जोडिनुहोस
शनिबार, अशोज १९, २०८१
शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • सेबोनबाट चार मर्चेन्ट बैंकरलाई थप कार्य अनुमति, कसले के गर्न पाउँछन्?

सेबोनबाट चार मर्चेन्ट बैंकरलाई थप कार्य अनुमति, कसले के गर्न पाउँछन्?

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ४ वटा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)लाई थप कार्य गर्न अनुमति दिएको छ। सेबोनले थप कार्य गर्नका लागि आवेदन दिएका मर्चेन्ट बैंकरलाई अनुमति दिएको हो।

सेबोन सञ्चालक समितिको शुक्रबार बसेको बैठकले नेपाल लाइफ क्यापिटल, गरिमा क्यापिटल, हिमालयन र माछापुच्छ्रे क्यापिटललाई थप कार्यका लागि स्वीकृति दिएको छ।

सेबोन स्रोतका अनुसार नेपाल लाइफ क्यापिटल र गरिमा क्यापिटलले धितोपत्र प्रत्याभूतकर्ता (अन्डरराइटिङ) को काम गर्न अनुमति पाएका छन्।

यसअघि गरिमा र नेपाल लाइफ क्पापिटलले पोर्टफोलियो व्यवस्थापनको मात्रै कार्य गर्ने अनुमति पाएका थिए। त्यस्तै, अन्डरराइटिङ, पोर्टफोलियो म्यानेजर र कर्पोरेट एडभाइजरको काम गरिरहेको माछापुच्छ्रे क्यापिटलले फण्ड म्यानेजरको काम गर्न पाउने भएको छ।

हिमालयन क्यापिटललाई आशयपत्र दिने सेबोनले निर्णय गरेको छ। सेबोनका कार्यवाहक अध्यक्ष महेश बरालले प्रक्रिया पुगेका कम्पनीको निवेदन हेरेर तथा स्थलगत निरीक्षण गरेर थप व्यवसाय गर्न स्वीकृति दिएको बताए।

‘प्रक्रिया पुगेकाहरुलाई थप व्यवसायको स्वीकृति दिने निर्णय बोर्डले गरेको हो। बोर्डले सार्वजनिक निष्कासनका फाइलहरु पनि रोकेको छैन,’ उनले भने।

सेबोनले यसअघि हिमालयन रिइन्स्योरेन्सको लगानी रहेको मर्चेन्ट बैंकरलाई लाइसेन्स दिएको थियो। मर्चेन्ट बैंकरले धितोपत्र निष्कासनका लागि विवरण पत्र, बिक्री सम्बन्धी प्रस्ताव तथा अन्य विवरण तयार गर्ने लगायत धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्छन्।

संगठित संस्थाले निष्कासन गरेको धितोपत्रहरु बिक्री नभए आफूले खरिद गर्न प्रत्याभूति (अण्डरराइटिङ) दिने, संगठित संस्थाका तर्फबाट धितोपत्रधनीहरुको अभिलेख राख्ने तथा धितोपत्रहरुको नामसारी लगायत सेयर रजिष्ट्रेसन सम्बन्धी अन्य सेवा प्रदान गर्छन्।

त्यस्तै, ग्राहकका लागि लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा दिने काम गर्छन्। धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ ले धितोपत्र प्रत्याभूतकर्ता (अन्डरराइटिङ) ७ करोड, निष्कासन तथा बिक्री प्रबन्धक र लगानी व्यस्थापक ५/५ करोड, सेयर रजिष्टार र संस्थागत परामर्शदाताकाो न्युनतम चुक्ता पुँजी ३/३ करोड रुपैयाँ तोकिएको छ।

त्यस्तै, पाँच वटै मर्चेन्ट बैंकिङ व्यवसाय गर्नका लागि न्युनतम २० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ। हालसम्म सेबोनले ३० वटा मर्चेन्ट बैंकरलाई लाइसेन्स दिएको छ।

90
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका