जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • सेञ्चुरी बैंक प्रकरण : पछिल्लो पटक पक्राउ परेका सबैसँग बयान, अब राय प्रतिवेदन लेखिँदै

सेञ्चुरी बैंक प्रकरण : पछिल्लो पटक पक्राउ परेका सबैसँग बयान, अब राय प्रतिवेदन लेखिँदै

धितो मूल्यांकनमा बदमासीको घटना छानबिनका क्रममा पछिल्लो पटक समातिएका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ९ जनाको बयान सकिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सरकारी वकिल समक्ष बयान गराएको हो।

प्रहरीले जेठ २८ गते अध्यक्ष श्रेष्ठसहित ९ जनालाई पक्राउ गरेको थियो। उनीहरुलाई दुई दिनको म्याद थप गरेर हिरासतमा राखि बयान लिएको थियो। बैंकका अध्यक्ष श्रेष्ठ, सञ्चालक समितिका तत्कालीन सदस्यहरु सुनिलकुमार न्यौपाने, प्राडा. गीताभक्त प्रधान, रमेशकुमार निरौला, उमाकुमारी श्रेष्ठ, राजेशकुमार दली र शिव रिसाललाई पक्राउ गरेको थियो।

उनीहरुको बयान सकिएसँगै प्रहरीले अनुसन्धानलाई टुंग्याएर राय प्रतिवेदन लेख्ने तयारी थालेको छ। ‘बयान सकिएको छ। अब प्रतिवेदन लेखेर चाँडै मुद्दा बुझाउँछौं,’ ब्युरोका एआइजी श्याम ज्ञवालीले भने।

बैंकले दिएको ऋणमध्ये ९७ करोड ४१ लाख रुपैयाँ धितोले खाम्नेभन्दा बढी (ओभर भ्यालुएसन) भएको अनुसन्धानबाट देखिएपछि सीआइबीले उनीहरुलाई पक्राउ गरेको थियो।

सीआइबीले कर्जा प्रवाहको विषयमा यसअघि फागुन १५ गते तत्कालीन सेञ्चुरी बैंकका १० कर्मचारीलाई पक्राउ गरेको थियो। त्यसबेला बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृतहरु तुलसीराम गौतम र मनोज न्यौपानेसहित पक्राउ परेकामा उनीहरु पनि हाजिरी जमानीमा छुटेका थिए। उनीहरुसँग प्रहरीले पूरक बयान लिएको थियो। त्यही बयान र राष्ट्र बैंकले गरेको अनुसन्धान पछि बुझाएको प्रतिवेदनको आधारमा अध्यक्ष श्रेष्ठसहित ९ जना समातिएका हुन्।

750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका