![बैंक तथा वित्तीय संस्थाहरूबाट हुने शंकास्पद कारोबारमा अत्यधिक वृद्धि](http://aarthikbazarnews.com/wp-content/uploads/2024/07/unnamed-32-1.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
बैंक तथा वित्तीय संस्थाहरूबाट हुने शंकास्पद कारोबारमा वृद्धि भएको राष्ट्र बैंकको एक प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकको वित्तीय जानकारी एकाइ (एफआईयू) ले सन् २०२३ मा शंकास्पद कारोबार ५७ प्रतिशतले बढेको राष्ट्र बैंकको एक प्रतिवेदनले देखाएको छ ।
सन् २०२० मा बैंक तथा वित्तीय संस्थाहरूबाट १ हजार १०३ वटा शंकास्पद कारोबार भएको देखिएको थियो। त्यसको पछिल्लो वर्ष अर्थात् २०२१ मा यस्तो कारोबार बढेर १ हजार ८५४ वटामा पुग्यो। त्यसपछिको एकै वर्षमा यस्तो कारोबारमा ४६.५९ प्रतिशतले वृद्धि भएको देखिएको छ। सन् २०२२ मा ३ हजार ९७९ वटा शंकास्पद कारोबार राष्ट्र बैंकले भेटेको थियो। सन् २०२१ को तुलनामा २०२२ मा दुई गुणाले बढेको शंकास्पद कारोबार २०२३ मा ५७ प्रतिशतले बढेको छ।
![](http://aarthikbazarnews.com/wp-content/uploads/2024/07/unnamed-33-1024x506.jpg)
सन् २०२३ मा ६ हजार २५५ वटा शंकास्पद कारोबार बैंक तथा वित्तीय संस्थाबाट भएको देखिन्छ। जसको कुल रकम ४० अर्ब रुपैयाँबराबर हुन्छ। राष्ट्र बैंकले गरेको अध्ययनमा बैंक तथा वित्तीय संस्थाहरूबाट भएका ६ हजार २ सय ५५ वटा शंकास्पद गतिविधि र कारोबारमध्ये ८४ प्रतिशत वाणिज्य बैंकहरूबाट भएको देखाएको छ।
![](http://aarthikbazarnews.com/wp-content/uploads/2024/07/unnamed-34-1024x657.jpg)
एक वर्षमा वाणिज्य बैंकहरूबाट ३८ अर्ब ७२ करोड रुपैयाँ बराबरको ५ हजार २८२ वटा शंकास्पद कारोबार भएको छ। यस्तै विकास बैंकबाट ४ अर्ब ७२ करोड रुपैयाँबराबरको ३३० वटा कारोबार भएका छन्। सेयर ब्रोकर कम्पनीको ४ अर्ब २९ करोड रुपैयाँबराबरको ६२ वटा कारोबार शंकास्पद देखिएका छन्। यस्तै फाइनान्स कम्पनीबाट २ अर्ब ६५ करोड रुपैयाँबराबरको ९९ वटा र रेमिट्यान्स कम्पनीबाट १ अर्ब ११ करोड रुपैयाँबराबरको १५६ वटा शंकास्पद कारोबार गरेको भेटिएको छ।