिको दोस्रो घटना बन्न पुग्यो।
प्रविधिको क्षेत्रमा काम गर्ने व्यक्ति तथा सँस्था र बिभिन्न कम्पनीमा लगानी गर्ने सँस्था ‘भेन्चर क्यापिटल’ हरुले बैंकमा रहेको आफ्नो पैसा निकाल्दा ‘बैंक रन’ हुन पुग्यो र सिलिकन भ्याली बैंक एफडीआईसी को नियन्त्रणमा पुग्यो।
सिएनबिसी, रिउटर्स, सिएनएन, अल्जजिरा लगायतका संचार माध्यममा आएका समाचारअनुसार बुधबारदेखि बिहिबार बेलुकासम्म अर्थात ४८ घन्टाको अवधिमा सिलिकन भ्याली बैकबाट मात्रै ४० अर्ब अमेरिकी डलर झिकियो। बैंकबाट पैसा निकाल्ने क्रमलाई व्यवस्था गर्न नसक्दा अन्तत: ४० बर्षदेखिको इतिहास मेटाउदै अमेरिकाको १६ औं ठुलो बैंक त्यहाँको नियामकको नियन्त्रणमा पुग्यो।
बैंक शुक्रबार बिहानदेखि अमेरिकाको सरकारी सँस्था एफडीआइसी को पूर्ण नियन्त्रणमा रहेको छ। एफडीआईसी १९३३ मा स्थापना भई अमेरिकाका बैंक वित्तीय सँस्थाहरुमा रहेको निक्षेपको वीमा गर्ने, निक्षेप तथा बैंकले लगानी गरेका व्यवसायको परिक्षण तथा अनुगमन गर्ने सँस्था हो। अमेरिकाका राष्ट्रपति तथा त्यहाँको सिनेटले संचालक समिति गठन गर्दछ र संस्थामा अमेरिकन सरकारको पूर्ण नियन्त्रण रहन्छ।
सिलिकन भ्याली बैंक प्रविधि तथा भेन्चर क्यापिटलको क्षेत्रमा काम गर्नेहरुमा नकारात्मक रुपमा प्रचार हुन पुग्यो। जसले गर्दा यी दुवै क्षेत्रमा आबद्द व्यक्ति तथा सँस्थाहरुले ४८ घन्टाको अवधिमा मात्रै ४० अर्ब अमेरिकी डलर निक्षेप निकाले। ठुला बैंकहरुले अन्य बैंक तथा सरकारसँगको सहकार्य र समन्वयमा निक्षेपकर्ताको पैसा भनेको बेला उपलब्ध गराउन र त्यसको व्यवस्थापन गर्दै आएपनि यो काम गर्न सिलिकन भ्याली बैंक असफल हुनु नै बैंक नियामकको नियन्त्रणमा पुग्ने कारण बन्न पुग्यो।
बैंकले निक्षेपकर्ताको पैसा व्यवस्थापन तथा ब्यालेन्स सिट मिलाउनकै लागि बुधबार मात्रै झन्डै २१ अर्ब अमेरिकी डलर बराबरको बोन्ड, जसमा सरकारी बोन्ड बढी थियो, बिक्रि गर्यो। र बिहिबार २ अर्ब २५ करोड अमेरिकी डलर बराबरको सेयर बेच्ने घोषणा गर्यो। तर बैंकले बिक्रि गरेर आएको र आउँन सक्ने पैसा भन्दा बैंकबाट निकालिएको पैसाको ‘भोलुम’ ठुलो भएपछि सिलिकन भ्याली बैंक असफल भएको हो।
सिलिकन भ्याली बैंकसँग २०९ अर्ब अमेरिकी डलर बराबरको सम्पती तथा १७५ अर्ब ४० करोड अमेरिकी डलर बराबरको निक्षेप भएको एफडीआइसीको स्टेटमेन्टमा उल्लेख छ। यद्दपि १७५ अर्ब ४० करोड अमेरिकी डलर निक्षेप मध्ये कति वटा निक्षेप २ लाख ५० हजार भन्दा बढीका छन्।
किनकि एफडीआईसी मा आबद्द बैंक वित्तीय सँस्थाको २ लाख ५० हजार अमेरिकी डलर बराबरको बीमा स्वत: हुने गर्दछ। र बैंक बन्द भएको अर्को दिन अर्थात सोमबारसम्ममा जसको निक्षेप २ लाख ५० हजार सम्म छ उनीहरुले उक्त पैसा फिर्ता पाउने समेत एफडीआईसी ले जनाएको छ। यद्दपि सिलिकन भ्याली बैंकको नाममा रहेको २०९ अर्ब अमेरिकी डलर बराबरको सम्पती कसले खरिद गर्दैछ भन्नेबारे एफडीआईसी ले केहि बोलेको छैन।
समस्याको सुरुवात
अहिले वृद्धि भएको ब्याजदर र त्यसको असरलाई व्यवस्थापन गर्नलाई १ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको पुंजी वृद्धि गर्ने बैंकको योजना बाहिर आउनुले नै बैंकको खराब दिनको सुरुवात भएको त्यहाँका विश्लेषकहरुको भनाई छ। न्युवर्क स्टक एक्सचेन्ज पछिको दोस्रो ठुलो स्टक एक्सचेन्ज नासदाक मा सेयर कारोबार सुरु हुनु भन्दा अगाडी नै सिलिकन भ्याली बैंकको फ़ाइनान्सिय्ल ग्रुपको, बैकको प्यारेन्ट कम्पनीको सेयर मुल्य ७० प्रतिशतले घट्नुनै बैंक डुब्न लाग्यो भन्ने संदेश पहिल्यैदेखि बजारमा फैलिएको थियो भन्ने गतिलो उदाहरण हो।
घाउको हप्ता
अमेरिकाको १६ औं ठूलो बैंकको रूपमा संचालनमा रहेको सिलिकन भ्याली बैंक आफैंमा सानो बैंक थिएन। यसले उद्यम पूंजी-समर्थित (VC-समर्थित) कम्पनीहरूको लागि एक प्रमुख ‘वित्तीय लगानीकर्ता’ को रूपमा काम गर्दथ्यो। तर अमेरिकाको फेडरल रिजर्भले ब्याजको दर बढाएकाले अमेरिकन नागरिकहरुले जोखिमपूर्ण प्राविधिक सम्पत्तिहरूमा लगानी गर्नलाई कम चाँसो दिन थाले। जस कारण विगत १८ महिनादेखि सिलिकन भ्याली बैंक अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको थियो।
VC-समर्थित कम्पनीहरूलाई उनीहरूको खर्च धान्न सिलिकन भ्याली बैंकबाट कम्तिमा दुई महिनाको “बर्न” नगद बाहिर निकाल्न सल्लाह दिइयो। सामान्यतया, VC-समर्थित कम्पनीहरू नाफामुखी हुँदैनन् र उनीहरूले आफ्नो व्यवसाय चलाउनको लागि कत्तिको चाँडो नगद प्रयोग गर्छन् – तिनीहरूको तथाकथित “बर्न रेट” – लगानीकर्ताहरूको लागि महत्त्वपूर्ण ‘मेट्रिक’ हो।
बैंक अफ अमेरिका र जेपी मोर्गन जस्ता विविध बैंकहरूको सेयर प्रारम्भिक गिरावटबाट बाहिर निस्कियो किनभने श्रम विभागले शुक्रबार जारी गरेको तथ्याङ्कले फेब्रुअरीमा ज्याला वृद्धि घटेको देखाएको थियो। तर क्षेत्रीय बैंकहरू, विशेष गरी ती टेक उद्योगमा भारी एक्सपोजर भएकाहरू, गिरावटमा थिए।
सिलिकन भ्याली बैंकको समस्याले कसरी सस्तो पैसाको युगको अन्त्य गरी मुद्रास्फीतिसँग लड्न अमेरिकी फेडरल रिजर्भ र अन्य केन्द्रीय बैंकहरूको अभियानले बजारमा कमजोरीहरू उजागर गरिरहेको छ भनेर औंल्याएको छ। अमेरिकी फेडरल रिजर्भले ४ प्रतिशतको ब्याजलाई बढाएर ४.७४ प्रतिशत पुर्याएको छ र यो रेट २०२३ को अन्त्यसम्म ५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। यसले आगामी दिनमा मुद्रास्फिति रोक्न अमेरिकी सरकारले ब्याजदर बढाउँदा अन्यन्त्र लगानीको वातावरण नहुँदा बैंकलाई कुन ठाउँमा पुर्याउन सक्छ भन्ने संदेश दिएको छ।
सम्झायो तत्कालिन नेपाल बंगलादेश बैंकको घटना
सिलिकन भ्याली बैकको घटनालाई नजिकबाट नियालेका एक बैंकर भन्छन, ‘कुनै बेला एउटा समाचारका कारण तत्कालिन नेपाल बंगलादेश बैंकमा पैसा झिक्नेको लाइन लागेको थियो। बैंकमा पैसा राख्ने भन्दा पैसा झिक्नेको संख्या बढेपछि ‘बैंक रन’ को अवस्था आइसकेको थियो। तर त्यो बेला केहि अरु कमर्शियल बैंकले तत्कालिन बंगलादेश बैंकमा निक्षेपको रुपमा पैसा राखे। र नेपाल राष्ट्र बैंकले पनि तुरुन्त ‘एक्सन’ लियो र बैंक बन्दबाट जोगियो। सिलिकन भ्याली बैंकको घटना पनि उस्तै उस्तै हो। तर उसले ‘बैंक रन’ हुनबाट जोगिन सकेन र नियामकको नियन्त्रणमा पुग्यो।’