नेपाल बैकर्स एसोसिएसन (एनबीए)ले वर्षौंदेखि सहमतिमार्फत एउटै ब्याजदर प्रकाशित गर्ने निर्णयलाई यसपटक निरन्तरता दिएन र बैंकहरुले आफ्नो रणनीतिक योजनाअनुसार ब्याजदर प्रकाशित गरे। धेरै समयपछि एएलसीओ मा गहन छलफलपश्चात ब्याजदर प्रकाशित गरे बैंकहरुले।
यसरी बैंकहरुले ८.९५% प्रतिशतदेखि १०.९८% सम्मको ब्याजदर प्रकाशित गरेपछि सामाजिक सञ्जालमा फेरि रोइलो र गाली सुरु भयो। हिजोसम्म एनबीएले ब्याजदरमा सिन्डिकेट गर्यो, कार्टेलिङ गर्यो, खुला बजारमा यस्तो किन ? भनेर रोइलो गर्नेहरु फेरि अर्को बहानामा बैंकर्स र बैंकहरुका बारेमा नराम्रो लेख्न र बोल्न थाले। हैन गर्न पर्ने चैँ के रै छ?
म नबिल बैंकसँग सम्बद्ध छु । कतिपय साथीहरुले नबिलजस्तो बैंकले नि किन यस्तो गरेको भनेर प्रश्न गर्नुभयो। यसर्थ यस सम्बन्धमा केही धारणा राख्न चाहे।
१. खुला बजारमा संस्थाहरुले आफ्नो योजनाअनुसारका दरहरु प्रकाशित गर्ने हो। नौवटा बैंकहरुले ब्याजदर घटाएका छन्, पाँचवटाले बढाएका छन् भने ६ वटाले यथावत प्रकाशित गरेका छन। औसत उच्चतम ब्याजदर ९.९९% बाट घटेर ९.७८% कायम भएको छ। यसैले बैंकहरुले ब्याजदर औसतमा घटाएका छन्।
२. बढ्दो खराब कर्जा र घट्दो कर्जा मागका कारण होस् वा पुँजी पर्याप्तता यथेष्ट नभएका बैंकहरु यथास्थितिमा रहने निर्णय लिए र यथावत ब्याजदर कायम गरे। आफ्नो सीडी रेसियो सहज भएका अनि बजारमा तरलता पर्याप्त छ र केही निक्षेप घट्दैमा फरक पर्दैन लागत घटाऔँ, बेस रेट घटेमा व्यापार गर्ने पनि सजिलो हुन्छ भन्ने धारणा राख्ने बैकहरुले ब्याजदर घटाए। साउन महिनामा ठूलो रकमको संस्थागत निक्षेप नवीकरण गर्नुपर्ने, सीडी रेसियो ठिक्क भएका र व्यापार वृद्धि निरन्तरता दिनुपर्छ भनेर रणनीति लिने बैंकहरुले ब्याजदर बढाए। सबैको रणनीति एउटै र अवस्था एउटै हुँदैन, यो बुझ्नुपर्दछ।
३. ब्याजदर बढाउँदा पनि समग्र निक्षेपको लागत कम नै रहन्छ किनकि गत वर्षसम्म संस्थागत निक्षेपकर्तालाई मुद्दति निक्षेप व्यक्तिगत निक्षेपकर्ताको भन्दा २% कम हुनुपर्ने व्यवस्था थिएन। ब्याजदर बढ्दा पनि ठूलो रकमको संस्थागत निक्षेपकर्ताको निक्षेप कम दरमा नवीकरण हुनेछ। यसैले निक्षेपको औसत लागत घट्ने नै छ।
४. नबिल बैंकको हकमा असार सम्म ५.२०% (एनबीबीलाई प्राप्ति गरेका कारण १ वर्षसम्म थप १% स्प्रेड कायम राख्न पाउने सुविधासहित) रहेको स्प्रेडलाई साउन महिनाभित्रमै ४% मा झार्नुपर्नेछ। यसरी ब्याजदर अन्तरलाई घटाउँदा यसको फाइदा ग्राहकलाई दिनुपर्ने हुन्छ। हामीले निक्षेपकर्तालाई ३०% को हाराहारी र कर्जा ग्राहकहरुलाई ७०% हाराहारी लाभ बाँड्नुपर्छ भन्ने आधार बनायौँ। १८ लाखभन्दा बढी निक्षेपकर्तालाई ३०% लाभ र ४० हजार हाराहारी कर्जा ग्राहकहरुलाई ७०% लाभ दिन खोज्दा पनि सबै लाभ कर्जा ग्राहकलाई दिनुपर्छ भन्ने कुरा पक्कै राम्रो हुन्थेन। कर्जा ग्राहकलाई एकपटक प्रिमियम घटाइसकेपछि बढाउने कुरामा नेपाल राष्ट्र बैंकको निर्दैशन १५ बाधक छँदैछ। यसैले यति समझदारीपूर्वक लिइएको रणनीतिक निर्णय नबुझेर नबिलजस्तो बैंकले यसो गर्यो भन्ने टिप्पणीमा जबाफ लेख्न मन लाग्यो।
खुला बजारमा आफ्नो व्यावसायिक रणनीतिअनुसार संस्थाहरुले फरक–फरक निर्णय लिन्छन् र ग्राहकलाई धेरै विकल्प प्राप्त हुन्छ पनि यसर्थ बैंकिङ र यसका निर्णयहरुलाई सतही रुपमा बुझेर वितृष्णा फैलाउने प्रकारका टिप्पणी नभईदिए हुन्थ्यो भन्ने अपेक्षा छ।
(मनोज ज्ञवाली नबिल बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत छन्।)