समाचार
सर्वसाधारणले आफैंसँग पैसा राख्न थाले, दुई महिनामा १५ अर्ब ३८ करोड बढी सर्वसाधारणको हातमा
दुई महिनायता नगद कारोबार पुन: बढ्न थालेको छ। दसैंतिहारताका ठूलो मात्रामा नगद कारोबार बढेकोमा कात्तिकपछि क्रमश: घटिरहेको थियो, तर माघ लागेपछि पुन: बढ्न थालेको छ।
नगद कारोबार बढ्नुको अर्थ सर्वसाधारणले आर्थिक कारोबार वृद्धि गरेको विश्लेषण गर्न सकिन्छ भने अनौपचारिक बजारमा पैसा जान थालेको पनि अनुमान गर्न मिल्छ।
नेपाल राष्ट्र बैंकले फागुनसम्मको तथ्यांक सार्वजनिक नगद कारोबार क्रमश: बढेको जनाएको छ।
दसैंपछि क्रमश: घट्न थालेको नगद कारोबार माघमा केही सुधार देखिएको थियो। पुसमा ६ खर्ब १ करोड १६ लाख रुपैयाँमा झरेको चलनचल्तीको नोट माघमा ५ अर्ब ६० करोड ९६ लाख रुपैयाँले बढेको थियो।
फागुनमा थप ९ अर्ब ७७ करोड १४ लाख रुपैयाँले बढेको छ। अर्थात पुसपछि माघ र फागुनमा १५ अर्ब ३८ करोड १० लाख रुपैयाँले नगद कारोबार बढेको छ।
दसैंताका अर्थात असोजमा यस्तो नोट ६ खर्ब ४९ अर्ब ४२ करोड २७ लाख रुपैयाँ चलनचल्तीमा थियो। त्यसपछि क्रमश: घटेर ६ खर्ब एक करोडमा आएको थियो, यो भनेको पुस महिनामा हो। माघ लागेपछि पुन: चलनचल्तीको नोट बढेको छ।
बजारमा माग घटेको र बिक्री भएको सामानको पनि पैसा नउठ्ने समस्या बढेको छ। तरलता अभावसँगै बढेको ब्याजका कारण महँगी बढेको छ। अर्कोतिर डलरसँगै पेट्रोलियमको भाउ पनि बढेको छ। अन्तर्राष्ट्रिय आर्थिक गतिविधि पनि घटेर आन्तरिक बजार प्रभावित भइरहेको छ।
व्यवसायीहरुले उत्पादनको माग नबढेको, बैंकहरुले खराब ऋण वृद्धि हुँदै गएको, राष्ट्र बैंकले महँगी उक्लिएको तथ्यांक प्रस्तुत गरिरहँदा नगदको कारोबारमा वृद्धि भएको छ।
बैंक तथा वित्तीय संस्थामा भएको नगदलाई चलनचल्तीको पैसाका रुपमा बुझिँदैन। बैंकिङ प्रणाली बाहिर मान्छेको हातहातमा पुगेको, सहकारी, अन्य संघ संस्थालगायतसँग भएको पैसालाई चलनचल्तीको नोटका रुपमा बुझिन्छ। यस्तो पैसा बढ्नुको अर्थ सर्वसाधारणले आफैंसँग पैसा राख्ने क्रम वृद्धि भएको बुझाउँछ।